भर्खरै :

शिक्षा र स्वास्थ्यमा राज्यले कर लगाउनु गलत

शिक्षा र स्वास्थ्यमा राज्यले कर लगाउनु गलत

भक्तपुर, २४ साउन । सहिद राजकुमार स्मृति पुस्तकालय र वडा नं २ कार्यालयको संयुक्त समन्वयमा वडाका युवा विद्यार्थीहरूको शनिबार वडाको शैक्षिक विकास विषयक छलफल तथा अन्तरक्रियाको आयोजना गरियो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सरकारले ५ प्रतिशतदेखि १३ प्रतिशतसम्म विद्युत्, पानीलगायत शैक्षिक क्षेत्रमा लगाइएको कर उपयुक्त नभएको बताउनुभयो । दलाई लामाको जन्म दिवसमा ‘स्वतन्त्र’ तिब्बतको नारा लगाउनु अन्तर्राष्ट्रिय कूटनीति विपरीत भएको र नेपालमा चीनविरोधी कार्य भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । सुनसरीमा धर्मको नाउँमा दङ्गाफसाद गर्नु अमेरिका र भारतजस्ता साम्राज्यवादी र विस्तारवादी देशहरूले मधेसी नेताहरूलाई हातमा लिई गरेको प्रयासको उहाँले भत्र्सना गर्नुभयो ।
उहाँले समाज राम्रो बनाउन विद्यालय शिक्षा राम्रो हुनुपर्ने, अग्रजहरूले स्थापना गरेका वाचनालय, पुस्तकालय तथा सार्वजनिक सङ्घसंस्थाहरू हेर्नलायक, बस्नलायक बनाउन थप कदमहरू बनाउनुपर्ने औचित्यबारे प्रकाश पार्नुभयो । समाजमा नेतृत्व क्षमताको अभावलाई चिर्दै अध्ययनलाई जोड दिनुपर्ने र नेमकिपाले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यअनुरूप निरन्तर लागिरहेको उहाँले बताउनुभयो । वडाका विद्यार्थीहरूको युवा जगतको बौद्धिक खुराक बढाउन अध्ययन गोष्ठी, साहित्य गोष्ठी र गतिविधिहरूलाई नयाँ पुस्तामैत्री बनाउनुपर्ने आवश्यकताबारे पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा भनपा २ नं वडाध्यक्ष हरिप्रसाद बासुकलाले जीवनमा पैसाको महत्व भए पनि पैसाले मात्रै चल्न नसक्ने भनाइ राख्दै असल मन र वचन पैसाभन्दा महत्वपूर्ण हुन्छ भन्नुभयो । भक्तपुर नगरपालिकाले शैक्षिक ऋणमार्फत समुदायका छोराछोरीलाई उच्च शिक्षा प्राप्त गर्ने अवसर दिएको र भक्तपुरकै सेवाका लागि उक्त शैक्षिक ऋण उपयोग भइरहेको उहाँले बताउनुभयो । भदौ ४ गते ¥यालीसहित इन्द्रायणी द्यः छेँको क्षमा पूजा हुने भएकोले सबैको सक्रिय सहभागिताको लागि उहाँले अनुरोध गर्नुभयो ।
शैक्षिक विकास समाजका अध्यक्ष डा. रत्नसुन्दर लासिवाले शिक्षा विषयवस्तुको ज्ञान र प्रविधि मैत्री विकासले हुने उल्लेख गर्दै युवाहरूले अध्ययनलाई पनि निरन्तरता दिनुपर्ने आवश्यकताबारे प्रकाश पार्नुभयो ।
वडाका युवा सरोज दथेपुथेले देशकोस्थिति हेर्दा युवाहरूमा साँच्चिकैको ज्ञानको अभाव भएको धारणा व्यक्त गर्नुभयो ।
सहिद राजकुमार स्मृति पुस्तकालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति कृष्णप्रसाद सुवालले शिक्षाको माध्यमबाट सामाजिक रूपान्तरण र समृद्ध जीवनको आधार सिर्जना गरी हाम्रो भविष्य शैक्षिक सुधारमा सामूहिक प्रयास हुनुपर्ने स्पष्ट पार्नुभयो ।
नवज्वाला लासिवाले विद्यमान देशको बारेमा स्लाइड सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा नेहा भटुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *