भर्खरै :

जापान र अमेरिकाबीच के पाक्दैछ ?

वासिङ्टन, २४ जेठ । जुन १२ मा सिङ्गापुरमा हुने संरा अमेरिका र प्रजग कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार संरा अमेरिका गएका छन् ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका गएको समाचारमा जनाइएको छ ।
शिखर वार्ताको छ दिनपूर्व प्रजग कोरियाको छिमेकी राष्ट्र जापानका प्रधानमन्त्री आबेको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाली नेता किम जङ उनबीच जुन १२ मा सिङ्गापुरमा उच्चस्तरीय वार्ता हुन लागेको हो । त्यसअघि प्रजग कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीबीच द्विपक्षीय भेटवार्ताहरू भइरहेका छन् ।
जापानी प्रधानमन्त्री आबेको भ्रमणपछि ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा विशेषगरी आगामी शिखर बैठकबारे छलफल हुने जानकारी दिइयो । ट्रम्पले अबेसँग दोस्रो पटक प्रजग कोरियासँगको वार्ताबारे धारणा बुझ्न खोजेका हुन्  ।
प्रजग कोरिया र दक्षिण कोरियामात्र नभए विश्वले नै संरा अमेरिका र प्रजग कोरियाली नेताहरुबीच हुने वार्तालाई निकै चासोपूर्ण रुपमा हेरिरहेको छ । उक्त वार्ताले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले सबैको चासोको विषय बनेको हो ।
अमेरिकी राष्ट्रपति र प्रजग कोरियाली नेताबीच हुने यो वार्ता इतिहासकै पहिलो पटक वार्ता हो ।
प्रजग कोरियाली नेता किम जङ उनले शिखर वार्ता अघि चीनका राष्ट्रपति सि जिनपिङलाई दुई महिनायता दुई पटकसम्म भेटेका छन् ।
रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ एक हप्ताअघि जुन १२ को वार्ताबारे छलफल गर्न प्रजग कोरियाको भ्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *