प्रदेश आम्दानीको स्रोत र आत्मनिर्भरताको प्रश्न जहाँको तहीँ
- श्रावण १३, २०८३
भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँग नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु टोइटले शिष्टाचार भेट गर्नुभयो । भेटमा भक्तपुरको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र भावी पुस्तामा हस्तान्तरणका विषयमा छलफल भयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले सम्पदा क्षेत्रलाई असर पर्ने कन्सर्ट तथा सवारीसाधनहरूको प्रवेशलाई क्रमशः नियन्त्रण गरिएको, पुरानो नगर क्षेत्रभित्र परम्परागत तथा मौलिक शैलीमा घर निर्माण गर्न नागरिकलाई प्रेरित गर्नुका साथै अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
उहाँले अमूर्त सम्पदाको संरक्षणका लागि युवा पुस्तालाई विभिन्न सीपमूलक तालिम सञ्चालन, दाफा प्रदर्शन, बाजा प्रतियोगिता तथा परम्परागत ज्ञान र सीपको पुस्तान्तरण एवं हस्तान्तरणमार्फत संरक्षणको कार्य भइरहेको बताउनुभयो । भक्तपुरको जुजु धौ, माटोका कला, काष्ठकला, धातुकला तथा प्रस्तरकलाजस्ता सिर्जनात्मक कार्यहरूको संरक्षण र प्रवद्र्धनमा नगरपालिकाले विशेष ध्यान दिएको उहाँले उल्लेख गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले नयाँ पुस्तालाई स्थानीय सम्पदा, संस्कृति र इतिहासबारे जानकारी गराउन स्थानीय पाठ्यक्रममार्फत अध्ययन–अध्यापन गराइँदै आएको र सांस्कृतिक नगर भक्तपुरमा वर्षभरि सञ्चालन हुने विभिन्न जात्रापर्वले अमूर्त सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
युनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटले सम्पदा संरक्षणका क्षेत्रमा युनेस्को र भक्तपुर नगरपालिकाबिच सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सिर्जनात्मक उद्योगको विकासका लागि तालिम सञ्चालन, नेपालका सातै प्रदेशमा अमूर्त सांस्कृतिक सम्पदाको सूचिकृत गर्ने कार्य तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालनमा युनेस्कोले सहकार्य गरिरहेको जानकारी दिनुभयो ।
उहाँले समुदायमा आधारित सम्पदा संरक्षणले स्थानीय आयआर्जन, रोजगारी सिर्जना तथा दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै सम्पदाको संरक्षणसँगै यसको दिगो उपयोगमा पनि जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भेटका अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित सम्पदा, इतिहास, संस्कृति तथा विकास निर्माणसम्बन्धी विभिन्न प्रकाशनहरू युनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटलाई उपहारस्वरूप प्रदान गर्नुभयो ।
भेटमा युनेस्को नेपालको संस्कृति क्षेत्र राष्ट्रिय कार्यक्रम कार्यालयकी नाभा बस्न्यात थापा तथा भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालको पनि उपस्थिति थियो ।
Leave a Reply