भर्खरै :

पहिलेको र वर्तमान सरकारको धारणा एउटै

पहिलेको र वर्तमान सरकारको धारणा एउटै

भक्तपुर, २३ साउन । “समाजमा वर्गरहेसम्म वर्गसङ्घर्ष भइरहन्छ । अन्तिममा कामदारवर्गको नै विजय हुन्छ । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सले यो शिक्षा संसारका जनतालाई दिनुभएको छ ।”
उक्त विचार नेमकिपाका सचिव प्रेम सुवालले नेमकिपा–इनाचो–चोर्चा समितिद्वारा शुक्रबार आयोजित प्रशिक्षण तथा पुनर्गठन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
आर्थिक सवाल र विदेश नीतिमा अहिलेको सरकार र पहिलेका सरकारहरूबिच तात्विक भिन्नता नरहेको सचिव सुवालले बताउनुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले कार्यकर्ताहरू पार्टीको सिद्धान्त र विचार आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै चीन र रुसको वैचारिक द्वन्द्वले नेपालको कम्युनिस्ट पार्टीमा विभाजन भएको बताउनुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा मतभेद हुनाका कारणबारे प्रस्ट पार्दै उहाँले नेमकिपा स्थापनाका आधारहरूबारे स्पष्ट धारणा राख्नुभयो ।
पार्टी नगर समिति भक्तपुरका प्रतिनिधि नारायणप्रसाद त्वानाबासुले कार्यकर्ताहरूमा पार्टीको सिद्धान्त र देश विदेशमा घटिरहेको घटनाबारे जानकार भइरहनुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णगोविन्द खाइजुले पार्टीले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा आन्दोलन गरेको प्रसङ्ग उल्लेख गर्दै कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक ज्ञानबाट पोख्त बनाउन पार्टी प्रकाशन र प्रशिक्षण सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा एकाइ समितिका उपाध्यक्ष विष्णुराम दुमरुले प्रशिक्षणको आवश्यकताबारे चर्चा गर्नुभयो ।
भेलाले कृष्णगोविन्द खाइजुकै अध्यक्षतामा २० सदस्यीय नेमकिपा इनाचो–चोर्चा एकाइ समिति पुनर्गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *