भर्खरै :

नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवस मनाइयो

नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवस मनाइयो

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले देश बनाउने नाउँमा नयाँ सरकारले देशलाई धार्मिक विखण्डन र विदेशीको हातमा सुम्पने प्रयास भइरहेको जानकारी गराउनुभयो । नेपाल मजदुर किसान पार्टी, वडा नं ५ चासुखेल एकाइ समितिको आयोजनामा नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवसको उपलक्ष्यमा भएको कार्यकर्ता प्रशिक्षणमा सांसद गोसाईले सो कुरा बताउनुभएको हो ।
अमेरिकी संस्थाहरूको इसारामा वर्तमान सरकार चलिरहेको हुँदा सम्पूर्ण जनता सचेत हुनुपर्छ, उहाँले भन्नुभयो । उहाँले प्रम बालेन र गृहमन्त्री संसद्मा जिम्मेवारीपूर्वक प्रस्तुत नभएको कारण देशले थप क्षति भोग्नु परेको बताउनुभयो । उहाँले हरेक पार्टी कार्यकर्ताले आफ्नो विगतलाई फर्केर हेर्नुपर्ने वा सिंहावलोकन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पार्टी आधिकारिक रूपमा स्थापना हुनुपूर्व नै १४ साउन २०२५ सालमा स्थापना भएको किसान सङ्घ किसानहरूको हकहितमा समर्पित भएको बताउनुभयो । उहाँले नेमकिपाको स्थापना २०३१ सालमा भएदेखि मजदुर किसानका हकहितबाहेक सिँगो देशको स्वतन्त्रता, स्वाधीनता र जनपक्षीय सवालमा निरङ्कुश पञ्चायतको अन्त्यको लागि आवाज उठाउँदै आएको स्मरण सबै कार्यकर्ताले गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर नगर समितिका प्रतिनिधि गंगाराम ज्याख्व, वडा ५ का पूर्णगोपाल राजचल, नारायणप्रसाद त्वानाबासु र सम्झना खाइजुले नेपाल क्रान्तिकारी किसान सङ्घको योगदानका बारेमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *