नेपालले कतिसम्म थेग्न सक्छ ऋणको भार ?
- असार २७, २०८३
–पुरुषोत्तमलोचन श्रेष्ठ
विस्का : जात्रा भक्तपुरको विशिष्ट सांस्कृतिक पहिचान हो । यस महान् जात्राका मुख्यदेवता श्री भैरवनाथ हुन् । भक्तपुर नगरको हृदयस्थल तःमाह्रि टोलमा अवस्थित उनको तीनतले आयताकार मन्दिर विश्वप्रसिद्ध सम्पदामध्ये एक हो ।
यसै मन्दिरको दक्षिणद्वारको पश्चिम कुनामा लापरबाहीपूर्वक मिल्काएर थुपारिएका विभिन्न सामग्रीबिच एउटा ढुङ्गाको जलपात्र पनि उपेक्षित अवस्थामा रहेको छ । यही जलपात्रमा संवत् ८८ ईस्वी ६६४को उत्तर–लिच्छविकालीन अभिलेख उत्कीर्ण छ । उक्त अभिलेखले तत्कालीन एक श्रद्धालु दाताले ललितमहेश्वरलाई ताम्रकलश अर्पण गरेको ऐतिहासिक तथ्य अभिलेखित गरेको छ । यस अभिलेखले तत्कालीन भक्तपुर क्षेत्रको धार्मिक–सांस्कृतिक जीवन, दान–परम्परा तथा भैरवनाथको प्राचीनता र इतिहास बुझ्न अमूल्य प्रमाण प्रस्तुत गर्दछ ।
विडम्बना, हाम्रा पुर्खाले पवित्र जल सुरक्षित राख्न निर्माण गरेको यही जलपात्रलाई आज हामीले फोहोर थुपार्ने कन्टेनरमा परिणत गरेका छौँ । पवित्र सम्पदालाई अपमानित गर्दै आफूलाई सभ्य समाजको प्रतिनिधि ठान्नु हाम्रो सांस्कृतिक चेतनाको गम्भीर विडम्बना हो ।
यस्तै, भैरवनाथ मन्दिरको उत्तरपट्टिको भित्तामा नेपाल संवत् ८३८ ईस्वी १७१८ मा तत्कालीन भक्तपुर राज्यका यशस्वी नरेश भूपतीन्द्र मल्लद्वारा स्थापित एक महत्वपूर्ण शिलालेख रहेको छ । त्यस अभिलेखमा पहिले एकतले रहेको भैरवनाथ मन्दिरमा थप दुई तला निर्माण गराई वर्तमान स्वरूप प्रदान गरिएको ऐतिहासिक विवरण अङ्कित छ ।
दुःखको विषय, यही ऐतिहासिक शिलालेखको अगाडि हरेक वर्ष भैरवनाथको रथका विभिन्न अवयवहरू थुपारेर राख्ने परम्परा लगभग संस्थागत भइसकेको छ । फलतः शिलालेख क्रमशः ढाकिँदै, कुरूप बन्दै र क्षतिग्रस्त हुँदै गएको छ । अभिलेखका अक्षरहरू उप्किन थालेका छन् केही भाग त सदाका लागि लोप हुने अवस्थामा पुगिसकेका छन् । यदि यही अवस्था निरन्तर रह्यो भने निकट भविष्यमा यस अभिलेखले बोकेको अमूल्य ऐतिहासिक साक्ष्य नै नष्ट हुन सक्ने खतरा टड्कारो छ ।
भैरवनाथ र उनको मन्दिर शरीर हुन् भने तिनको इतिहास, निर्माण, परम्परा र सांस्कृतिक यात्रालाई प्रमाणित गर्ने यी अभिलेखहरू तिनका आत्मासमान ज्ञान–सम्पदा हुन् । शरीर बाँचे पनि आत्मा हरायो भने त्यसको वास्तविक अस्तित्व र परिचय समाप्त हुन्छ । यी ज्ञान–सम्पदा नष्ट भए भने भविष्यका पुस्ताले भैरवनाथको मन्दिर त देख्लान्, तर त्यसको वास्तविक इतिहास, महत्व र आत्मालाई चिन्ने आधार गुमाइसकेका हुनेछन् ।
मैले विगत दुई दशकभन्दा बढी समयदेखि यी नै असुरक्षित ज्ञान–सम्पदाको संरक्षणको आवश्यकता औँल्याउँदै निरन्तर कलम चलाइरहेको छु । बारम्बार सम्बन्धित निकाय तथा समाजको ध्यानाकर्षण गराउँदै यी अमूल्य ऐतिहासिक प्रमाणहरूको उद्धार र संरक्षणका लागि आग्रह गर्दै आएको छु । तर, समय निरन्तर बितिरहेको छ, जबकि यी सम्पदाको क्षय झन् तीव्र हुँदै गएको छ ।
अत : पुरातत्व विभाग, भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, भैरवनाथ मन्दिर व्यवस्थापन, स्थानीय समुदाय तथा सम्पदा–संरक्षणप्रति प्रतिबद्ध सम्पूर्ण सरोकारवालासमक्ष मेरो हार्दिक अनुरोध छ—यी अनुपम ज्ञान–सम्पदाको संरक्षण आजैबाट सुरु गरौँ । इतिहासको क्षति कहिल्यै पूर्ति हुँदैन । समय एकपटक चुक्यो भने त्यो फेरि फर्केर आउँदैन ।
भोलि आउँदैन । आजै जोगाऔँ—हाम्रो इतिहास, हाम्रो सम्पदा, हाम्रो पहिचान ।
(लेखक इतिहासकार एवं प्राध्यापक हुनुहुन्छ ।)
Leave a Reply