भर्खरै :

भक्तपुर जिल्ला साकोस सङ्घको वार्षिक समीक्षा तथा चारवर्षे व्यावसायिक योजना गोष्ठी

भक्तपुर जिल्ला साकोस सङ्घको वार्षिक समीक्षा तथा चारवर्षे व्यावसायिक योजना गोष्ठी

भक्तपुर, साउन १७ । ‘उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता तथा दिगो सहकारी विकासका लागि सङ्घ’ भन्ने मूल नाराका साथ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. को आयोजनामा ‘वार्षिक समीक्षा तथा चारवर्षे व्यावसायिक योजना गोष्ठी २०८३’ सूर्यविनायकस्थित क्लव वाग्मतीमा सम्पन्न भयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष जगन्नाथ प्रजापतिले स्वागत मन्तव्य दिँदै सहकारी क्षेत्रमा हाल बढ्दै गएको वासलात र ऋण लगानी घट्दै गएको अवस्थामा यसलाई पुनः सुदृृढ र मजबुत बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सङ्घका सञ्चालक सदस्य राजकुमार लघुले गत आर्थिक वर्षको रु.३,०६,९४,२५,०५०। (तीन अर्ब छ करोड चौरानब्बे लाख पच्चीस हजार पचास रूपैयाँको वासलातसहितको आर्थिक समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
सङ्घका सचिव कान्छाभक्त घजुले आ.व. २०८२/८३ को कार्यक्रमको समीक्षा गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व गर्दै सङ्घका अध्यक्ष हरिकृष्ण बल्लले सङ्घले आफ्ना सदस्य संस्थाहरूको हितलाई सर्वोपरि राखेर आगामी चार वर्षको व्यावसायिक योजना बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुरुआती दिनहरूमा प्रारम्भिक सहकारी संस्थाहरूले नै सङ्घको जन्म गराएको अनुभूति हुन्थ्यो । तर, अब सङ्घले अभिभावकीय भूमिका निर्वाह गर्दै प्रारम्भिक संस्थाहरूको काँध थापेर अगाडि बढ्नुपर्ने बेला आएको छ ।”
सङ्घका सहायक रोकेश जोशीले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा सङ्घका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले आ.व. २०७९/८० देखि आ.व.२०८२/८३ सम्मको चारवर्षे व्यावसायिक योजनाको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
साथै आगामी ४ वर्षको लागि चार वर्षीय रणनीतिक योजना तथा आ.व.२०८३/८४ को लागि तय गरिएको बजेट तथा कार्यक्रम प्रस्तुति सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोँजूले गर्नुभयो । उहाँले भन्नुभयो, “संशोधित सहकारी ऐन २०८३ ले सङ्घको तीव्रगतिमा बढेको वित्तीय क्षेत्रलाई अन्योलमा धकेलेको अवस्थामा यस्ता चुनौतीहरूलाई अवसरमा परिणत गर्दै अगाडि बढ्नुपर्छ ।”
समीक्षा कार्यक्रममा सङ्घको महिला सशक्तीकरण उपसमितिको आयोजनामा २०८३ असार २७ गते सम्पन्न महिला सशक्तीकरणमा सहकारीको भूमिका विषयक निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त प्रतियोगितामा १३ जनाले सहभागी जनाएको थियो । प्रतियोगितामा प्रथम स्थानमा सिमल बचत तथा ऋण सहकारी संस्था लि.का ग्लोबल एकेडेमीमा कक्षा ९ अध्ययनरत साहिल सुवाल, द्वितीय स्थानमा शिक्षा विकास बचत तथा ऋण सहकारी संस्था लि.का विनायक शिक्षा निकेतनमा कक्षा ९ मा अध्ययनरत तुलज प्रजापति र तृतीय स्थानमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का ख्वप्रिङ इङग्लिस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत राजश्री कुसीले हासिल गर्नुभएको थियो । विजयी छात्रछात्राहरूलाई कार्यक्रमका अतिथि तथा सङ्घका पदाधिकारीहरूद्वारा पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *