भर्खरै :

युवाहरू राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ

युवाहरू राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ

काठमाडौँ, २६ साउन । सरकारको नेतृत्व युवाहरूको हातमा छ । युवाहरूले देशको नेतृत्व सही ढङ्गले अघि बढाउनुपर्छ भन्ने जनताको चाहना हो । युवाहरू सक्षम, दूरदर्शी, देश र जनताप्रति समर्पित भएनन्, युवाहरू सही दिशातर्फ लागेनन् र अनुशासित, देशभक्त, जिम्मेदार बनेनन् भने फेरि देश अन्ततिर मोड्न बेर लाग्दैन । देशमा अराजक, हिंसा र उच्छृङ्खल गतिविधि बढेर समाज असुरक्षित हुन्छ, अशान्त हुन्छ । युवाहरूको नेतृत्वमा सरकार भएको सहीजस्तो लागे पनि सरकारले सही दिशा दिन सकेन भने परिणाम राम्रो हुँदैन । युवाहरूमा जोश र जाँगर मात्र भएर हुँदैन† बडो गम्भीर, संवेदनशील, कर्तव्यपरायण र व्यावहारिक हुनुपर्छ । मुख्य कुरा सरकारको नेतृत्व कसले गरेको छ भन्दा पनि कुन वर्गको हितको निम्ति कसरी गरिरहेको छ भन्ने हो ।
युवा राजनीतिबाट विमुख हुनु हुँदैन । राजनीतिप्रति प्रेरित भएरै अघि बढ्नुपर्छ । सरकारको नेतृत्व गर्ने युवाहरू राजनीतिबाट अलग्ग हुन सक्दैनन् । तर, विडम्बना ! सरकारको नेतृत्व गरिरहेका तिनै युवाहरू राजनीतिबाट अलग्ग हुनुपर्ने तर्क राख्छन् । राजनीतिलाई सफा, पारदर्शी र जनउत्तरदायी बनाउन युवा पुस्ता पनि अघि बढ्नुपर्छ । युवाहरू सक्रिय भए पनि जनउत्तरदायी भएनन्† जिम्मेवार बनेनन् भने सरकारले युवाहरूलाई तह लगाउन सक्दैन; नियन्त्रणमा राख्न सक्दैन । राजनीतिलाई सत्ता प्राप्त गर्ने माध्यम बनाइनु हुँदैन । पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर युवाहरू राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ । सामाजिक सञ्जालमा टिप्पणी गरेर वा असन्तुष्टि व्यक्त गरेर समाज परिवर्तन हुने होइन ।
युवा विद्यार्थीहरूको नेतृत्वमा सरकार भएकै बेला युवा विद्यार्थीहरूको आन्दोलन बढी भयो । सरकारको कार्यशैली र व्यवहार देखेर युवा–विद्यार्थीहरू नै असन्तुष्ट देखिए । यही बेला पछिल्लो पटक धार्मिक द्वन्द्व भयो† धार्मिक द्वन्द्वमा युवाहरू उठे; विरोधमा लागे र गोली लागेर युवाहरू निधन भए । ग्यासको अभाव र महँगीको विरोधमा युवा विद्यार्थीहरू नै सडकमा उत्रे । सुकुमवासीहरूको बस्ती उठिवासमा पनि युवाहरू सडकमा उत्रे । विद्यार्थीहरूले विरोध प्रदर्शन गरे । यसबाहेक विभिन्न पेसा, सेवा र क्षेत्रमा संलग्न विभिन्न मानिसहरू पनि सरकारको विरोधमा छन् । नयाँ सरकार गठन भएको यो छोटो समयमै सरकारको विरोधमा धेरै आन्दोलन भयो । संसद् पनि लामो समयसम्म अवरोध भइरह्यो; विरोध भइरह्यो ।
यसबारे सत्तारुढ दलका नेता र मन्त्रीहरूले आत्म समीक्षा गरिरहेका होलान् । सत्तारुढ दल र सरकारको नेतृत्व गरिरहेका पार्टी सभापति र प्रधानमन्त्रीबिच आ–आफ्ना कमजोरी औँल्याइरहेको होला । सरकार र सत्तारुढ दलको तालमेल नमिलेर पार्टी सभापति र प्रधानमन्त्रीबिच आन्तरिक विवाद चर्केको खबर प्रकाशमा नआएको होइन । मन्त्री हेरेफेर गर्ने, प्रमले पार्टीको कमजोरी र पार्टी सभापतिले सरकारको कमजोरी औँल्याएर दुखेसो पोखेको खबर पनि सञ्चारमाध्यममा आएकै हो । उखु कृषक, मिटरब्याज पीडित, कर्मचारी, नर्स, चिकित्सकहरूको आन्दोलन पनि यही बेला भयो । भोको पेटले देश बन्दैन, जनताको चुलो बल्न दे भन्दै ग्यासको सहज र नियमित आपूर्तिको माग गर्दै व्यास नगरपालिका ३ स्थित अनसन चौतारी दमौलीमा माधवप्रसाद अघिकारी अनसनमा बसे । ग्यासजस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति हुनुपर्छ† अभावका कारण सर्वसाधारण जनताले दुःख पाउने अवस्था अन्त्य गर्नुपर्छ भन्ने उनको माग हो ।
लामो समयसम्म ग्यासको अभाव भएपछि उपभोक्ताहरू समस्यामा परेको यथार्थ हो । मिटरब्याजमा पैसा लगाउने सप्तरीको खडक नगरपालिका १० बस्ने फूलकुमारीको धन्दाले घरबारविहीन बनेका दिरिपलाल साहले आत्महत्याको बाटो रोजे । दिरिपलालले लिएको दुई लाख ऋणको घरघडेरीसहितको एक कट्ठा पाँच धुर जग्गा बेचेर पनि नपुगेको पीडाले आफ्नो ज्यान फाल्नुपर्ने अवस्था आयो । विगतको सरकारले समस्या समाधान नगरेपछि अहिलेको सरकारले सामाधान गर्नुपर्ने हो । हिजो सरकारले केही गरेन भनी ठुलठुलो स्वरमा बोल्ने वर्तमान सरकारका नेताहरू अहिले कुन दुलामा छन् ? सरकारको नेतृत्व त फेरियो । तर, काममा यो सरकारले पनि कुनै फड्को मार्न सकेन । सरकारको कार्यशैली, अपरिपक्व निर्णय र अदूरदर्शिताको कारण जनताले सहजताको अनुभूति गर्न पाएनन् । जनताले भन्न थाले, ‘जति जोगी आए पनि कानै चिरेका ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *