भर्खरै :

‘रणहार’को रङ्ग

-नीरज
सामान्यतः इतिहासको अध्ययन उति सुरुचिकर लाग्दैन । अझ तिथि मिति र नानाथरीका नाम थरको ओइरोले आफ्नै ठाउँको इतिहास लेखिएका पुस्तकहरु पनि पढ्दा उद्देकलाग्ने गर्छ । धेरैका लागि त्यही भएर पनि इतिहास गहु«ँगो विषय लाग्छ । त्यसैकारण पनि त्रिभुवन विश्वविद्यालयमा इतिहास विभागका कक्षाहरु खाली खाली छन् ।
तर इतिहासलाई आख्यानको पानीले सिंचेको अवस्थामा भने त्यो इतिहास सरस र पठनीय बन्ने गर्दछ । इतिहासको रुखोपनालाई आख्यानको लालित्यले सुरुचिपूर्ण बनाइदिने गर्दछ । बच्चाहरुले ओखती खान नमान्दा चिनीमा मिसाएर औषधि खुवाएजस्तै पढ्न तितो इतिहासलाई आख्यानको चिनीमा घोलेर पिलाउँदा पाठक खुसी खुसी पिउन तयार हुन्छन् । इतिहासको जगमा उभिएर राम्रा आख्यान लेख्ने लेखकहरु त्यही औषधिलाई मिठो बनाउन जान्ने वैद्यहरु हुन् ।
हालै प्रकाशित योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ त्यस्तै आख्यान हो । भक्तपुर राज्यको अन्तिम मल्ल राजा रणजीत मल्ललाई केन्द्रमा राखी लेखिएको उपन्यासमा इतिहास र संस्कृतिका दुरुह पोथ्राहरुलाई मिठो पाराले खोलिएका छन् । रणजीत मल्लका पिता भूपतिन्द्र मल्लको पालामा भक्तपुरले लिएको सांस्कृतिक उचाई, तात्कालीन राजनीति र संस्कृतिदेखि गोर्खाली राजा पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यकाका दुई राज्यहरु काठमाण्डौ र पाटनपश्चात भक्तपुरमा हमला गरेको इतिहासको अवधिभित्र रहेर योगेश राजले सानो उपन्यास तयार गरेका छन् ।
भक्तपुरको मल्लकालीन राजदरबार, त्यहाँभित्रको कार्यविभाजन र कार्यशैलीबारे आफ्नो अध्ययनलाई उपन्यासमा लेखकले भरपूर उपयोग गरेका छन् । यसले भक्तपुरको आजको समाजशास्त्र अध्ययन गर्न समेत सहयोग गर्नेछ । भक्तपुर थरमा धनी थलो हो र हरेक थरको आफ्नै ऐतिहासिक जरा पनि छ । ‘रणहार’ ले विशेषतः भक्तपुर दरबारभित्र काम गर्ने वा बाहिरबाट सहयोग गर्ने विभिन्न थर र तिनका कामबारे जानकारी दिन्छ ।
विश्वप्रसिद्ध पाँचतले मन्दिरको स्थापनाबारे तुलनात्मक रुपमा विस्तृत चित्रण सुरुचिपूर्ण छ । साथै भक्तपुर दरबारको भारतको बनारससम्मको सांस्कृतिक र आर्थिक सम्बन्धबारे चर्चा भए पनि भोट(तिब्बत) र चीनसँगको आर्थिक र सांस्कृतिक सम्बन्धबारे कममात्र उल्लेख भएको देखियो ।
सैनिक शक्तिको आधारमा गोर्खा राजाभन्दा बलियो भएर पनि कुटिल चालबाजीका कारण राज्य गुमाउनुपरेका काठमाण्डौंका जयप्रकाश मल्ल र पाटनका तेजनरसिंह मल्लको भक्तपुरको शरणमा बस्दाको अन्तिम दिनको चित्रण शक्तिशाली छ । त्यस्तै उपत्यकाका तीन शहरबाहेक अरु कुनै पनि ठाउँमा राज्य लिएर शासन गर्न गोर्खालीहरुको प्रस्तावलाई भक्तपुरका राजाले गरेको अस्वीकारले रणजीत मल्लभित्रको स्वत्वभाव प्रष्ट बनाएको छ ।
इतिहासका धेरै घटनालाई सानो उपन्यासमा चित्रण गर्न त्यत्ति सजिलो कुरा होइन । ऐतिहासिक उपन्यासका केही सीमितता हुने सत्य योगेश राजस्वंयले आफ्नो कृतिमा स्वीकारेका छन् । कतिपय घटनाहरुको त उत्थान गरेर पनि तिनलाई अपूर्णतमै छोडेर अन्यत्र विषय लगिएको छ । बालक रणजीतको अपहरण घटना यस्तो उदाहरण हो । उनलाई कसले अपहरण गरेको थियो र किन र कसरी उनलाई मुक्त गरियो भन्नेबारेमा किताब मौन छ । उपन्यासकारले त कतिपय प्रसङ्गको चर्चा उपन्यासलाई मसलेदार बनाउन पनि गरेको भान हुन्छ । मनमैंजूसँग रणजीत मल्लको प्रेमालापको चित्रण त्यसको उदाहरण हुनसक्छ । मृत्युभय वा मृत्युचित्रणलाई उपन्यासकारले आफ्नो सानो उपन्यासमा आवश्यकताभन्दा बढी शब्द खर्च गरेका हुन् भन्ने भान पाठकलाई लाग्ने सम्भावना स्वभाविक हो ।
गोर्खाली फौजले भक्तपुर दरबार हमला गर्दा धेरै दिन मिहिनेत गर्नुपरेको र भक्तपुरका चोक चोकमा जनताले विद्रोह गरेका प्रसङ्गमा उपन्यासकारले निकै कममत्र शब्द लेखेका छन् । काठमाण्डौ र पाटनका राजाको आत्मसमर्पणपश्चात भक्तपुरले गोर्खाली फौजको प्रतिकार गर्न कस्तो तयार गरेको थियो, तीन राजा आफैले के कस्ता योजनाहरु बनाएका थिए, रहस्य नै रहस्याको भक्तपुर दरबार कब्जा गर्न भीरपाखामात्र देखेका गोर्खाली फौजलाई कति गाह«ो परेको थियो, गोर्खालीहरुले काठमाण्डौका नेवार आदिबासीहरुलाई ‘कज्याएर खान’ कुन कुन ठाउँमा आफ्ना सैनिक राखेको थियो, यी यस्ता प्रमाणिक इतिहासका प्रसङ्गको पनि उपन्यासमा चर्चा भएको भए उपन्यास वास्तवमै अझ जानकारीमूलक र पठनीय हुने थियो ।
उपन्यासकार स्वंय इतिहासको अध्येता भएको कुरा उपन्यासभित्र समावेश जानकारीबाट सहजै बुझ्न सक्छौं । तर उपन्यासका कतिपय स्थानमा उपन्यासकारको भन्दा इतिहासकारको जस्तो भाषाशैलीले सुललिल बन्न सकेको छैन कि जस्तो भान हुन्छ ।
एक सय ५० पृष्ठको कृतिमा सबै कुरा समावेश गर्न गाह«ो हो । त्यस हिसाबले लेखकले केही समय अझै प्रतिक्षा गरेर यसलाई अझ बाक्लो आकारमा थप कुराहरु समावेश गर्न सके सुनमा सुगन्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *