भर्खरै :

इमानदारिता, निःस्वार्थ भावना र सत्यको पक्षमा उभिनु नै नेमकिपा कार्यकर्ताको मुख्य पुँजी

इमानदारिता, निःस्वार्थ भावना र सत्यको पक्षमा उभिनु नै नेमकिपा कार्यकर्ताको मुख्य पुँजी

भक्तपुर, २२ साउन । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर वडा नं. ७ स्थित इनाचो–चोर्चा समितिको आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टी सेल सङ्गठनको मुख्य आधार र जग भएको बताउनुभयो । तल्लो तहका सेलहरू सक्रिय भएमा मात्रै सिङ्गो सङ्गठन सुदृढ हुने उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले इमानदारिता, निःस्वार्थ भावना र सत्यको पक्षमा उभिनु नै नेमकिपा कार्यकर्ताको मुख्य पुँजी भएको उल्लेख गर्दै भन्नुभयो, “नेमकिपाका कार्यकर्ता निःस्वार्थ रूपमा जनताको सेवामा खट्ने भएकाले विरोधीहरू सधैँ सशङ्कित हुने गर्छन् । स्वर्ग वा नर्क जहाँ गए पनि जनताको सेवा गर्नु नै पार्टीको मुख्य लक्ष्य हो ।”
उहाँले ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि पैदल मार्गको व्यवस्थापनजस्ता विषयमा सेल बैठकहरूमा छलफल हुनुपर्ने उल्लेख गर्दै नयाँ पुस्तामा आत्मविश्वास बढाउन अङ्ग्रेजी भाषाको विकास र विस्तार आवश्यक रहेको धारणा पनि राख्नुभयो ।
राज्यले बहुमत जनतालाई राहत दिनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले कार्यकर्ताहरूमा अर्थशास्त्रको ज्ञान हुनु आवश्यक छ भन्नुभयो । पार्टीले लेबी नियमित उठाउनु भनेको कार्यकर्ताबिचको सम्पर्कलाई जीवन्त र सक्रिय राख्नु भएको उहाँको भनाइ थियो ।
जनताको विश्वास जित्नु नै कार्यकर्ताको मुख्य दायित्व रहेको उल्लेख गर्दै नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पार्टी कार्यकर्तामा नम्रता, राम्रो संस्कार र असल व्यवहार हुनुपर्नेमा जोड दिनुभयो । सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “कुनै पनि मानिस पूर्ण हुँदैन तर आफूले जानेको कुरालाई व्यवहारमा पूर्णता दिने प्रयास गर्नुपर्छ । अरू सर्वसाधारणको मन र विश्वास जित्नु नै हाम्रो मुख्य दायित्व हो ।”
उहाँले पार्टीको अनुशासन, नीति र कर्तव्यबारे स्पष्ट पार्दै सूचनामा पहुँच राख्ने र राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा जानकार रहने फराकिलो सोच कार्यकर्तामा हुनुपर्ने बताउनुभयो । देशको अहित हुने कार्य गर्दै वर्तमान सरकार जनताप्रति जवाफदेही नरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति कृष्णगोविन्द खाइजुले प्रत्येक पार्टी सदस्यले पार्टीको नीति, सिद्धान्त र उद्देश्य ग्रहण गरी काम गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विष्णुराम दुमरुले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव चन्द्रप्रसाद दुमरुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *