भर्खरै :

गाईजात्रा सापारुमा प्रदर्शन हुने सांस्कृतिक प्रस्तुतिसम्बन्धी संस्कृतिकर्मीहरूको भेला

गाईजात्रा सापारुमा प्रदर्शन हुने सांस्कृतिक प्रस्तुतिसम्बन्धी संस्कृतिकर्मीहरूको भेला

भक्तपुर, २२ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा २०८३ सालको गाईजात्रा सापारु पर्वमा प्रदर्शन गरिने सांस्कृतिक प्रस्तुतिहरूलाई थप व्यवस्थित, मौलिक र मर्यादित बनाउन शुक्रबार संस्कृतिकर्मीहरूको भेला भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरले मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धनमा निरन्तर काम गरिरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले हाल ६ वटा अभौतिक सांस्कृतिक सम्पदालाई सूचिकृत गर्ने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले गाईजात्रा भक्तपुरको मौलिक पहिचान भएको उल्लेख गर्दै यसको मौलिकता जोगाउन बर्सेनि प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट प्रस्तुतिलाई पुरस्कृत गर्दै आएको बताउनुभयो । यस अभियानले स्थानीय संस्कृतिलाई राष्ट्रियस्तरसम्म स्थापित गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले गाईजात्रा केवल मनोरञ्जनको पर्व नभई राजनीतिक चेतनास्तर उकास्ने ऐतिहासिक अभियानका रूपमा समेत स्थापित भएको उल्लेख गर्दै युवा पुस्तालाई अनुशासित र जिम्मेवार बनाउने माध्यमका रूपमा यस पर्वलाई लिनुपर्ने धारणा राख्नुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको इतिहासलाई सयौँ वर्षसम्म जीवन्त राख्ने उद्देश्यले नगरपालिकाले सांस्कृतिक संरक्षणका विभिन्न अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै सांस्कृतिक गुरूहरूको सम्मान गर्ने परम्परासमेत बसालिएको बताउनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले गाईजात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रस्तुतिको मूल्याङ्कन प्रणाली धेरै वर्षदेखि सञ्चालन हुँदै आएको बताउँदै समयसँगै अझ परिष्कृत तथा व्यवस्थित बन्दै गएको जानकारी दिनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रमको उद्देश्य, मूल्याङ्कन प्रक्रिया तथा सहभागितासम्बन्धी विस्तृतमा जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागी सांस्कृतिक गुरुहरूले गाईजात्रा भक्तपुरको मौलिक पहिचान भएकोले यसको मौलिक स्वरूप जोगाउँदै अनुशासित र मर्यादित ढङ्गले प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *