भर्खरै :

नगरव्यापी हाजिरीजवाफ प्रतियोगिता सुरु

नगरव्यापी हाजिरीजवाफ प्रतियोगिता सुरु

भक्तपुर, ८ साउन । भक्तपुर नगरपालिका ९ नं वडा कार्यालय र तचपाः पुचःको संयुक्त आयोजनामा भक्तपुर नगरव्यापी विद्यालय उमेरका विद्यार्थीहरूबिच हाजिरीजवाफ प्रतियोगिता शुक्रबारदेखि सुरू भएको छ ।
विद्यालय तहका विद्यार्थीहरूको बौद्धिक क्षमता, तर्कशक्ति, समसामयिक विषयमा सामान्य ज्ञान तथा आपसी स्वस्थ एवं मित्रवत् प्रतिस्पर्धाको भावना विकास गराउने उद्देश्यले भएको उक्त हाजिरीजवाफ प्रतियोगितामा २० वटा टोलीको सहभागिता रहेको आयोजकले बताएको छ । नगरपालिका क्षेत्रभित्रका १२ वटा विद्यालय, ४ वटा विद्यार्थी हित समिति, २ वटा सहकारी संस्था र २ वटा पुस्तकालयको तर्फबाट प्रतियोगीहरू सहभागी भएका थिए ।
प्रतियोगिताको उद्घाटन वडाध्यक्ष रवीन्द्र ज्याख्व र कार्यपालिका सदस्य छोरीमैया सुजखूले शुक्रबार एक समारोहबीच गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष ज्याख्वले नयाँ पुस्तालाई पढाइ सँगसँगै सामाजिक, राजनैतिक, खेलकुद, आर्थिकलगायतका विभिन्न विषयमा सही जानकारी दिन तथा बौद्धिक विकासमा प्रतियोगिताले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अनुशासित, इमानदार र देशभक्त नयाँ पुस्ताले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्दै उहाँले नगरपालिका जनताको नजिकमा बस्ने संस्था भएकोेले हरेक उमेर समूह, जाति, भाषा तथा भूगोलका जनताको भावना स्थानीय सरकारले बुझ्ने बताउनुभयो ।
आयोजक तचपाः पुचःका अध्यक्ष दीपिका लवजूले पुचःको विषयमा जानकारी दिँदै नयाँ पुस्ताको भावनाबमोजिम सामूहिक गतिविधिहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शुक्रबार भएका प्रारम्भिक तथा सेमीफाइनल चरणका प्रतिस्पर्धाबाट उत्कृष्ट ६ वटा टोली फाइनलमा पुग्न सफल भएका छन् । विहिस वागीश्वरी मावि, बासु मावि, प्रभात इ. सेकेन्डरी स्कूल, हिमालयन ग्लोरी इ. स्कूल, ख्वप्रिङ इ. एकेडेमी र बाल विकास इ. स्कूल फाइनलमा प्रवेश गर्न सफल भएको आयोजक समितिका सुजी हेंग्वजूले बताउनुभयो ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धा तथा पुरस्कार वितरण समारोह साउन १० गते शनिबार दिनको २ः३० बजेदेखि गछेँ टोलमा हुने आयोजकले बताएको छ । वाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजूको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा उत्कृष्ट टोलीहरूलाई ट्रफि, नगद पुरस्कार, पुस्तक सङ्ग्रह तथा प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष ज्याख्वले बताउनुभयो ।
उहाँले सहभागी सबै टोलीहरूलाई पनि पुरस्कारको व्यवस्था रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *