भर्खरै :

सहकारी ऐनको संशोधनले चुनौती थप्यो, अवसरमा बदल्न जरुरी

सहकारी ऐनको संशोधनले चुनौती थप्यो, अवसरमा बदल्न जरुरी

भक्तपुर, २८ असार । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा एकदिने ‘सदस्य सक्षमता विकास तालिम’ सम्पन्न भयो ।
भक्तपुरको होटल यचुमा असार २७ गते आयोजित उक्त तालिममा सहकारी क्षेत्रको वर्तमान कानुनी व्यवस्था, आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनबारे विस्तृत प्रयोगात्मक प्रशिक्षण दिइएको थियो । तालिममा बोल्दै सहकारी नेतृत्वले सहकारी ऐन २०७४ मा गरिएको नयाँ संशोधनले संस्था सञ्चालनमा चुनौती थपेको भए पनि त्यसलाई अवसरको रूपमा लिनुपर्नेमा जोड दियो ।
सङ्घका अध्यक्ष हरिकृष्ण बल्लले हाल सहकारी क्षेत्रमा सरकारले नियमनलाई कडा गर्दै सहकारी ऐन २०७४ लाई संशोधन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार संशोधित ऐनले सहकारीका सदस्यहरूको बचत फिर्ता, ऋण असुली र सहकारी नियमनलाई विशेष जोड दिएको छ ।
“यस संशोधनले सहकारी सङ्घ संस्थाहरूलाई ऐन कानुन पालनाको थप चुनौती त थपेको छ तर हामीले यस चुनौतीलाई अवसरको रूपमा लिएर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले प्रारम्भिक संस्थाहरू रहे मात्रै सङ्घको अस्तित्व रहने भएकोले प्रारम्भिक संस्थाहरूको सबलीकरणका लागि सङ्घ सधैँ आवश्यक रहने प्रस्ट पार्नुभयो ।
यसै सन्दर्भमा संशोधित ऐनका बारेमा टिप्पणी गर्दै अध्यक्ष बल्लले भन्नुभयो, “सहकारी सङ्घलाई सहकारी बैङ्कमा रूपान्तरण गर्नु वा मर्ज गर्नु भनेको अन्ततः प्रारम्भिक संस्थाहरूलाई नै कमजोर बनाउनु हो ।”
सङ्घका उपाध्यक्ष एवं नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतिले तालिम शिक्षाले पदाधिकारीमा दायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नवनिर्वाचित संस्थाका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई लक्षित गर्दै सहकारीको कुशल नेतृत्वका लागि आवश्यक ज्ञान र सीप विकास गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको प्रस्ट पार्नुभयो ।
तालिममा सङ्घका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीको महत्व र सहकारीमा असल बैठक सञ्चालनका साथै माइन्युट (निर्णय) लेखनका विषयमा महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो । यसैगरी, सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारीको अवधारणा, सहकारी सिद्धान्तहरूको व्यावहारिक प्रयोग तथा सञ्चालक समितिको काम, कर्तव्य र अधिकारका बारेमा अभ्यासात्मक र व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभयो ।
तालिममा सहभागी सम्पदा बचत तथा ऋण सहकारी, पूजा बचत तथा ऋण सहकारी र न्हुज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीहरूले तालिम निकै प्रभावकारी र समय सान्दर्भिक रहेको प्रतिक्रिया दिएका थिए । उनीहरूले तालिममा सिकेका ज्ञान र सीपलाई आ–आफ्नो संस्थामा पूर्ण रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता उपयोगी तालिमको निरन्तरताका लागि कामना गरे ।
सङ्घको नगर सहकारी समन्वय उपसमितिका सदस्य राजन जतिले सञ्चालन गर्नुभएको उक्त सक्षमता विकास तालिमको समापन समारोहमा तीन वटा संस्थाबाट कुल २४ जना पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *