बधाई, शुभकामना तथा मार्गदर्शन कार्यक्रम
- श्रावण २१, २०८३
सुर्खेत, २१ साउन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बुधबार नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवस एक कार्यक्रम गरी मनाइएको छ ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य नर्मा गुरुङले किसान सङ्घको स्थापनाको उद्देश्य र ऐतिहासिक महत्वमाथि प्रकाश पार्नुभयो ।
उहाँले चिनियाँ क्रान्तिमा अध्यक्ष माओ त्सेतुङको माओ विचारधारा र किसानवर्गले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्दै मजदुर–किसानवर्गको राजनीतिमा सङ्गठित कार्यकर्ताहरूको निष्ठा र समर्पणको ठुलो महत्व हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “व्यवस्था र सरकारहरू परिवर्तन भए पनि किसानका आधारभूत समस्याहरू कहिल्यै समाधान भएनन् । किसान र श्रमजीवीवर्गको वास्तविक मुक्तिका लागि नेपालमा समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प छैन† त्यसैले सबै कार्यकर्ताहरू यसै लक्ष्यका लागि क्रियाशील हुनुपर्छ ।”
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुलसी खड्काले किसान सङ्घ स्थापनाको ऐतिहासिक पृष्ठभूमि, नेपालको सामाजिक–आर्थिक धरातलमा किसान आन्दोलनको आवश्यकता र नेपाल मजदुर किसान पार्टीले सञ्चालन गर्दै आएका ऐतिहासिक किसान सङ्घर्षहरूबारे स्पष्ट पार्नुभयो ।
नेमकिपा सुर्खेत जिल्ला समिति अध्यक्ष हरिबहादुर बोहराले जनवर्गीय सङ्गठनहरू पार्टीका हात–खुट्टा सरह भएकाले सधैँ गतिशील हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतका सचिव देवीराम सिजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टी जिल्ला समिति उपाध्यक्ष अक्कल राना, पार्टी वीरेन्द्रनगर नगर समितिका संयोजक शेरबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय सदस्य बिजुकला राना, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतका संयोजक महेन्द्र सिजापति, नेपाल क्रान्तिकारी किसान सङ्घ दैलेखका पूर्वअध्यक्ष तिलक आचार्यलगायतले बोल्नुभएको थियो ।
Leave a Reply