भर्खरै :

चानपामा नेक्राकिसङ्घको ५८ औँ स्थापना दिवस

चानपामा नेक्राकिसङ्घको ५८ औँ स्थापना दिवस

भक्तपुर, १७ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ, चाँगुनारायण नगर समितिको आयोजनामा नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेमकिपा, चाँगुनारायण नगर समितिका अध्यक्ष एवं जिल्ला समिति, भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजूले नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापनाका आधारहरूमा २०२१ सालको भूमिसुधार कार्यक्रम उपयोग गर्नु, २०२५ साल साउन २ र २०२६ साल असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन आदि भएको बताउनुभयो । उहाँले २०२५ साल साउन १४ गते विधिवत रूपमा स्थापना भएको किसान सङ्घले किसानहरूको हितमा मोहियानी हक सुरक्षा आन्दोलन, भर्पाई आन्दोलन र बाली काट्ने आन्दोलन गरेको स्मरण गराउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापनाका उद्देश्यहरूबारे चर्चा गर्दै उहाँले किसानहरूलाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिक रूपमा परिपक्व बनाई समाजवादी गणतन्त्र अभियान कार्यक्रममा समाहित हुने र गराउनुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकामा भइरहेको विकृति, विसङ्गति, बेथिति, अनियमितता, पक्षपात र भ्रष्टाचार भइरहेको बारे सामाजिक सञ्जाल र स्थानीयबाट व्यापक चर्चा परिचर्चा भइरहेको हुँदा सोको बारेमा नगरवासीहरू सचेत, सजग र सङघर्षशील हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
अतिथि फोजूले गत असार १० गते सम्पन्न भएको चाँगुनारायण नगरपालिकाको १८ औँ नगरपरिषद्मा नेमकिपाको तर्फबाट एक घर एक रोजगारको व्यवस्था गर्नुपर्ने, घरदैलो नर्सिङ सेवाको व्यवस्था गर्नुपर्ने, वडा वडामा ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको व्यवस्था गर्नुपर्ने, प्रत्येक वडामा बालबालिकाहरूको लागि बालउद्यान र शिशुशालाको व्यवस्था गर्नुपर्ने, कृषिमा आत्मनिर्भर बनाउन कृषकहरूलाई आवश्यक मलखाद, बीउबिजन, कीटनाशक औषधि तथा कृषि औजारहरू उपलब्ध गराउनुपर्ने, आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने सुझावहरू दिइएको जानकारी दिनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका सदस्य एवम् चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्य कमला भारती गिरीले चाँगुनारायण नगरपालिकामा भइरहेको पक्षपातपूर्ण व्यवहार, बेथिति र विसङ्गतिको बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।
ने.क्रा.कि. सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेक्राकिसङ्घका केशरबहादुर खड्का, कुमारप्रसाद सुवाल र गणेश सुवालले किसान समस्या र समसामयिक विषयमा बोल्नुभएको थियो ।
त्यस्तै नेपाल क्रान्तिकारी किसान सङ्घ, चानपा – ५ छालिङको आयोजनामा नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवसको अवसरमा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेपाल क्रान्तिकारी किसान सङ्घले पार्टीको निर्देशनअनुसार स्थापनाकालदेखि नै किसानहरूको हितमा मोहियानी हक सुरक्षा आन्दोलन, भर्पाई आन्दोलन र बाली काट्ने आन्दोलन गर्दै आइरहेको औँल्याउनुभयो ।
उहाँले देशमा नेमकिपा र नेपाल क्रान्तिकारी किसान सङ्घ नभएको भए किसानहरूको आर्थिक अवस्था हालको अवस्थामा आउन नसकिने र आफ्ना छोराछोरी, नातिनातिनाहरूलाई उच्च शिक्षा हासिल गराउन सक्दैनथ्यो होला भन्नुभयो ।
उहाँले जनताको आधारभूत आवश्यकतामा पर्ने विषय स्वास्थ्य र शिक्षामा ३ प्रतिशत कर लगाउनु, विद्युत्मा ५ देखि १३ प्रतिशत भ्याट लगाउनु, राइड सेयरिङमा ५ प्रतिशत कर लगाउनु, जग्गा नामसारी, घरबारी सिफारिस, नाता प्रमाणित सिफारिस, आदिवासी प्रमाणित सिफारिस, खानेपानी र विद्युत् जडान सिफारिस, जन्म, मृत्यु र विवाह दर्तामा सयौँ गुणा कर वृद्धि गर्नु रास्वपा सरकारको जनघाती र जनद्रोही कार्य भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिका सचिव एवम् चानपा ५ छालिङका अध्यक्ष सूर्यबहादुर फोजुले छालिङवासीहरूको हितमा नेमकिपा र किसान सङ्घले भौतिक पूर्वाधार र शिक्षा प्रचारमा जनतालाई सचेत, सजग र सङ्गठित बनाउने कार्यमा निःस्वार्थ रूपमा सेवा गर्दै आइरहेको चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *