भर्खरै :

साङ्घाई सहकार्य संगठनमा पाकिस्तान

पूर्वी चीनको शान्दोङ प्रान्तको छिङ्ताओ शहरमा जुन ९–१० मा १८ औं एससीओ शिखर सम्मेलन सम्पन्न भयो । सन् २०१७ को जुन महिनाबाट दक्षिण एसियाली देश पाकिस्तान पनि औपचारिक रुपमा साङ्घाई सहकार्य संगठन(एससीओ) को सदस्य बन्यो । एससीओको नयाँ सदस्यको रुपमा पाकिस्तानले कस्तो खालको भूमिका खेल्न सक्छ र एससीओको भविष्यबारे पाकिस्तानको विचार के छ ? एससीओको अठारौं सम्मेलन अघि एससीओमा केन्द्रित रही चीनका लागि पाकिस्तानका राजदुत मस्सुद खालिदसँग बेइजिङ रिभ्युले कुराकानी गरेको थियो । कुराकानीको सार–संक्षेप प्रस्तुत छः
बेइजिङ रिभ्युः गएको वर्षदेखि पाकिस्तान पनि साङ्घाई सहकार्य संगठनको सदस्य बनेको छ । यो संगठनमा सदस्य बनेर पाकिस्तानले लिन सक्ने फाइदाहरु के–के हुन् ? संगठनमा पाकिस्तानले के कस्तो भूमिका निभाउन सक्दछ ?
मस्सुद खालिदः सन् २००५ बाट नै पाकिस्तान एससीओको पर्यवेक्षक रहँदै आएको थियो । सन् २०१७ मा भएको अस्ताना सम्मेलनबाट पाकिस्तान संगठनको सदस्य बन्यो ।
एससीओभित्र सहकार्य मूलतः सुरक्षा, राजनीति, अर्थतन्त्र र संस्कृति केन्द्रित छ । एससीओको पर्यवेक्षक सदस्य रहँदै देखि पाकिस्तानले यी सबै क्षेत्रहरुमा रचनात्मक भूमिका खेल्दै आएको थियो । संगठनको आयोजनामा हुने हरेक कार्यक्रमहरुमा पाकिस्तान नियमित रुपमा सहभागी बन्दै आएको छ ।
तपाईलाई थाहा छ, पाकिस्तान आतङ्कवादविरोधी लडाईको अग्रभागमा उभिएको छ । आतङ्कवादसँगको लडाईको क्रममा हामीले मानवीय र आर्थिक दुवै हिसाबमा धेरै दुःख भोग्नुप¥यो । आतङ्कवादविरोधी लडाईको क्रममा हामीले हासिल गरेका अनुभव हामी एससीओ समुदायभित्र आदानप्रदान गर्न सक्छौं ताकि हाम्रो क्षेत्रको सुरक्षा अवस्थामा सुधार ल्याउन सक्नेछौं ।
पाकिस्तान दक्षिणपश्चिम एसिया, मध्यपूर्व र दक्षिण एसियाको दोभान हो । सुदृढ सम्पर्क(connectivity) र बिस्तारित यातायात सञ्जालमार्फत् हामीले विश्वको कुल जनसङ्ख्याको ८६ प्रतिशतलाई जोड्न सक्छौं ।
पाकिस्तान साँस्कृतिक रुपमा पनि समृद्ध देश हो । एससीओका सदस्य देशहरुसँग हाम्रो बलियो साँस्कृतिक र साझा सम्पदा सम्बन्ध छ र एससीओ संस्कृतिलाई बृहत् स्तरमा क्षेत्रीय र विश्वव्यापी बनाउन सहकार्य गर्न सक्छौं ।
एससीओ सम्बद्ध देशहरु विश्वको कुल जनसङ्ख्याको लगभग आधा जनसङ्ख्याको घर हुन् । एससीओमा पाकिस्तानको सदस्यले पाकिस्तानलाई मध्य एसियाली देशहरु र रुससँग नजिकबाट अन्तरसंवाद गर्न दबु प्रदान गरेको छ । चीन त निसन्देह हाम्रो धेरै अघिदेखि बाट सर्वकालीक, रणनीतिक, सहकार्यात्मक मित्र रहँदै आएको छ । यो क्षेत्रसँगको सहकार्य पाकिस्तानको सुरक्षाका लागि लाभदायक हुनेछ । पाकिस्तानको आर्थिक वृद्धिलाई गति दिन मद्दत गर्नेछ । यो क्षेत्रका जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउन टेवा पु¥याउनेछ ।
क्षेत्रीय सुरक्षाको सन्दर्भमा एससीओबाट पाकिस्तानले कस्तो भूमिकाको अपेक्षा गरेको छ ?
एससीओ कुनै देश वा संगठनको विरोधमा स्थापना भएको थिएन भन्ने कुरा प्रष्ट हुनुपर्दछ । सन् २००१ मा स्थापना भए यता एससीओले क्षेत्रीय शान्ति र सुरक्षा प्रबद्र्धनको लागि महत्वपूर्ण कोशेढुङ्गा हासिल गरेको छ । एससीओअन्तर्गत बनाइएको आतङ्कवादविरोधी क्षेत्रीय संरचनाले यस क्षेत्रको समग्र सुरक्षा अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । सुरक्षाको क्षेत्रमा आतङ्कवाद गम्भीर चुनौति हो । आतङ्कवादीको निर्मुलनसँग आतङ्कवादले रुप र माध्यम दुवै हिसाबले आफूलाई बदलेको छ । हामीले यो सुरक्षा चुनौतिका दुवै लक्षण र मूल कारणलाई सम्बोधन गर्न जरुरी छ र हाम्रो गतिविधि केन्द्रित गर्नुपर्दछ ।
क्षेत्रीय शान्ति र सुरक्षामा सुधार ल्याउने अर्को महत्वपूर्ण कदम भनेको अफगानी सम्पर्क समूहहरु हुन् । अफगानिस्तानले थालेको र अफगानिस्तानले नेतृत्व गरेको शान्ति प्रक्रियामा अफगानिस्तानलाई सहयोग गरेर एससीओ सदस्य देशहरुले समग्र सुरक्षा अवस्थामा सुधारको लागि योगदान गर्न सक्दछन् ।
एससीओ सदस्य देशहरुको रक्षामन्त्रीहरु र राष्ट्रिय सुरक्षा सचिवहरुको परिषद्को संरचना हाम्रो कदमलाई मूर्तता दिन सहयोगी हुनसक्छ । शान्ति स्थापनाको लक्ष्य सहितको सैनिक अभ्यास र सेना–सेनाबीचको नियमित अन्तरक्रियाले पनि शान्ति–सुरक्षाका पुराना र नयाँ चुनौतिहरुसँग प्रतिरोध गर्न कानुन कार्यान्वयनका निकायलाई सबल बनाउनेछ ।
एससीओको ढाँचाअन्तर्गत सदस्य देशहरुबीच कुन क्षेत्रमा सहकार्यलाई अझ जोड दिन उपयुक्त हुनेछ ?
एससीओअन्तर्गत सबै चार वटै क्षेत्रहरु महत्वपूर्ण र अन्तरसम्बन्धित छन् । तथापि पहिलो र सबभन्दा महत्वपूर्ण प्राथमिकताको क्षेत्र भनेको सुरक्षा नै हो । गरिबीले हिंसा जन्माउँछ र विकास तथा समृद्धिले शान्ति र सद्भाव जन्माउँछ भन्ने कुरा हामीले मनमा राख्नुपर्दछ । सुरक्षा खतराको प्रतिरोधका लागि आर्थिक विकास र अन्तरसम्बन्ध प्रभावकारी हतियार भएको कुरा प्रमाणित सत्य हो ।
जनताको जीवनस्तरमा सुधार ल्याउन आर्थिक क्षेत्रमा सहकार्यको प्रबद्र्धन अग्रमहत्वको विषय हो । एससीओका सदस्य देशहरुले बेल्ट एण्ड रोड जस्ता क्षेत्रीय अन्तरसम्बन्धका कार्यक्रमको विकास गर्न जरुरी छ । संयुक्त राष्ट्र सङ्घको बडापत्रमा उल्लेखित लक्ष्य र सिद्धान्तमा आधारित रहेर न्यायपूर्ण र तर्कसङ्गत अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक बन्दोबस्तको स्थापनाको लागि उपयुक्त कदम चाल्न आवश्यक छ ।
जनस्तरको सहकार्य क्षेत्र हो जहाँ सहकार्यको उल्लेखनीय सम्भावना निहीत छ । अन्तर एससीओ पर्यटनको विकासले यो क्षेत्रका जनतालाई एक आपसबारे बुझ्न मद्दत गर्नुका साथै रोजगारको अवसर पनि प्रदान गर्दछ ।
अब पाकिस्तान र भारत दुवै एससीओका सदस्यहरु बनेका छन् । के अब यसले दुई देशबीचको भिन्नता कम गर्न र कुटनीतिक सम्बन्ध सुधारमा मद्दत गर्न सक्छ ?
पाकिस्तान र भारत दुवै एकै वर्ष एससीओको सदस्य बनेका छन् । हामी सहकार्य र विश्वासको सन्दर्भमा साङ्घाई भावनाको सम्मान गर्दछौं । यो पाकिस्तानको विदेश नीतिको निर्देशक सिद्धान्त हो । त्यही भएर पनि हामी एससीओमा समावेश भएका छौं । पाकिस्तानले देश–देशबीच संवाद र शान्तिपूर्ण तरिकाबाट आपसमा भएका द्वन्द्व समाधानको लागि लगातार वकालत गरिरहेको छ । भारत र पाकिस्तानको सन्दर्भमा पनि हामी यही सिद्धान्तको पक्षमा छौं ।
बेइजिङ रिभ्यु जुन ७,२०१८
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *