हर्मुज जलडमरु नियन्त्रणको लागि संरा अमेरिका र इरानबिच लडाइँ तीव्र
- असार २९, २०८३
हेटौँडा, २९ असार । मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा Peer Learning Seminar – २०८३ Lead क्याम्पसहरूको सञ्चालक समिति र कार्य समिति गठन गरी आइतबार सम्पन्न भयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष देवराज अधिकारीले आयोगको निश्चित मापदण्ड पूरा गरी Lead क्याम्पस घोषित सात क्याम्पसले सहभागी क्याम्पसलाई समेत समेटेर आयोग र सरकारको मुख नताकी आत्मनिर्भरताका साथ अघि बढ्न आवश्यक कार्य योजना बनाउन सुझाव दिनुभयो ।
अब क्याम्पसहरूलाई आयोगले नियमित अनुदानबाहेक थप अनुदान नआउने जानकारी दिँदै उहाँले कलेजलाई आयआर्जन गर्ने लर्निङ सेन्टरको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो भार बोकेर नयाँ उचाइमा पुग्न सकिँदैन, अब नयाँ सोच र नयाँ सिराबाटै अघि बढ्नुपर्ने छ । यसमा नयाँ बनेका समितिहरूले धेरै मेहनत गर्नुपर्ने छ, सफलता मिलोस् भन्ने शुभेच्छा पनि छ ।”
त्रिवि व्यवस्थापन सङ्कायका पूर्वडिन डिल्लीराज शर्माले सामुदायिक क्याम्पसहरूले सामना गर्दै आएका चुनौतीहरूको बुँदागत विश्लेषण गरी त्यसको समाधानका उपायहरू पनि सुझाउनुभयो । उहाँले क्याम्पसहरूले विद्यार्थीकेन्द्रित गतिविधि गरी कलेजलाई समुदायसँगै जोडेर अघि बढ्नुपर्ने बताउनुभयो ।
समान हैसियतका कलेजहरूबिच आपसी सहकार्य गरी एकको समस्यालाई अर्काले पनि समाधान गर्न अर्काेले पनि साथ दिएर अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
यसअघि कार्यक्रममा आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका प्रमुख महाप्रसाद भदखलेले लिड क्याम्पसहरूको भावी रणनीतिक मार्गचित्रबारे आफ्ना धारणा राख्नुभएको थियो ।
सेमिनारमा सहभागी १० ओटै कलेज व्यवस्थापन समितिका अध्यक्षहरूलाई आ–आफ्नो विचार राख्न लगाइएको थियो । सहभागी सबै अध्यक्षले लिड क्याम्पसहरूको एकताको खाँचो औँल्याई साझा समस्या समाधान गर्न विचार–आस्था बाधक नहुनेमा जोड दिएका थिए ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका प्रतिनिधि ज्ञानसागर प्रजापतिले वागीश्वरी कलेज क्युएए प्राप्त कान्छो कलेज भएको चर्चा गर्दै क्युएएको दोस्रो सर्कलको लागि हालै मात्र छनोट भएकाले दोस्रो र तेस्रो सर्कल पूरा गरेका अग्रज कलेजहरूबाट धेरै सिक्न बाँकी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यद्यपि, कलेजको छोटो अवधिमा प्राप्त गरेका सफलताहरूले हामीलाई उत्साहित बनाएका छन् ।”
नन्–क्रेडिट कोर्स सञ्चालन गरी चार वर्षमा चार सीप विद्यार्थीलाई प्रदान गर्ने र विद्यार्थीले समुदायमा आधारित विभिन्न क्रियाकलापमा पाएको सफलताको चर्चा गर्दै उहाँले सेमिनारबाट थप ऊर्जा मिलेको बताउनुभयो ।
सेमिनारबाट मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अर्जुनप्रसाद पौडेलको संयोजकत्वमा सात ओटै लिड क्याम्पस व्यवस्थापन समितिका अध्यक्षहरू रहने गरी एक सञ्चालक समिति र मकवानपुर बहुमुखी क्याम्पसकै क्याम्पस प्रमुख यम सिलवालको संयोजकत्वमा सात ओटै लिड क्याम्पसका क्याम्पस प्रमुखहरू रहेको एक कार्य समिति गठन गरिएको छ ।
Leave a Reply