भर्खरै :

वर्गीय आन्दोलन आवश्यक

वर्गीय आन्दोलन आवश्यक

राष्ट्रिय स्वतन्त्र पार्टी पनि नेकाझैँ श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने पार्टी होइन । पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दलले श्रमजीवीवर्गको हितमा काम गर्दैन; काम गर्न अघि बढ्दैन । शोषित पीडित जनताको पक्षमा काम गर्ने सरकार नआउञ्जेल देश विकासको काँचुली फेर्ने छैन । यो सरकार कसको पक्षमा छ भन्ने कुरा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटले देखाइसकेको छ । नयाँ सरकार गठन भएपछि देशमा सुशासन होला, शान्ति सुरक्षा होला, काममा ढिलासुस्ती हुनेछैन; कार्यालयमा अनियमितता र भ्रष्टाचार हुनेछैन भन्ने जनताले आशा र विश्वास गरेका थिए ।
यसको ठीक उल्टो महँगी बढेको छ; शान्ति सुरक्षा छैन; विदेसिने क्रम चालू छ । सरकारी कार्यालयमा पहिलेझैँ ढिलासुस्ती छ; घुसबिना काम हुँदैन । खानेपानीको समस्या ज्यूँका त्यूँ छ; रोपाइँको बेलामा पनि रासायनिक मल आइपुगेको छैन । उखु कृषकहरूले भुक्तानी पाएका छैनन्; उद्योगहरू बन्द छन् । शिक्षकहरू पनि सन्तुष्ट छैनन् । प्राध्यापक, चिकित्सक र नर्स (स्वास्थ्यकर्मी) हरू आन्दोलित छन् । सुकुमवासीहरूको त उठिवासै भएको छ । बस्ती उठिवासको कारण सहन नसकी ६ जनाको ज्यान गइसकेको छ । पछिल्लो चरणमा मुगु निवासी गणेश नेपालीले प्रहरीको अनावश्यक दबाब र जरिवानाको कारण आत्मदाह गरेर ज्यान गुमाउनुप¥यो । यसै विषयमा सदन र सडकमा विरोध प्रदर्शन भयो† प्रधानमन्त्री बालेनको राजीनामा माग भयो । ‘सहिद’ को घोषणा माग गर्दै परिवारको जीवन सुनिश्चित गर्न र बच्चाको पढाइको व्यवस्था गर्नुपर्ने मागसहित काठमाडौँलगायत विभिन्न स्थानमा प्रमको पुतला दहनसहित प्रदर्शन भयो । घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग भयो ।
यो सरकारले भदौ २३ गते भएको शान्तिपूर्ण आन्दोलनमा गोली हान्ने अपराधीहरूलाई न कारबाही गरेको छ न त भदौ २४ गते सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन, सर्वोच्च अदालतलगायत देशको सम्पत्ति ध्वस्त पार्ने उपद्रवहरूलाई नै कारबाही गर्न सकेको छ । सम्पत्ति ध्वस्त पार्न अघि बढेका, आन्दोलनकारीलाई उक्साउने व्यक्तिहरू नै अहिलेको सरकारमा मन्त्री बनेका छन् । सरकारमा रहेका मन्त्रीहरू नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थामा आबद्ध छन् । विदेशी शक्तिराष्ट्रद्वारा सञ्चालित गैरसरकारी सङ्घ संस्थाले के नेपाल र नेपाली जनताको हितमा काम गर्ला ? सत्तारूढ दलका नेताहरूको अहङ्कार, दमनकै कारण संसद्मा रहेका र नरहेका दलहरू सरकारको विरोधमा लागेका छन् । जनतामा असन्तोष बढेको छ । कति दलका नेताहरूले साउनदेखि सरकारविरोधी आन्दोलन गर्ने चेतावनी दिन थालेका छन् ।
देशका कम्युनिस्ट पार्टीहरूले सरकारी दमन र अत्याचारको विरोधमा मात्र होइन† परिवर्तनको निम्ति कम्युनिस्ट पार्टीको आन्दोलन अघि बढाउनुपर्छ । साँच्चै समाजवादी क्रान्ति गर्ने लक्ष्यअनुरूप काम गर्नुपर्छ । कम्युनिस्ट पार्टीले अरू पुँजीवादी पार्टीले जस्तै सत्ताको वरिपरि रहेर पुँजीवादी सरकारको नेतृत्व गर्ने राजनीति छोड्नुपर्छ । कम्युनिस्ट पार्टीले वर्गीय शत्रु र मित्र चिनेर जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ । अबको आन्दोलन बहुमत प्राप्त सरकार ढाल्ने आन्दोलनभन्दा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ लगेर वर्गीय आन्दोलन छेड्नुपर्छ ।
एउटा पुँजीवादी सरकार ढालेर अर्को पुँजीवादी सरकार गठन गर्दा शोषितपीडित जनताको निम्ति केही फरक हुनेछैन । बरू, हामीले आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गर्दै जानुपर्छ । देश र जनताको पक्षमा निःस्वार्थ र इमानदारीपूर्वक सेवा गर्नुपर्छ भन्ने भावनाका साथ काम गर्नुपर्छ । यसको निम्ति देशका किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, साहित्यकार, कर्मचारी, सर्वसाधारण जनता, बुद्धिजीवी, व्यवसायीहरू अघि बढ्नुपर्छ; अघि बढेर जनतालाई तयार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *