युवा–विद्यार्थीहरूमा आफ्नो गाउँ नगर आफैले बनाउछौँ भन्ने भावना हुनुपर्ने
- श्रावण २३, २०८३
भक्तपुर, २४ साउन । बुक क्लव भक्तपुरको आयोजनामा शनिबार संरचनात्मक लाभांश नामक पुस्तकका लेखक सञ्जीव उप्रेतीसँग अन्तरसंवाद भयो ।
उक्त कार्यक्रममा लेखक उप्रेतीले पुस्तकमा चरम गरिबी, समलिङ्गी तथा शारीरिक अशक्तताको कारण राज्यबाट पाउनुपर्ने सेवा सुविधामा मधेसी दलित महिला वर्गीय, भौगोलिक, लैङ्गिक, भाषिक, जातीयता तथा राजनीतिक कुनै पनि लाभांश नपाउने तर अन्य वा पहाडी दलितले मातृभाषा नेपाली भएपछि सहजै राज्यबाट पाउने आरक्षणजस्ता संरचनात्मक लाभांश सहजै पाइरहेको यथार्थ प्रस्तुत गरेको बताउनुभयो ।
असमानता चिर्दै बराबर तथा समतामूलक समाजको लागि संरचनात्मक सुविधा वा लाभांश दिन जतिसुकै राम्रो कानुन र संविधान ल्याए तापनि कार्यान्वयन पक्ष कमजोर हुँदा युगौँदेखि पिछडिएका समुदाय, वर्गको समतामूलक धरातल निर्माणका लागि आवश्यक भएको आरक्षणमा आफ्नै नातागोतालाई मिलाउने अभ्यासको चर्चा लेखकले पुस्तकमा रहेको जानकारी दिनुभयो ।
लेखक उप्रेतीले राज्यको संरचनात्मक सुविधा वा लाभांशमा समानता नभए पनि केही समय त्यतिकै राख्दा समाजमा शान्ति केही समय रहने तर उक्त समाज अन्यायमा आधारित भए विद्रोह सुरु भएर सभ्य समाजको निर्माण हुने आशा पुस्तकमा चर्चा गरेको बताउनुभयो ।
पठन संस्कृतिलाई बढावा दिने उद्देश्यबमोजिम प्रत्येक महिना सञ्चालन हुँदै आएको पुस्तक अन्तरसंवादमा लेखक तथा साहित्यकार अभय श्रेष्ठ, त्रिलोक प्रजापति, राजन फेलु, राजन भण्डारी तथा रणबहादुर राणाले अन्तरक्रिया गर्नुभएको थियो ।
गोर्खा इको प्यानलले सहयोग गरेको उक्त कार्यक्रममा बुक क्लवका अध्यक्ष दिनेश प्रधानले लेखक सञ्जीव उप्रेतीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
Leave a Reply