भर्खरै :

भोटेकोसी बाढी प्रभावित सहकारीको पुनस्र्थापनाका लागि जिल्लाका बचत सङ्घ जुट्दैे

भोटेकोसी बाढी प्रभावित सहकारीको पुनस्र्थापनाका लागि जिल्लाका बचत सङ्घ जुट्दैे

भक्तपुर, २२ भदौ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका सहकारी संस्थाहरूको पुनस्र्थापना तथा राहत व्यवस्थापनका लागि जिल्लाका बचत तथा ऋण सहकारी सङ्घहरू एकजुट भएका छन् ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. को मुख्य कार्यालय सूर्यविनायकमा भदौ २२ गते नुवाकोट, काठमाडौँ, काभ्रे र मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष एवं व्यवस्थापकहरूको विशेष संयुक्त भेला सम्पन्न भएको छ ।
भेलाले बाढी प्रभावित सहकारी संस्थाहरू, त्यहाँका सञ्चालक, कर्मचारी र सदस्यहरूलाई पूर्ववत् अवस्थामा फर्काउन अल्पकालीन तथा दीर्घकालीन पुनस्र्थापनाका योजना अगाडि बढाउने निर्णय गरेको छ ।
भेलामा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का अध्यक्ष नारायण श्रेष्ठले भोटेकोसीको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षति, हाल भइरहेको उद्धार कार्य तथा नुवाकोट जिल्लाका १५ वटा सहकारी संस्थाको वर्तमान नाजुक अवस्थाबारे जानकारी गराउनुभयो ।
उहाँले कार्यालय सामग्री तथा स्रेस्ताहरू नष्ट भएका ती संस्थाहरूको सञ्चालन पुनः सुरु गर्न तत्कालै आवश्यक सहयोग जुटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भेलाले बाढीबाट पूर्ण रूपमा क्षति भएका सहकारी संस्थाहरूको पुनस्र्थापनाका लागि देहायका चार मुख्य कार्यलाई प्राथमिकताका साथ अघि बढाउने छलफल गरेको छ :
१. क्षति सङ्कलन : बाढी प्रभावित सहकारीकर्मी, कर्मचारी र साधारण सदस्यहरूको वास्तविक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने ।
२. अल्पकालीन र दीर्घकालीन योजना : संस्थाहरूलाई तत्काल कार्यालय सुरु गराउन अल्पकालीन र दिगो सञ्चालनका लागि दीर्घकालीन पुनस्र्थापनाको खाका तय गर्ने ।
३. राहत तथ्याङ्क सङ्कलन : अल्पकालीन पुनस्र्थापनाका लागि आवश्यक राहत तथा भौतिक उपकरण सहयोगको यकिन तथ्याङ्क सङ्कलन गर्ने ।
४. आन्तरिक कार्यविधि निर्माण : प्राप्त सहयोगलाई पूर्ण रूपमा कानुनसम्मत र पारदर्शी ढङ्गले वितरण गर्नका लागि पुनस्र्थापनासम्बन्धी छुट्टै आन्तरिक कार्यविधि निर्माण गरी लागू गर्ने ।
उल्लेखित कार्यहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय सहकारी महासङ्घ, केन्द्रीय सङ्घ (नेफ्स्कुन), प्रदेश सङ्घ, जिल्ला सङ्घ र प्रारम्भिक संस्थाहरूबिच बृहत् समन्वय तथा छलफल गरिने निर्णय भएको छ ।
भेलाले सातौँ सहकारी सिद्धान्त ‘समुदायप्रति चासो’ र अन्तर–सहकारी सहकार्यको मर्मलाई आत्मसात् गर्दै प्राकृतिक विपद् परेका संस्थाहरूको पुनस्र्थापनाका लागि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग जुटाउन समग्र सहकारी अभियानमा हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *