सहिदले बगाएको रगतमा होलि खेल्नेहरूदेखि सावधान !
- श्रावण २१, २०८३
भर्खरै वल्र्डकप हुँदा अर्जेन्टिना, स्पेनलगायत आफूलाई मनपर्ने धेरै देशका ठुला झन्डा टोलै ढाक्ने गरी झुण्ड्याइयो । तर, ती देशहरूका राजनीति र विदेश नीतिका बारेमा कुरा गर्दा किन झस्किन्छ र नाक खुम्च्याइन्छ ?
अन्यायमा परेका व्यक्ति, समूह, समुदाय वा देश जहाँसुकैका होस् तिनीहरूका बारेमा कसैले बोल्नु वा सहानुभूति व्यक्त गरिदिनु वा उनीहरूका पक्षमा ऐक्यबद्धता जनाइदिन सडकमै प्रदर्शन गर्नु संसारमा चल्ने सामान्य मानवीय प्रचलन हो । यस्तो कामका लागि कुनै राजनीतिक विचार वा सिद्धान्तले प्रेरित हुनुपर्छ भन्ने होइन । कुनै पनि विचार मिल्ने समूह (Like-minded People) ले पनि गर्ने गर्छ । विश्वमा यस्ता अन्यायका घटनाहरू हुँदा होस् या अन्तर्राष्ट्रिय मञ्चमा महाशक्तिहरूको तानातानी हुँदा होस्, नेपाली र नेपालले तटस्थ नबसी आफ्नो कुरा राख्दै आएको देखिन्छ । तर, गाजा, प्यालेस्टिन र ‘अरु देशको बारे हामी नेपाल र नेपालीले किन बोल्नुप¥यो ?’ भन्ने भाष्यलाई एक जमातले सामाजिक सञ्जालमार्फत स्थापित गर्न खोजेको देखिन्छ । यसमा युवाहरू मात्र होइन बुद्धिजीवी र आफूलाई पण्डित ठान्नेहरूसमेत अग्रपङ्क्तिमा देखिन्छन् । अल्पज्ञानले भनिएको वा अन्य कुनै कारणले, यो खोजिनीतिकै विषय हो ।
हामी कुरा गर्ने बेलामा ग्लोबल वल्र्ड, ग्लोबल भिलेज, खुला बजार, खुला समाज, सिङ्गो संसारको कुरा गर्न रुचाउँछौँ । विदेशको खाना, शिक्षा, पहिरन, सिनेमा, रहनसहनका बारेमा चर्चा गर्न र त्यहाँ घुमफिर गर्न रुचाउँछौँ, त्यहाँको संस्कृति, सङ्गीत र नाचको प्रशंसा गर्छौँ । त्यहाँको भूगोलको बारेमा कुरा गर्न मनपराउँछौँ । भर्खरै वल्र्डकप हुँदा अर्जेन्टिना, स्पेनलगायत आफूलाई मनपर्ने धेरै देशका ठुलठुला झन्डा टोलै ढाक्ने गरी झुन्ड्याइयो । तर, ती देशका जनता, राजनीति र विदेश नीतिका बारेमा कुरा गर्दा किन झस्किन्छ र नाक खुम्च्याइन्छ ?
विद्यालय र कलेजमा समाज विज्ञान वा सामाजिक शिक्षाअन्तर्गत नेपालको बारेमा मात्र होइन, भूगोल, इतिहास, राजनीति, अर्थशास्त्रसमेत पढाइएको हुन्छ । साहित्यमा नेपालको साहित्य र साहित्यकारबाहेक विश्व साहित्यसमेतको पढाइ हुन्छ । सेक्सपियर, बाइरोन र किट्स
(बेलायती), एन्टोन चेखोभ, गोर्की र दोस्तोभोस्की (रुसी), ह्युगो, अल्र्बट कामु (फ्रान्सिसी), टैगोर (भारत), लु सुन
(चीन) र अरु धेरै देशका शास्त्रीय र आधुनिक कवि र साहित्यकारका बारेमा पढ्छौँ । ती कृतिले उक्त देशको समाजको चित्रण मात्र गरेका हुँदैनन् । बरु, आदर्श समाजको परिकल्पनासमेत पाठकलाई पस्किरहेको हुन्छ । अनि, हामी हाम्रो समाज, छिमेकीको समाज र सात समुद्रपारिको समाजलाई तुलना गरेर कुरा बुझ्न लालायित हुन्छौँ । यसरी विश्व साहित्यले पनि संसारलाई एउटा डोरीले उनेको हुन्छ ।
राजनीतिशास्त्र, कानुन, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा दर्शनशास्त्रका विद्यार्थीले संसारलाई तुलना गरेरै अध्ययन गर्नुपर्ने हुन्छ । कूटनीतिज्ञले दुई देशको सम्बन्धलाई सन्तुलनमा राख्न यी विषयहरू अध्ययन गर्नुपर्छ । साहित्य, राजनीति, कूटनीति वा अन्तर्राष्ट्रिय सम्बन्धबाहेक कहिलेकाहीँ कुनै दुई देशबिच ‘मानवियता’ र ‘भाइचारा’ सबभन्दा बलियो पक्ष भएर उभिएको देखिन्छ । यहाँ आर्थिक वा राजनीतिक सम्बन्ध गौण हुन्छ । इटालीले सन् १९३१ मा अफ्रिकी देश एब्सिनिया (हालको इथोपिया) लाई हमला गर्दा नेपालका मानवतावादी जय पृथ्वीबहादुर सिंह गरिब इथोपियाली जनतालाई मद्दत गर्न राहत सामग्री र विषालु ग्यासबाट बच्न मास्क लिएर त्यहाँ पुगेका थिए ।
सन् १९५१ मा नेपाल राणा शासनबाट स्वतन्त्र भएपछि भारत, चीन, रुस, अमेरिका, बेलायतलगायतले विकासका पूर्वाधार तथा शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै मद्दत गरे । रुसले विशेष गरी इन्जिनियर र चिकित्सा विज्ञानको क्षेत्रमा हजारौँ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा रुसमै पढाएर मद्दत गरे । नेपालमा ४६ सालको बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको लागि पनि धेरै विदेशबाट नैतिक समर्थन प्राप्त भएको थियो । सन् १९६१ मा नेपालबाट संयुक्त राष्ट्रसङ्घका लागि पहिलो राजदूत ऋषिकेश शाह थिए । तात्कालीन महासचिव ड्यागहेमरसोल्डको विमान दुर्घनामा भएको मृत्युको जाँचबुझ आयोगको संयोजक उनी नै थिए । तात्कालीन सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबिच संयुक्त राष्ट्रसङ्घको बैठकमा वाक्युद्ध हुँदा सोभियत सङ्घका राष्ट्रपति निकिता ख्रुश्चेभले टेबलमा जुत्ता बजार्दा नेपालका शाहले प्रजातान्त्रिक व्यवस्थामा विश्वास गर्ने महाशक्तिहरूलाई यस्तो व्यवहार नसुहाउने भन्दै आपत्ति जनाएका थिए ।
यसरी आजभन्दा ६५ वर्ष पहिले नै आर्थिक, राजनीतिक र कूटनैटिक हिसाबले विश्व मञ्चमा सम्बन्ध गाँसिसकेको देश आज संसारका घटनासँग कसरी बेखबर र तटस्थ रहन सक्छ ? आजका युवा पिँढी विश्व जगत्सँग अझ नजिक छन् । तर, उनीहरू नै अर्का देशका बारेमा हामीले किन बोल्नुपर्यो भनी कराउँछन् । यो विरोधाभाषले युवा पुस्ता आफैमा अन्तर्राष्ट्रिय कानुन, स्वतन्त्र र सार्वभौमिकताका सिद्धान्त र कूटनीति अनि इतिहासको चेतको कमी भएको प्रस्ट्याउँछ । राणाकालमा नेपालीले अरु देशका बारेमा होइन आफ्नै देशका बारेमा बोल्ने अधिकार पाएका थिएनन् । आज ‘अरु देशका बारेमा बोल्नुहुँदैन’ भन्ने भाष्य निर्माण गर्न खोज्नु अल्पज्ञानको परिणाम मात्र हो वा कुनै पर्दा पछाडिका शक्तिको सेवा गर्न खोजेको हो ? यो थप अध्ययनको विषय हुनसक्छ ।
भक्तपुरका बारेमा भन्नुपर्दा पञ्चायत कालमै पनि विदेशी थिचोमिचो र साम्राज्यवादीहरूको हैकम र साना देशहरूमाथि अन्यायपूर्ण युद्धको विरोधमा भक्तपुरका जनताले आवाज उठाएका थिए । यस्तो वास्तविकतालाई नबुझी हामीले विदेशका बारेमा बोल्नुहुँदैन भन्ने गलत भाष्य निर्माण गर्दा थिचोमिचो गर्नेको पक्षमा वकालत गरेको ठहरिन्छ, जुन आफैमा अपराध हो । हामीले अरुलाई पर्दा बोलेनौँ भने हामीलाई पर्ने बेलामा पनि अरुले बोल्ने छैन ।
त्यसैले, भक्तपुरका जनताले महिनौँसम्म देशभरमा प्यालेस्टिनी जनताको पक्षमा प्रदर्शनहरू गरे । आज संसारभरका ठुलठुला सहर तथा विश्वविद्यालयहरूमा लाखौँ लाख जनता प्यालेस्टिनी जनतामाथि इजरायल सरकारको क्रूर, बर्बर आक्रमण र हत्या विरुद्ध प्रदर्शनहरू गर्दैछन् । तर, नेपालका कति कम्युनिस्ट भन्ने पार्टीहरू या अन्य बुद्धिजीवीहरू लाजै नमानी मौन साधिरहेका छन् । भर्खरै सकिएको वल्र्डकपको फाइनल खेलमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले खुलेरै प्यालेस्टिनी जनताको पक्ष, समर्थन तथा अमेरिकी राष्ट्रपति ट्रम्पको विरोध गरेका कारण विश्वका जनता उनको पक्षमा उभिए र आखिरमा स्पेनको पक्षमा जनमत उर्लियो र जीत पनि स्पेनको भयो ।
Leave a Reply