“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
– इ. कृष्णभक्त दुवाल
छिमेकी देश चीनका विश्वविद्यालयहरूमा आयोजना भइराख्ने सेमिनारमा भाग लिई नवीनतम प्रविधिहरू खोज्न १० औं पटक चीन गएका थियौं हामी तीन जना साथीहरू–सुबोध त्रिपाठी, ध्रुव शर्मा र म । गएको मे १९ तारेख (जेठ ५ गते शनिबार) बिहान ९ः४५ बजे एयर चाइनाको उडानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान प्रान्तको चेन्दुको लागि उडेका थियौं । १० हजार ६ सय ६८ मिटर (३५ हजार फिट) को उचाइमा उडिरहेको हवाईजहाजको झ्यालबाट देखिएका सगरमाथालगायत अन्य हिमालका टाकुराहरूको दृश्य अझै पनि मेरो आँखामा छाइरहेको छ । जहाज तिब्बततिरको आकाशमा उडिरहँदा तल पातलो मानव बस्ती भएका सुख्खा पहेंला उजाड पहाडहरू देख्दा नेपालको मुस्ताङ जिल्लाको झलझल्ती याद दिलायो । तीन घण्टाको हवाईयात्रापछि हामी स्थानीय समयअनुसार दिउँसो तीन बजे चेन्दू विमानस्थलमा पुग्यौं ।

हवाईजहाज ढावन मार्गमा अवतरण भएको झण्डै दस मिनेट विमानस्थलभित्रै गुडेपछि मात्र पार्किङमा रोकियो । विमानबाट झरेर झण्डै १५ मिनेट जति एयरपोर्टको वसमा चढेपछि मात्रै हामी अध्यागनमा पुग्यौं । त्यही क्रममा हामीले विमानस्थलभित्र पार्किङमा झण्डै दुई सयवटा जति विमानहरू गन्न भ्यायौंं । विमान अवतरण भइसकेपछि र विमानबाट झरेर यति लामो समय विमानस्थलको बसमा चढ्नुपरेपछि हामीलाई चीनको विशालता महशुश भयो ।
हाम्रो पहिलो ट्रान्जिट प्वाइन्ट सिचुवान प्रान्तको राजधानी चेन्दू पश्चिम चीनको आर्थिक केन्द्र (हव) हो । चेन्दू जनसङ्ख्याको हिसाबले पश्चिम चीनको चूंगचींग र सियानपछिको ठूलो सहर हो । चेन्दूमा दुई वर्ष अगाडि पनि पुगेको थिएँ म । त्यसबेला त्यहाँको विमानस्थलको छेउछाउमा जमिनमुनि गुड्ने भूमिगत रेल (मेट्रो टे«न) भर्खरै बन्दै गरेको थियो । तर यो पटक पुग्दा त्यो काम फत्ते गरिसकेर पनि सञ्चालनमा आइसकेको रहेछ । यति ठूलो परियोजना यति चाँडै सम्पन्न भएको देख्दा हामीलाई त्यहाँको तीव्र विकासको आभास भयो ।
चिनियाँहरू आफनो प्रान्तीय सहरहरूमा मेट्रो ट्र«ेन गुड्दा गर्व गर्दारहेछन् । मेट्रो ट्र«ेन गुड्ने मेट्रो लाइन (मेट्रो हिंड्ने टे«नको लिक) को सङ्ख्यालाई कुनै सहरको विकासको एउटा सूचाड्ढको रुपमा पनि लिंइदोरहेछ ।
चेन्दू पुगेपछि आठ बजे आन्तरिक उडानमा चढी हुवे प्रान्तको सियानज्याङमा जाने हाम्रो योजना थियो । तर मौसमको खराबीले उडान स्थगित भयो । चीनमा पनि साना सहरहरूमा मौसमको खराबीका कारणले नेपालमा झैं उडान स्थगित हुँदोरहेछ भन्ने कुराको बोध भयो । त्यसपछि हामीले विलम्ब नगरी योजना बदलियौं र रेलमा यात्रा गर्ने निधो ग¥यौं । किनकि योजनाअनुसार हामी भोलिपल्ट नै सियानज्याङमा एउटा सेमिनारमा पुग्नुपर्ने थियो ।
विमानस्थलबाट बाहिर ननिस्किकन मेट्रो ट्रेन चढी जमिन मुनि–मुनिबाट लगभग २० किलोमिटर परको चेन्दू रेल बिसौनी पुग्यौं । रेल बिसौनीमा अशक्त व्यक्तिहरू मागिरहेका देख्यौं । तर अचम्मलाग्दो के भने माग्नेहरू पनि मोवाइलबाट पैसा ट्रान्सफर गरी मागिरहेका थिए । (चीनमा गाउँ र सहरबीचको आर्थिक भेद अझै पनि कायम नै छ । चीन सरकारले गरिबी उन्मूलन र गाउँ तथा सहरबीचको भेदलाई कम गर्न विभिन्न कार्यक्रममार्फत प्रयास गरिरहेको छ र महŒवपूर्ण सफलता पनि पाएको छ । तथापि विशाल भूगोल र विशाल जनसङ्ख्याको देश चीनको सहरी क्षेत्रमा यस्तो आर्थिक विभेद र त्यसका सामाजिक प्रभावका प्रतिबिम्ब देखिने गरेको छ ।–सं) मगन्तेहरू पनि यसरी आधुनिक प्रविधिको प्रयोग गरी मागिरहेको देख्दा सूचना प्रविधिमा चिनियाँहरू कति अगाडि बढिसकेका रहेछन् भन्ने कुरामा हामी प्रस्ट भयौं । त्यहाँ चिनियाँ किसान आइमाईहरू खर्पनमा फलफूल बेच्न हिंडेको देख्यौं । लाग्यो–उनीहरू कति मेहनती ।
रेलको सुत्न मिल्ने सीट यति सफा थियो, कुरै नगरौं । कुनै तारे होटलको खातभन्दा कम थिएन । चेन्दूदेखि सियानज्याङसम्मको भूबनावट नेपालको जस्तै देखिथ्यो । खोला किनारमा रहेका अग्ला पहाडहरूमा सुरुङ छेडी हामी चढ्दै गरेको रेल गुडिरहेको थियो । राति ११ बजे रेल चढेका हामी १५ घण्टाको यात्रापछि चेन्दूदेखि हुवे प्रान्तको सियानज्याङमा भोलिपल्ट दिउँसो दुई बजेतिर पुग्यौं ।
सियानज्याङ हुवे प्रान्तको उत्तर पश्चिमस्थित ‘हान’ नदीको किनाराको सहर हो । रेलको बिसौनीबाट निस्किसकेपछि कम्पनीबाट लिन आएको चिनियाँदोभाषेले घाम देखाउँदै ‘यू आर लक्की टुडे’ (तपाईंहरू भाग्नमानी हुनुहुन्छ) भनी हामीलाई हौस्याए । आश्चर्य मानी किन ‘भाग्यमानी’ भनी सोध्दा ‘आज घाम लागेको छ नि त्यसैले’ भनी उत्तर दिए । वातावरण प्रदूषणले गर्दा त्यहाँ बिरलैमात्रै घाम देखिने रहेछ भनी उनीबाट हामी जानकारी पायौं । उनले भन्दै थिए, ‘यहाँ त वर्षभरिमा ६० दिन जतिमात्र घाम राम्रोसँग देखिन्छ । निलो आकाश देखिन त धेरै भाग्यमानी हुनुपर्छ ।’
बेलुकीको खाना (डिनर) मा बस्दा चिनियाँको अतिथि सत्कारबाट हामी ज्यादै प्रभावित भयौं । पाहुना बोलाएको मान्छे ढोकाको विपरीत दिशामा रहेको मेचमा बस्ने र पाहुनाहरूलाई दायाँ–बायाँ बसाल्ने । पाहुना बोलाउनेले तीन पटकसम्म बियर ‘चियर्स’ गराएर ख्वाउने ।
चिनियाँहरूले राष्ट्रपति सी जिनपिङको कुुरालाई अनुकरणीय भनाईको रुपमा मनन गर्दा रहेछन् भन्ने यसपालि महशुश भयो । सन् २०११ मा पहिलोपल्ट म चीन जाँदा रेष्टुरेन्टमा खाना खाँदा धेरै खानाका परिकार माग्ने र फाल्ने गरेको देखेको थिएँ । खाना फाल्नुलाई त्यतिबेलासम्म व्यापारीहरूले सम्पन्नताको प्रतीकको रुपमा लिन्थे । बीचमा राष्ट्रपति सी जिनपिङले खाना खेर फाल्न हुँदैन भनेर एउटा कार्यक्रममा बोलेको हुँदा सो कुरालाई आत्मसात गरी चिनियाँहरूले बढी भएको खाना यस पटक ‘होम प्याक’ गरी लाने गरेको पाएँ ।
रेष्टुरेन्टमा खान जाँदा चिनियाँहरूको एउटा अचम्मको संस्कार सिकें । जति जना खान गएको हुन् कम्तीमा त्यतिवटै खानेकुराको परिकारको माग गर्नुपर्ने । कम परिकार माग गरे रेष्टुरेन्टको साहुजीले अप्ठ्यारो (माइण्ड गर्ने) मान्ने ।

सियानज्याङ पुगेको भोलिपल्ट हामी त्यहाँ विद्युतीय (इलेक्ट्रिक) बससम्बन्धी एउटा सेमिनारमा भाग लियौं । इन्धनबाट चल्ने गाडीलाई निरुत्साहित गर्न केन्द्रीय सरकारले नै व्याट्रीबाट चल्ने ठूल्ठूला बसहरूमा अनुदान दिने नीति बनाएको रहेछ । सन् २०२५ सम्ममा सम्पूर्ण सार्वजनिक बसहरू विद्युतीय बनाउने नीति भएको कुरा सेमिनारका वक्ताहरूले बताए । विद्युतीय बसको मेरुदण्ड व्याट्री भएकोले विगत पाँच–सात वर्षमा चिनियाँहरूले व्यापक अनुसन्धान गरी पाँच वर्षभन्दा बढी टिक्ने व्याट्री बनाउन सफल भएको कुरा पनि जानकारी पाएँ । सडकको घुमाइ, उकालोओरालो, खाल्डाखुल्डी, उचाइ (ग्राउण्ड क्लियरेन्स) को अवस्थाअनुसार बस डिजाइन गरी बनाउनुुपर्ने भएकोले विद्युतीय बस महँगो हुने कुरा पनि थाहा पाएँ । यसो गर्न अनुसन्धान गर्नुपर्ने भएकोले पनि महँगो भएको हो । अहिलेको लागि बसमा लाग्ने व्याट्री पनि त्यतिकै महँगो छ ।
सियानज्याङ अरु ठूल्ठूला कारखाना पनि हे¥यौं । ती ठूला कारखानामा केन्द्र, प्रान्त र निजी क्षेत्रको संयुक्त लगानीमा बनेका हुन् । यो कुरा पनि हामीले त्यहाँबाट सिक्नुपर्ने जस्तो लाग्यो ।
हाम्रो दोस्रो गन्तव्य स्यानडोङको लेनी सहर थियो । तर सियानज्याङबाट लेनी पुग्न सिधा रेल नहुँदा हामी हुवे प्रान्तको राजधानी उहान पुग्नैपर्ने भयो । यात्राको चौथो दिन सियानज्याङबाट रेल बिसौनी जाने क्रममा बाटोको छेउमा पेट्रोल पम्पजस्तै चार्जर स्टेशन देख्यौं । अघिल्लो दिन नै अनलाइन काटेको रेल टिकटमा हिंड्ने समय ११ बजेर ४३ मिनेट निर्धारित थियो । पूर्वनिर्धारित समयमा एक मिनेट पनि विलम्ब नगरी रेल गन्तव्यको निम्ति गुड्दा अचम्म लाग्यो । साथै चिनियाँहरू समयको कति ख्याल गरेर अगाडि बढ्दारहेछन् भन्ने थाहा भयो । यही कुरा नेपालमा पनि भएको भए कति जाती हुने थियो भनी मनमा कुरा खेलिरह्यो ।
उहान फर्किने क्रममा पश्चिम चीनको युनानबाट साङ्घाईसम्म बग्ने एसियाकै लामो र संसारको तेस्रो लामो ६ हजार तीन सय ८० किलोमिटर लम्बाइ भएको याङजी नदी पनि देख्यौं । चीनको २१ हजार पाँच सय मेघावाट क्षमताको विश्वकै ठूलो थ्री गर्जेज जलविद्युत् यही खोलामा बनाएको हामीले इचाङमा देख्यौं । याङजी नदीको ठाउँ–ठाउँमा नहर बनाई ठूल्ठूला पानीजहाजहरू मध्य चीनबाट साङ्घाईसम्म चलिरहेको देख्दा नेपालका ठूल्ठूला नदीनालामा पनि यसो गर्न सकिने सम्भावनाबारे कल्पना भयो । थ्री गर्जेज जलविद्युत् केन्द्रलाई पर्यटकीय आकर्षणको रुपमा विकास गरी दोहोरो फाइदा लिएको पनि देख्यौं । साथै बाढी नियन्त्रण गरी सिंचाइमा प्रयोग गरिएको देखियो ।
सियानज्याङदेखि दुई घण्टाको रेलको यात्रापछि हामी साँझ पाँच बजेतिर उहान पुग्यौं । यसपालि उहानमा कुनै बैठक नभएकोले होटेल खर्च पनि जोगिने गरी हामी राति नै रेलबाट हाम्रो दोस्रो गन्तव्य स्यानडोङ प्रान्तको लेनी जाने निधो ग¥यौं । राति नौ बजे छुटेको रेल भोलि दिउँसो दुई बजेतिर लेनी पुग्यो । लेनी स्यानडोङ प्रान्तको दक्षिणमा अवस्थित ‘यि’ नदीको किनारमा रहेको सहर हो । यात्राको पाँचांै दिन लेनी सहरमा पुगेर हामीले त्यही दिन कारखाना अवलोकन गरी बेलुका रात्रीभोजसहितको बैठक ग¥यौं । हामी जुन कारखाना हेर्न पुगेका थियौं, तिनीहरूको आफ्नै होटेलमा हामीलाई त्यो राति बस्ने बन्दोबस्त मिलाइएको थियो । पछि थाहा पायौं, चीनका अधिकांश ठूला कम्पनीहरूको पाहुना राख्ने आफ्नै होटल हुँदोरहेछ ।
रात्रीभोजमा चिनियाँहरूसँग अनौपचारिक कुराकानी पनि भयो । प्रायः चिनियाँहरू युरोप र अमेरिकाले दुई सय वर्ष लगाएर गरेको विकास आफूले ३० वर्षमै गरेको भनी गर्व गर्छन् । चिनियाँहरू नक्कल गर्न पनि खप्पिस ! एकजना अङ्ग्रेजी बोल्ने चिनियाँ इन्जिनियरलाई ‘तिमीहरूको दिमागमा नयाँ–नयाँ मेसिनहरू बनाउने सीप कहाँबाट आउँछ’ भनी सोध्दा उसको जवाफ सुनी छक्क परें । उसले युरोपमा हुने प्रायः मेसिनहरूको प्रदर्शनी हेर्न कहिल्यै नछुटाउने बताउ । ‘ग्राहकको रुपमा युरोपको प्रदर्शनीमा गयो, उल्टाईपल्टाई मेसिन हे¥यो, फोटो खिच्यो, मूल सिद्धान्त (प्रिन्सिपल) बुझ्यो अनि चीन फर्की डिजाइन गरी त्यस्तै मेसिन बनायो ।’ उसको कुरा सुन्दा उनीहरूले द्रुत विकास गर्न सक्नुको कारण उनीहरूको चाँडो नक्कल गर्नसक्ने कला र खुबी हो जस्तो पनि लाग्यो । (चीनका उत्पादकहरुले बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको भनी आलोचना हुने गरेकोमा हाल चीन सरकारले बौद्धिक सम्पत्ति अधिकारसम्बन्धि कडा कानुन बनाई कार्यान्वयनलाई जोड दिइरहेको छ–सं)
प्रायः ठूला कारखानाले विश्वविद्यालयसँग समन्वय र अनुसन्धान गरी नयाँ–नयाँ उत्पादनको डिजाइन गर्दारहेछन् । ठूल्ठूला कम्पनीहरूले आफ्नो चोखो नाफाको पाँच प्रतिशतसम्म हरेक वर्ष विश्वविद्यालयलाई अनुसन्धान गर्न अनुदान दिंदै आएको हामीले पायौं ।
हाम्रो तेस्रो गन्तव्य फुजियान प्रान्तको सियामिन भन्ने सहर थियो । यात्राको छैटौं दिन सियामिन उड्न स्यानडोङको प्रान्तीय राजधानी जिनानमा रहेको विमानस्थल पुग्नुपर्ने थियो । त्यसैले हामी त्यो दिन चाँडै उठ्यौं । लेनीबाट कारमा जिनान विमानस्थल जाने क्रममा ट्राफिक नियमबारे अनौठो जानकारी पाउने अवसर पनि मिल्यो । त्यहाँ हरेक वर्ष चालकलाई १० अङ्क बराबरको गल्ती गर्ने छुट दिइँदोरहेछ । प्रत्येक गल्तीमा जरिवानाको साथै गल्तीको प्रकृति हेरी त्यो अङ्क घटाउँदै जानेरहेछ । वर्षभरिमा यदि १० अङ्कभन्दा बढी गल्ती गरेमा सवारी चालकको लाइसेन्स एक वर्षको लागि निलम्बन गर्ने चलन रहेछ । नेपालमा पनि यही प्रणाली लागू गर्न सके चालकहरूलाई अनुशासनमा राख्न सकिने देख्यौं ।

चिनियाँ साथीहरुसँग भलाकुसारी गर्दै जाँदा तीन सय किलोमिटर पार गरी लेनीबाट जिनान विमानस्थल पुग्न तीन घण्टा समय बितेको ख्यालै भएन । विमानस्थलबाट विमान चढी हामी त्यही रात फुजियान प्रान्तको सियामिन उड्यौं । सियामिन पूर्वी दक्षिण चीनको एउटा टापुमा बनेको सहर हो । सियामिन चकित पर्ने गरी निकै व्यवस्थित लाग्यो । यो सहर र सिङ्गापुर सहर एकै जना सहरी योजनाकारले डिजाइन गरेको रहेछ ।
सियामिनमा आजभन्दा दुई सय वर्ष अगाडि आएका बहराइनका आप्रवासी मुश्लिमहरूको जनसङ्ख्या प्रशस्तै थियो । नेपाल छोडेको सातौं दिन चीनमा पनि नेपाली स्वादको परिकार पाक्ने रेष्टुरेन्टमा खाना खान पाउँदा हामी खुसी भयौं ।
सियामिनमा हामी बाटोमा छाप्ने ब्लक बनाउने मेसिन किन्न गएका थियौं । आकाशे पानी जमिनमुनि जाने ब्लकको उत्पादन गरेको देख्दा हामी अचम्मित भयौं । यो पानी छिर्ने ब्लक पनि विश्वविद्यालयको प्राध्यापकले अनुसन्धान गरी डिजाइन गरेको उत्पादन रहेछ । यदि हामीले पनि यस्ता ब्लकले नेपालको सडक छेउको पेटी र कम्पाण्डमा छाप्न सके हाम्रा परम्परागत इनार पोखरीहरू सुक्ने थिएनन् । आकाशे पानी सिधै खोलामा नगई जमिनमुनि जाने भएकाले सहरमा पानीको सतह कम हुने थिएन ।
चिनियाँहरूले आफ्नो मेसिन बनाउँदा मेसिनमा प्रयोग हुने पार्टपुर्जाहरू कुनै जापानी, कुनै टाइवानी र कुनै कोरियाली प्रयोग गरेको भनी हामीसँग मार्केटिङ गरे । यसरी मेसिनको गुणस्तरलाई कायम गर्न व्यापारिक चिन्हप्रतिको सचेतता (ब्राण्ड कन्सेस) भएको देख्दा हामी चिनियाँ उत्पादकहरूबाट प्रभावित भयौं ।
सियामिनबाट हामी यात्राको आठांै दिन विमानबाट फेरि स्यानडोङकै जिनान विमानस्थलमा फर्कियौं, हामीलाई चौथो तथा अन्तिम गन्तव्य स्यानडोङकै अर्काे सहर छिन्टाई जानुपर्ने थियो । यसपालि जिनानमा हामीले भर्खरै उद्घाटन भएको चीनकै पहिलो सोलार प्यानल जडित जिनान एक्सप्रेस हाइवेबाट छिन्टाईको लागि यात्रा ग¥यौं । यो राजमार्गमा सौर्य प्यानल बिछ्याई नवीकरणीय ऊर्जा उत्पादन गर्दाेरहेछ । अचम्मको कुरा त के हो भने राजमार्गमाथि विद्युतीय गाडीहरू गुड्दा त्यसमा रहेका व्याट्रीहरू स्वतः तारविहीन (वायरलेस) प्रविधिमा चार्ज हुँदो रहेछ ।
जिनानबाट कारमा छिन्टाई जाने क्रममा राजमार्गको छेउछाउमा रहेका भिर–पाखामा सौर्य प्यानल जडान गरिएको देखियो । हामीले पनि नेपालमा उब्जनी नहुने दक्षिण फर्केको भीर–पाखामा सौर्य प्यानल जडान गरी सौर्य–ऊर्जा उत्पादन गर्ने सम्भावना महसुस भयो । छिन्टाईका विभिन्न कार्यालय पुग्दा त्यहाँका अधिकृत (सेक्रेटरी) हरूले फुर्सद भयो कि टेबुल सफा गर्ने गरेको देख्यौं । पसलका सेल्स म्यानहरू फुर्सद मिल्यो कि पसलको भुई पुछ्छन् । यो देखेर आफू बस्ने टेबुल नै आफूले नपुछी पियन राख्ने गरिब मुलुकका हामी नेपालीमाथि व्यङ्ग्य गरेझैं लाग्यो ।
चीनमा केही वर्षयता श्रमलागत (लेवर कष्ट) उच्च भएकोले भरसक प्रायः ठूला कम्पनीहरूले स्वचालित (अटोमेटिक) मेसिनबाट सामान उत्पादन गरिरहेको देखें । छिन्टाईमा एउटा मेसिन कम्पनीसँगको बैठकको क्रममा एकजना अङ्ग्रेजी बोल्ने इन्जिनियरलाई नेपालमा लोडसेडिङ हुन्छ र कति केभीएको जेनेरेटर किन्नु पर्ला भनी सोधें । चिनियाँ इन्जिनियरलाई लोडसेडिङ भनेको के हो भनेर झण्डै १ घण्टा जति बुझाएँ तर बुझाउन सकिएन । सायद भाषाको समस्या अथवा उनीहरू लोडसेडिङप्रति अनभिज्ञ भएर होला । अन्तमा केही सीप नलागेपछि चीनमै विद्यावारिधि गरिरहेको मेरो एक जना नेपाली विद्यार्थीलाई फोनमा चिनियाँ भाषामा कुरा गर्न लगाई बुझाएँ ।
छोराछोरीहरू ठूला सहरमा बसेर काम गर्न जाने भएकाले हामी पुगेको छिन्टाईको गाउँमा प्रायः बुढाबुढीमात्रै खेतीपातीमा देख्यौं । जग्गा बाँझो नहोस् भनेर पछिल्लो समय चीनको सरकारले नै खेतीयोग्य जग्गा निजी कम्पनीहरूलाई २०–२५ वर्षको लागि खेती गर्न भाडा (लिज) मा दिने नीति अवलम्बन गरेको छ । साथै ती कम्पनीले किसानलाई पनि ज्यालामा काम गराउँदो रहेछ । कम्पनीहरूले अधिकतम कृषि औजार प्रयोग गर्दा रहेछन् । धनाढ्य किसानहरूले कृषि सौखको रुपमा गर्दा रहेछन् । चिनियाँहरू यति मेहनती देखिए कि एकसेएक धनाढ्यहरू पनि काम नगरी एकछिन पनि नबस्ने । फुर्सद हुनासाथ खेतमा काम गर्ने । साथसाथै एउटा अचम्मलाग्दो कुरा, जग्गा बाँझो नरहोस् भनेर सरकारले आफै कमाउन चाहने किसानलाई प्रोत्साहनस्वरुप पैसा दिने गरेको पनि थाहा पायौं । बीउबिजन, मल र कृषि औजारमा त अनुदान छँदैछ ।
गाउँ–गाउँका सबै बाटो ढलान हुनुले पनि चीनको विकास देखाइरहेको थियो । यो देखेर मुलुकको समृद्धि भनेको यही हो जस्तो हामीलाई लाग्यो ।
छिन्टाईका किसान नेपालमा जस्तो थ्रेसरमा गहुँ चुटिरहेका थिए र ढलानको बाटोमा गहुँ सुकाउँदै थिए । यहाँका गाउँलेहरू यति संवदेनशील लाग्यो, गहुँ काटेको छ्वालीको धुलोलाई हामीकहाँ जस्तो नबाल्ने । छ्वाली बाल्दा वायु प्रदूषण हुन्छ भनेर उनीहरू नबाल्ने रहेछन् । त्यस्तो गर्दा आगलागी हुनसक्ने सम्भावना पनि हुन्थ्यो । बरु छ्वालीको धुलोलाई कुहाएर अर्गानिक मलको रुपमा खेतमा नै प्रयोग गर्ने गर्छन् ।
राति १० बजेतिर हामी बाहिर निस्कँदा छिन्टाईका किसान ज्येष्ठ नागरिकहरू मानसिक अनि शारीरिक तन्दुरुस्तीका लागि खुला चोकहरूमा सङ्गीतको लयमा व्यायाम गर्दै गरेको देख्दा खुसी लाग्यो । एकजना चिनियाँले जर्मनीबाट एक जना वैज्ञानिक बोलाएर प्रयोगशालाबाट टिस्यू कल्चर गरी बीउ उत्पादन गरेर विभिन्न प्रजातिका फूलहरू उत्पादन गरी सरकारलाई बाटोको छेउछाउमा रोप्नको निम्ति बेच्ने गरेको पनि पायौं ।
गाउँका घरहरू नेपालमा जस्तो छरिएका थिएनन् । बरु एकै ठाउँमा गुच्चमुच्च परेको देखियो । कारण सोध्दा घर बनाएपछि बाटो, बिजुली, पानी, विद्यालयलगायत पूर्वाधारहरू पु¥याउनुपर्छ, यसो गर्दा एकै ठाउँमा पूर्वाधार पु¥याउन सजिलो भएकोले भनी बताइयो ।
यात्राको १३ औं दिन छिन्टाईको पाँच दिनको बसाइपछि हामी चेन्दू पुगी नेपाल फर्किनुपर्ने भयो । चेन्दूको लागि तीब्र गतिको रेल (बुलेट ट्रेन) छिन्टाईकै नजिकैको सहरमा भएको थाइयान रेल बिसौनीमा जानुपर्ने भयो । छिन्टाईबाट कारमा थाइयान रेल बिसौनी जाँदा धेरै अनौपचारिक कुराकानी भए । चिनियाँ दोभाषेले भनेको एउटा कुरा ज्यादै घत लाग्यो । उनले विवाहसम्बन्धी दुःखेसो पोखेका थिए । गाउँबाट सहर छिरेको केटोले बिहे गर्न केटी पाउनै मुस्किल ¤ उनले भन्दै गए, चीनमा विवाह गर्न जतिसुकै पढेलेखेको भएता पनि राम्रो कम्पनीमा जागिर, आफ्नै कार र अपार्टमेन्ट नभइकन केटीले विवाह गर्न नमान्ने ¤ उनले थप्दै गए, चीनमा पनि गरिबहरू आर्थिक अभावका कारण रोग पहिचान भए तापनि उपचार खर्च नभएर मर्नेहरू छन् । नेपालमा जस्तो गरिबहरूको आफ्नै बेच्न मिल्ने जग्गा जमिन नहुने भएको कारणले गर्दा उपचार खर्चको अभावमा मर्नुपर्नेरहेछ भन्ने कुरा थाहा पाएँ । चीनमा केही रोगहरूको उपचार सरकारले निःशुल्क गरिदिए तापनि क्यान्सरजस्तो रोगहरू लाग्दा ठूला सहर गई उपचार गराउन आर्थिक क्षमताले नभ्याउने रहेछ ।
चिनियाँ प्राध्यापकहरूको आय मनग्ये हुने कुरा थाहा पाएँ । यदि अमेरिकामा आफ्ना छोराछोरीलाई पढाउने कोही चिनियाँले हैसियत राख्छ भने कि त ऊ प्राध्यापक हो कि त व्यापारी ।
केही दिनको विभिन्न सेमिनार, बैठक तथा कारखाना अवलोकन भ्रमणपश्चात् छिन्टाई नजिकको थाइयान रेल बिसौनीबाट हामी तीब्र गतिको रेल चढी चेन्दू फर्कियौं । तीब्र गतिको रेलमा फर्किंदा तीन सय १० किलोमिटर प्रतिघण्टाको तीव्रगतिमा हामी हुइकियौं । एक हजार ६ सय किलोमिटरको लामो यात्रा तय गर्न हामीलाई नौ घण्टा लागेको थियो । तीब्र गतिको रेलमा यात्रा गर्ने क्रममा सी जिनपिङको भाषणहरूको सङ्ग्रह ‘गभर्नेन्स अफ चाइना’ पढ्ने अवसर मिल्यो । पढ्दै जाँदा उक्त किताबको पेज नं. ५५५ मा उहाँले एउटा भाषणमा ‘बुद्ध धर्मको उदय भारतमा भई चीनबाट फैली पूर्वी एसियामा पुगेको’ भनी पढें । (बुद्धकालीन समयमा आजको नेपाल– भारतको सिमाना आजको जस्तो निर्धारित थिएन । भारत, पाकिस्तान, बङ्गलादेश, नेपाललगायतका देशहरूलाई भारतीय उपमहाद्विप भन्ने चलन अद्यापि कायम नै छ । बुद्धको जीवनका धेरै समय आजको भारतका सहरहरूमा बितेको यथार्थ हो ।–सं)
रेलमार्गमा पर्ने सियानबाट चेन्दू फर्कदा पनि यहाँको भूबनौट नेपालकै जस्तै भान भयो । तीब्र गतिको रेलमा यात्रा गर्ने क्रममा नेपालजस्तो पहाडै–पहाड भएको मुलुकमा अरु इन्जिनियरिङ शिक्षाको साथसाथै टनेल (सुरुङ्ग) इन्जिनियरको पढाइ र अनुसन्धान हुन आवश्यक लाग्योे । यदि नेपाललाई छिटोभन्दा छिटो विकास गर्ने हो भने चीनबाट यो कुरा सिक्न विलम्ब गर्नुहुँदैन । हामीले सधैं विदेशी प्राविधिक र प्रविधि ल्याएर सुरुङ्ग खन्न सक्दैनौं । त्यसो गर्नु महँगो हुनेछ । त्यसैले हामीले हाम्रै देशमा टनेल इन्जिनियरहरू उत्पादन गरी टनेल बोरिङ मेसिन निर्माण गर्ने कोसिस गर्नुपर्छ । थाइयानदेखि चेन्दूसम्मको नौ घण्टाको तीब्र गतिको रेलको यात्रापछि चेन्दुको ट्रान्जिट होटेलमा बास बसी भोलिपल्ट बिहानै हामी नेपाल फर्कियौं ।
Leave a Reply