ऐतिहासिक भष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन
- श्रावण ३, २०८३
भक्तपुर, ३ साउन । नेपाल मजदुर किसान पार्टी गोल्मढी एकाइ समितिको आयोजनामा ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन (असार १९ र साउन २ गते) को स्मरणमा शनिबार भेला भयो ।
उक्त भेलामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेमकिपाका अग्रज किसान कार्यकर्ताले २०२५ साउन २ र २०२६ असार १९ गते तत्कालीन नवदुर्गा बहुमुखी सहकारी संस्थाका सञ्चालकहरूले गरेको आर्थिक हिनामिनाविरूद्ध गरेको भ्रष्टाचारविरोधी सङ्घर्ष आजको समयमा पनि उत्तिकै महत्व रहेको चर्चा गर्नुभयो ।
नियमविपरीत पदको दुरूपयोग गरी गरेको निर्णय र काम भ्रष्टाचार नै हुने प्रस्ट पार्दै उहाँले भ्रष्टाचारीहरूको सम्पत्ति जफत गरी राष्ट्रीयकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
केन्द्रीय सदस्य ज्याख्वले भन्नुभयो, “धनीमानी व्यापारीहरूलाई कर छुट, सरकारी कर्मचारीको मात्र २१ प्रतिशत तलब वृद्धि तर निजी शिक्षा स्वास्थ्यमा ३ प्रतिशत, बिजुली ५० युनिटभन्दा बढीमा ५ प्रतिशत, राइड सेयरिङमा ५ प्रतिशत र अन्यमा करको बोझ थोपर्ने सरकारी नीति गरिब जनताको पक्षमा छैन ।”
नेमकिपा भनसका प्रतिनिधि नारायणप्रसाद त्वानावासुले तत्कालीन नवदुर्गा बहुमुखी सहकारी संस्थाका सञ्चालकहरूले जनताले बचत गरेको पैसाबाट किसानहरूलाई समयमै मल नल्याई व्यक्तिगत रूपमा हेटौँडा, चितवनबाट काठ, तोरी, मकै, सुर्ती आदिको व्यापार गरी सञ्चालकहरूले नाफा कमाउने बदमासी गरेकाले त्यस्ता भ्रष्टाचारीलाई भक्तपुरका जनताले कारबाही गरेको उल्लेख गर्नुभयो ।
आयोजक समितिका संयोजक लक्ष्मीभक्त कवांको सभापतित्वमा भएको उक्त कार्यक्रममा लक्ष्मीकेशरी तुईतुई, आरपी ग्वाछालगायतले बोल्नुभएको थियो ।
Leave a Reply