भर्खरै :

शोभा स्मृति कोषमा रकम थपिँदै

शोभा स्मृति कोषमा रकम थपिँदै

भक्तपुर, १७ साउन । समाजमा ‘सिस्नो रोपेर तुल्सी उम्रन्न’ भन्ने उखान चलेको पाइन्छ । सिस्नो हैन तुल्सी रोप्नुपर्छ भन्ने उखानको सन्देश हो । नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानले जीवनको उत्तराद्र्धमा आफू कार्यरत रहेको वागीश्वरी मा.वि. का शिक्षक कर्मचारीहरूको स्वास्थ्योपचारमा सहयोग पुगोस् भन्ने सदाशयले ‘वागीश्वरी शिक्षक कर्मचारी स्वास्थ्य उपचार शोभा प्रधान स्मृति कोष’ स्थापना गर्नुभएको थियो । रु. दुई लाखबाट सुरु भएको उक्त कोष हाल विभिन्न व्यक्ति र संस्थाको थप सहयोगले रु. एक्काइस लाखभन्दा बढीको कोष बन्न पुगेको विद्यालय स्रोतबाट थाहा भएको छ ।
कोषका सहयोगी दाता संस्थामा वागीश्वरी मा.वि.ले रु. पाँच लाख थप गरेको छ भने व्यक्ति दाताहरूमध्ये सिद्धिवीर कर्माचार्य र उहाँकी श्रीमती रेणु कर्माचार्यले हालसम्म चार पटक गरी रु. ४ लाख १७ हजार सात सय छयहत्तर रूपैयाँ कोषमा थप्नुभएको छ । स्व. शोभा प्रधानको चौथो वार्षिक स्मृतिमा उहाँहरूले चौथो पटक रु. एक लाख चार हजार चार सय चवालीस रूपैयाँ हालै थप्नुभएको हो । यीबाहेक रामप्रसाद सुवाल, शोभना शाक्य र ज्ञानसागर प्रजापतिले पनि कोषमा योगदान गर्नुभएको छ ।
दाता सिद्धिवीर कर्माचार्यले वागीश्वरी मा.वि.को विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीहरूको निम्ति पनि छुट्टै छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुभएको छ । उक्त कोषमा सिद्धिवीरको नाममा तीन लाख दस हजार तीन सय बत्तीस रूपैयाँ, उहाँका बुबा जोगवीर कर्माचार्य र आमा मोहनमाया कर्माचार्यको नाममा एक लाख चार हजार चार सय चवालीस रूपैयाँ र उहाँकी श्रीमती रेणु कर्माचार्यको नाममा रु. एक लाख चार हजार चार सय चवालीस रूपैयाँ गरी जम्मा पाँच लाख उन्नाइस हजार दुई सय बीस रूपैयाँको छुट्टै छात्रवृत्ति अक्षय कोष पनि राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *