भर्खरै :

काठमाण्डौमा मूल्यवृद्धि विरुद्ध जुलुस

काठमाडौं, २५ जेठ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले शुक्रबार काठमाडौंमा विरोध जुलुुस तथा कोणसभा ग¥यो । सुनधाराबाट शुरु भएको विरोध जुलुस भोटाहिट्टी चोक पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी युवा–विद्यार्थीहरुले बढ्दो महङ्गी नियन्त्रण गर–भ्रष्टाचारीलाई कार्वाही नियन्त्रण गर, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि फिर्ता गर, आयल निगमका भ्रष्ट कर्मचारीलाई कार्यबाही गर, भारतबाहेक अरु देशबाट तेल आयातको बन्दोबस्त गर, नक्कली कम्युनिष्ट सरकार होशियार आदि नारा लगाएका थिए ।
भोटाहिट्टीमा आयोजित कोणसभामा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले संशोधनवादी ओली सरकारको समृद्धिको सपना जनता छक्याउने चालमात्र भएको बताउनुभयो ।
भारतीय आयल निगमबाहेक अन्य देशबाट पनि तेल आयात गर्ने बन्दोबस्त नगरेकोमा सरकारप्रति आक्रोश पोख्दै उहाँले ओलीको ‘राष्ट्रवाद’ व्यवहारमा झुठो प्रमाणित भएको बताउनुभयो ।

‘भारतीय विस्तारवाद र एकाधिकार पूँजीको विरोधमा सङ्घर्ष गर्नु अहिलेको आवश्यकता हो’, महर्जनले भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य सृजना सैंजूले पञ्चायतकालमा आयल निगमभित्र हुने भ्रष्टाचारको पैसा राजदरबारमा पुगेजस्तै गणतन्त्रमा शासक दलका नेताहरुको दरबारमा निगमको घोटालाको पैसा पुगेको हुनसक्ने बताउनुभयो ।
उहाँले नेपाली जनतासमक्ष आयल निगमको सत्यतथ्य हिसाब सार्वजनिक गर्न सरकारसमक्ष माग गर्नुभयो ।
ओली सरकार कम्युनिष्ट सरकार नभएको भन्दै संैजूले जनतालाई दुःखको सागरमा डुबाउने व्यवस्था समाजवादी व्यवस्था हुन नसक्ने बताउनुभयो ।
बिना पूर्वाधार प्रदेश नं ३ को सरकारले पेट्रोलबाट चल्ने सवारी साधन निषेध गर्ने प्रस्ताव सस्तो लोकप्रियताको मोह भएको चर्चा गर्दै उहाँले जनताको वास्तविक समस्या बुझ्न ओली सरकार असफल रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले आयल निगमको भ्रष्टाचार, अनियमितता र कालोबजारीविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयल निगममा भएको भ्रष्टाचार अन्त्य गर्न सके पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्न नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल–भारतबीचको खुला सीमा नियमित नगरेसम्म भारतीय हस्तक्षेप, थिचोमिचो, अपराधिक घटनाहरु रोकिने छैन । भारतको विकल्पको रुपमा चीन, बङ्गलादेश,पाकिस्तानलगायतका देशहरुबाट पेट्रोलियम पदार्थ आयात गर्ने व्यवस्था गर्नुपर्छ ।’
कार्यक्रममा नेमकिपा काठमाडौंका राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *