मा.वि. स्तरीय कथा लेखन प्रतियोगिता सम्पन्न
- श्रावण ८, २०८३
भक्तपुर, ८ साउन । प्रगति पुस्तकालयको आयोजनामा सञ्चालित एडभान्स चित्रकला तालिम (तह–२) को समापन कार्यक्रम शुक्रबार तुमचोस्थित आदर निकेतनमा सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीहरूले आधारभूत तहदेखि एड्भान्स तहसम्म आइपुग्दा चित्रकलामा उल्लेखनीय प्रगति गरेको बताउनुभयो ।
उहाँले निरन्तर अभ्यासले मात्र सीपलाई परिष्कृत बनाउने उल्लेख गर्दै चित्रकला केवल रूचि वा मनोरञ्जनको विषय नभई भविष्यमा शिक्षा, व्यवसाय तथा जीवनयापनको माध्यमसमेत बन्न सक्ने धारणा राख्नुभयो ।
उहाँले चित्रकला मानसिक स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण रहेको र यसले तनाव व्यवस्थापन, सिर्जनशील सोच र व्यक्तित्व विकासमा समेत सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।
चित्रकला प्रशिक्षक विकास तमखुले तालिम अवधिमा विद्यार्थीहरू परिवारजस्तै वातावरणमा सिक्दै उल्लेखनीय रूपमा अघि बढेको अनुभव चर्चा गर्दै सुरूवाती चरणको तुलनामा अहिले विद्यार्थीहरूको ड्रइङ, स्केचिङ, कलरिङ तथा सिर्जनशील क्षमतामा ठुलो परिवर्तन आएको बताउनुभयो ।
प्रगति पुस्तकालयका अध्यक्ष रवीन्द्रप्रसाद कुसीले चित्रकला तालिममा सहभागी विद्यार्थीहरूले विभिन्न विद्यालय तथा स्थानीयस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार हासिल गरेकोमा गर्व व्यक्त गर्नुभयो ।
सुरूमा तीन महिनाको लागि सञ्चालन गरिएको एड्भान्स तालिमलाई विद्यार्थीहरूको सिकाइलाई मध्यनजर गर्दै थप तीन महिना निःशुल्क विस्तार गरिएको र यसबाट विद्यार्थीहरूको सीप अझ मजबुत भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अभिभावकको तर्फबाट प्रज्ञा कर्माचार्य र सुजिता कुटुवाजुले बोल्नुभएको थियो । कार्यक्रम जयराम कोजूले सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply