भर्खरै :

आस्था थियटरमा ‘छेरावती द्यो’ को विशेष प्रदर्शन

आस्था थियटरमा ‘छेरावती द्यो’ को विशेष प्रदर्शन

भक्तपुर, २४ साउन । प्रसिद्ध हास्यव्यङ्ग्य कलाकार तथा साहित्यकार रामशेखर नकर्मीद्वारा लिखित तथा ख्वप कलेजबाट प्रस्तुत ख्याल ‘छेरावती द्यो’ को विशेष शो शनिबार आस्था थियटरमा प्रदर्शनी गरियो । नाट्यकर्मी समाजको आयोजनामा साउन ९ गतेदेखि १९ गतेसम्म सञ्चालित रामशेखरया ख्याल ब्वज्यामा प्रस्तुत गरिएको उक्त ख्याल भक्तपुर नगरपालिका वडा नं. ९ का स्थानीय दाफा भजन तथा सांस्कृतिक गतिविधिमा संलग्न अग्रज सांस्कृतिककर्मी तथा किसान अगुवा र महिलाहरूका लागि भनपा ९ वडा कार्यालयको विशेष अनुरोधमा शनिबार ख्याल प्रदर्शनी गरिएको थियो । स्थानीय जनताको उत्साहजनक उपस्थितिमा एकैदिन दुई शो गरिएको आयोजकले बताएको छ ।
कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरको तत्कालीन समाजको चित्रण गरी झाडापखाला, हैजाजस्ता सरुवा रोगबाट भक्तपुरवासी जनतालाई जोगाउन तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ता र सामाजिक अगुवाहरूले सफाइ अभियान सञ्चालन गरेको विषयमा ख्यालले जीवन्त प्रस्तुति दिएको चर्चा गर्दै स्थानीय अग्रजहरूलाई आफूले गरेका सामाजिक कार्यहरूको स्मरणलाई पुनः ताजा गराउन तथा ख्यालमार्फत नयाँ पुस्तालाई भक्तपुरको इतिहास र हालसम्मको प्रगतिबारे जानकारी गराउन ख्याल प्रदर्शनी गरेको उल्लेख गर्नुभयो ।
पूर्ववडाध्यक्ष कृष्णभक्त लवजूले प्रसिद्ध साहित्यकार रामशेखर नकर्मीको ख्यालको चर्चा गर्दै नयाँ पुस्ताले उत्कृष्ट अभिनयमार्फत सामाजिक उत्तरदायित्वबोध गराउन उत्प्रेरित गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
भनपा ३ का वडाध्यक्ष राजकृष्ण गोराले ख्यालमार्फत अझै समाजमा देखिएका विकृति विसङ्गतिलाई तीखो व्यङ्ग्य प्रहार गरेको चर्चा गर्दै जनताको दैनिक जनजीवनमा आइपर्ने समस्या समाधानका लागि भक्तपुर नगरपलिकाले सधैँ जनताकै साथमा रहेर काम गरिरहेको बताउनुभयो ।
आयोजक नाट्यकर्मी समाजका अध्यक्ष लक्ष्मीप्रसाद चवालले रामशेखर नकर्मीको साहित्यिक योगदानबारे जानकारी दिँदै उहाँकै सम्मानमा ११ दिनसम्म उहाँद्वारा रचित विभिन्न १० वटा ख्यालहरू प्रस्तुत गरिएको बताउनुभयो ।
शनिबारको दुइटै विशेष शोमा ८० वर्षमाथिका अग्रज सांस्कृतिक गुरु तथा किसान अगुवा र महिला दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *