भर्खरै :

अनेक कुरा बताउने एउटा किताब

-मोहन मैनाली
उति चर्चा नभएको माधव घिमिरेको किताब चारु चर्चा । साझा प्रकाशनले २०५८ सालमै छापिसकेको । यो किताब लेखौँ भनेर लेखिएको होइन । अरु नै कामका लागि लेखिएका, भनिएका सामग्री बटुल्दा किताब बनेको हो । त्यसैले यसभित्र जे पनि विषय छ— भाषा, लेखन विधि, संगीत, कला, दर्शन । विधा जे पनि छ— भूमिका, अन्तर्वार्ता, निबन्ध, भाषण । लम्बाइ जस्तो पनि छ— कुनै स–साना पुस्तिका जति नै लामा र कुनै चाहिँ २१ शब्दका । एउटै कुरामा समानता छ । यी सबै उपयोगी छन् ।
राम्रो लेख्ने कला सिक्ने एउटा उत्तम तरिका हो— राम्रो लेख्ने मानिसले कसरी लेख्दा रहेछन् भनेर थाहा पाउनु । चारु चर्चामा घिमिरेले आपूm कसरी लेख्छु भन्ने कुरा लेखेका छन् । यस अर्थमा यो कसरी लेख्ने भन्ने कुरा सिकाउने म्यानुअल हो । म्यानुअलको शैलीमा लेखिएको छैन । त्यसैले यो सर्वाेत्तम म्यानुअल हो ।
यो किताबले बतायो— उनी कुनै कुराले मनमा उकुसमुकुस पारेपछि मात्र लेख्दा रहेछन् । मोतीराम भट्टबारे लेख्ने कुरो नभेट्दा उनले भनेका छन्, “मोतीरामका विषयमा केही लेख्नु थियो । तर के लेखुँ ? म जे लेख्न खोज्थेँ, त्यो अरुले नै लेखिसकेका हुन्थे । कुनै नौलो कुनु फेला परेन, जसलाई उज्यालोमा ल्याऊँ । कुनै नौलो उज्यालो मनमा पैmलिएन, जसबाट मोतीको स्थापित मूर्तिमा नै म नयाँ बोध गरुँ ।”
राम्रो लेख्ने उनी जस्ता कवि÷लेखक “अरुले लेखिसकेका कुरा किन लेख्नुप¥यो र !” भन्ने ठान्दा रहेछन् । लेखिइसकेका कुरा दोहो¥याएको लेखको सिरानमा आफ्नो नाम टाँस्न चाहँदा रहेनछन् ।
लेख्ने कुरा मात्र होइन, लेख्ने सीपलाई पनि त्यत्तिकै महत्व दिँदा रहेछन् उनी । उनी शब्द कुँद्न रमाउँदा रहेछन् । दोहो¥याई तेहे¥याईकन लेख्न आनन्द मान्दा रहेछन् । उनले भनेका छन्, “मेरा खेस्रा गर्ने अक्षर र साफी गर्ने अक्षर भिन्नाभिन्नै हुन्छन् । … म सय लेख्छु भने दश बाँकी राख्छु, कविता काटछाँट गर्दा म आपैmँमाथि निष्ठुर हुन्छु— मूर्तिकारले ढुंगामा छिनो हान्दाजस्तै, पहिले प्रशस्त निष्ठुर र पछि केही मात्र निष्ठुर ।”

उनले एउटा कविता लेख्न तीन दिन लगाउँछु भनेका छन् ।
यति मिहिनेतपछि तयार भएको कविता पढ्दा आफ्नै चित्त बुझेन भने त्यसलाई च्यात्न उनलाई गाह्रो नलाग्दो रहेछ । उनले भनेका छन्, “कविता बनिसकेपछि सुन्दर अक्षरमा लेख्छु र बारम्बार गाउँछु— प्रथम भावस्फुरणका बेला मलाई जस्तो लागेको थियो, अब यो कविताले मलाई त्यस्तै लगाउँछ कि लगाउँदैन ? जाँच्छु । केही दिनपछि फेरि पढ्दा मेरो चित्त बुझेन भने त्यो कविता आपैmँ च्यातिदिन्छु ।”
धेरै सिर्जनशील मिहिनेत र समय खर्च गरेर तयार गरेको कविता किन च्यात्नु परेको होला ? उनले उत्तर दिएका त छैनन् तर उत्तर अनुमान गर्न सकिन्छ । उनलाई लाग्दो होला, आफ्नै चित्त बुझाउन नसक्ने कविता आपैmँले च्यातेन भने त्यसलाई पाठकले च्यात्छ । आफ्नो सिर्जना अर्काले च्यातेको दुर्दिन देख्न उनी चाहँदैनन् होला ।
यी कुरा पढ्दा उनीभन्दा अलि पहिलेका बेलायती उपन्यासकार जोयस क्यारीको याद आउँछ जसले भनेका थिए, “एक लाख शब्दको उपन्यास लेख्न थाल्दा म तीन लाख शब्द लेख्छु । यसो गर्नु शब्दको एकदमै ठूलो दुरुपयोग हो । तर त्यसो नगरीकन म मैले चाहे जसरी अभिव्यक्त गर्न सक्दिनँ ।”
अङ्ग्रेजी साहित्यमा त्यति दखल नभएका माधव घिमिरेले बेलायती लेखक र प्रकाशकका कुरा पढेका नहुँदा हुन् । तैपनि उनीहरुका विचार मिलेका छन् । उत्कृष्ट हुन चाहने मानिस बेलायती होस् कि नेपाली, एउटै बाटो हिँड्दा रहेछन् ।
घिमिरेले नेपाली संगीतका धेरै उस्तादसँग उठबस गरेका थिए तर ज्याज सङ्गीतकारसँग उनको सङ्गत भए जस्तो लाग्दैन । तैपनि उनको विचार ज्याज संगीतज्ञ मिल्स डेभिससँग मिल्न पुगेछ, जसले सङ्गीत सिक्न चाहनेलाई भनेका थिए, “तिम्रो बाजाबाट तिमीले निकाल्ने हरेक आवाजमा ध्यान देऊ किनभने हरेक आवाज आकाशमा जान्छ र त्यहाँ सदाका लागि बस्छ । कुनै दिन, कुनै कुनाको कुनै मानिसले त्यो आवाज सुन्न सक्छ ।”
मिल्सलाई लागेको हुँदो हो— त्यसरी कुनै एक जुगमा, कुनै ठाउँको मानिसले आपूmले निकालेको त्यो सङ्गीत सुनेर छिः नभनोस् ।
धेरै साहित्यकार समाजसँग सन्तुष्ट छैनन् । आपूmले समाजलाई जे दिएको छ, त्यसको बदलामा समाजले केही दिएन भनेर गनगन गर्छन् । लेख्ने बेलामा आपैmसँग असन्तोषी हुने कवि घिमिरे समाजले कविलाई दिएको मानसँग भने पूर्ण सन्तुष्ट छन् भन्ने कुरा यस किताबले देखाएको छ । आजको जति सम्मान नपाएका बेला २०४३ सालमा पनि उनले भनेका रहेछन्, “नेपालमा कवि बन्नु सम्मानको विषय मानिन्छ । यहाँ जीवित अवस्थामा नै चिन्न नसकेर कविको उपेक्षा आजसम्म भएको छैन ।”
नेपालमा आपूm बाहेक अरुको क्षेत्र र विधालाई होच्याउने चलन छ । मानिसहरु ठान्छन्— अरुको क्षेत्र र विधाको प्रशंसा गर्दा आफ्नो क्षेत्र र विधा पाताल भासिन्छ र त्यो त्यहाँबाट कहिल्यै धर्तीमा माथि आउन सक्दैन । तर माधव घिमिरेलाई त्यस्तो लाग्दो रहेनछ । उनी मूलतः कवि हुन् तर अरु विधालाई उनी दिलैदेखि प्रशंसा गर्न सक्दा रहेछन् । उनले लेखेका छन्, “म मासिक पत्रिकामा सबभन्दा पहिले यात्राप्रसङ्ग पढ्छु, अनि मात्र कविता पढ्छु ।”
चारु चर्चामा विज्ञान छ, अनुभवले खारिएको साँचो विज्ञान । नेपाल र भारतमा ऋतु छ वटा हुन्छन् भनिन्छ । यो कुरा सबैतिर एक समान लागू हुँदैन । घिमिरेले लमजुङको जगराको सम्झनामा लेखेका छन्, “मैले यहाँ छ महिना बस्दा केवल तीन ऋतु वसन्त, वर्षा र शरदको मात्र अनुभव गरेँ । बीचमा ग्रीष्म ऋतुको प्रत्यक्ष अनुभव भएन । खालि हिमालको हिउँको खार बहेर मस्र्याङ्दी नदी धमिलो भएपछि जेठ लागेको अनुमान हुन्थ्यो ।”
वातावरण र जैविक विविधताको संरक्षणको महत्वलाई घिमिरेले सटीक ढङ्गले व्यक्त गरेका छन् यस किताबमा, “धर्तीबाट एकै वनस्पति लुप्त हुनु सहस्र वरदान लुप्त हुनु हो र यौटै नौलो वनस्पतिको प्रादुर्भाव सहस्र वरदानको प्राप्ति हो ।”
पुस्तकमा जीवनदर्शन पनि छ । “दुःख पाउनु पनि कति मजा” शीर्षकमा उनले लेखेका छन्, “दुःखमा हामफाल्नु पनि मजा हुन्छ¬— त्यहाँबाट नयाँ जीवनको प्रारम्भ हुन्छ । जुन सुखलाई च्यापिरहँदा जीवन निरुद्देश्य हुन्छ, त्यस्तो सुख मलाई चाहिन्न । सच्चा सुख त्यहाँबाट थालिन्छ— जहाँबाट हामी दुःख उठाउन थाल्छौँ ।”
घिमिरेले पाँच वर्ष स्कुलमा पढाएका रहेछन् । यस व्रmममा उनले शिक्षणपद्धति कस्तो हुनुपर्छ भन्ने कुरा बुझेछन् । उनले भनेका छन्, “शिक्षणपद्धति… ज्ञात विषयबाट अनायासै अज्ञात विषयतिर लैजाने खालको हुनुपर्छ …।”
अन्त्यमा, शिक्षकका बारेमा उनले भनेका केही कुरा ः
– गुरु त बूढी ज्यामाजस्तो बन्नुपर्छ— जो बालकहरुको दिलभित्र कौतूहल जगाएर कथा हाल्छिन् ।
– गुरु त आमाजस्तो बन्नुपर्छ— जो प्रत्येक सन्तानलाई समान स्नेह गर्छिन् र कमजोरलाई झन् बढी ख्याल गर्छिन्, जससँग बालकले दिल खोल्छ र जो बालकसँग हारिदिएर पनि सधैँ महिमामयी बन्छिन् ।
– गुरु त सहभागी साथीजस्तो बन्नुपर्छ— जो आपूmले देखिसकेको रमणीय स्थलको रमाइलोतिर अगुवा बनेर नयाँ यात्रीलाई लैजान्छ ।
झण्डै ३५० पृष्ठको पुस्तकमा भएका ज्ञानगुनका कुराको झलक १,००० शब्दको यस लेखमा समेट्न के सकिन्थ्यो र ? यो लेख विज्ञ पाठकलाई किताबतिर डो¥याउने प्रयास मात्र हो ।
(बुक–हिलबाट प्रकाशित मैनालीको पुस्तक ‘देखेको देश’ बाट । यो पुस्तक आज सार्वजनिक हुँदैछ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *