युवाहरू राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ
- श्रावण २६, २०८३
भक्तपुर, २६ साउन । चण्डेश्वरी धिमे पुचःको छैठौँ वार्षिक साधारणसभा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार उद्घाटन गर्नुभयो ।
सभामा प्रमुख प्रजापतिले भक्तपुर नगर कलाकारै कलाकार र सम्पदा नै सम्पदा भएको नगर हो भन्नुभयो । अब इन्जिनियर नै इन्जिनियर भएको नगरको रूपमा चिनाउन अघि बढिरहेको उल्लेख गर्दै उहाँले बाजागाजामा नयाँ पुस्ताले धेरै ठाउँ पाउनु राम्रो कदम भएको बताउनुभयो ।
कला र संस्कृति सँगसँगै यहाँको स्थानीय उत्पादन जुजु धौ, काष्ठकला, भादगाउँ टोपी आदि जोगाउन र विकास गर्न लाग्नुपर्नेमा जोड दिँदै उहाँले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाएर यहाँको मौलिक शैलीका सम्पदाहरू संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।
साम्राज्यवादी देशले अहिले पनि प्यालेस्टिनी जनतामाथि जातीय नरसंहार गरिरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले कला र संस्कृति संरक्षण गर्ने र सामाजिक कार्य गर्ने भावनाको विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सामाजिक सञ्जालले गर्दा बालबच्चादेखि सबै जनाको बानी बिग्रेको बारे चिन्ता उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा अतिथि प्रजापतिले पुचःका गाइचा प्याखं कलाकारहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply