देशको अवस्थाबारे उब्जिएका प्रश्न
- श्रावण १५, २०८३
भक्तपुर, १५ साउन । नेपाल मजदुर किसान पार्टी भनपा–७ गोल्मढी एकाइ समितिको आयोजनामा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सुनसरीमा भइरहेको हिन्दू–मुस्लिम साम्प्रदायिक द्वन्द्वले समाजमा विनाशमात्र निम्तिएको स्पष्ट पार्दै पार्टी कार्यकर्ताहरू समाजमा साम्प्रदायिक दङ्गा फसाद हुनसक्ने खतराप्रति सचेत हुनु जरूरी छ भन्नुभयो ।
उहाँले नेपाल ‘एक चीन’ नीतिको पक्षमा रहेको, देशमा ‘तिब्बतीयन ओरिजिनल ब्लड –टीओबी’ का गतिविधिहरू बढ्न सक्ने खतरा रहेको उल्लेख गर्दै उहाँले पार्टीका पुराना कार्यकर्ताहरूले गरेको दुःख खेर नगएको, भक्तपुर काण्डको समयमा पार्टीलाई समूल नष्ट गर्न खोजेको बेलाविरूद्ध सङ्घर्ष अगाडि बढाएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले पार्टी कार्यकर्ताहरू अरूभन्दा बढी अध्ययनशील तथा अग्रगामी हुनुपर्ने, व्यक्तिगत सम्पत्तिलाई भन्दा सार्वजनिक सम्पत्तिलाई माया गर्नुपर्ने, कुनै किसिमको बेइमानी गर्न नहुने, आ–आफूले पार्टी र समाजप्रति गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्ने, पार्टी बैठक, अध्ययन गोष्ठी नियमित सञ्चालन गर्नुपर्ने, समाजवादी आन्दोलनको लागि सङ्घर्षलाई अझ अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले पार्टी कार्यकर्ताहरूमा कमीकमजोरीप्रति आलोचना र आत्मालोचना गर्ने बानी हुनुपर्ने, गलत गतिविधिविरूद्ध कार्यकर्ताहरूले सङ्घर्ष गरिराख्नपर्ने, कार्यकर्ताहरू नयाँ प्रविधिहरूबारे परिचित हुनुपर्ने, युवा–विद्यार्थीमाझ सृजनात्मक गतिविधि गरिराख्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईंले रास्वपाले निर्वाचनताका जनताको अगाडि युवाहरूलाई स्वदेशमै रोजगारी दिने, विदेश गएका युवाहरूलाई स्वदेशमै फिर्ता ल्याउने वातावरण तयार गर्ने वाचा गरेको तर व्यवहारमा विगत एक वर्षको तथ्याङ्कले करिब आठ लाख युवाहरू विदेश गइसकेको र अझ धेरै युवाहरूको राहदानी लिन भीड देखिएबाट वर्तमान सरकारको वाचा झुटो साबित भएको बताउनुभयो ।
सरकारले एकातिर युवा–विद्यार्थीलाई राजनीतिप्रति वितृष्णा जगाइराखेको र अर्कोतिर देशमा अमेरिकी युथ काउन्सिल, बारबरा फाउन्डेसन, टीओबीजस्ता साम्राज्यवादी संस्थाहरूको गतिविधि बढाइराखेकोतर्फ सचेत हुन जरूरी छ, उहाँले भन्नुभयो ।
आयोजक समितिका संयोजक लक्ष्मीभक्त कवांको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडाध्यक्ष उकेश कवांले वडामा भइरहेको गतिविधिबारे जानकारी दिनुभयो ।
Leave a Reply