भर्खरै :

विकल प्रजापतिको ‘तग्वःगां’ पुस्तकभित्रका रहस्यहरू

  • श्रावण २६, २०८३
  • अर्चना छुकां
  • विचार
विकल प्रजापतिको ‘तग्वःगां’ पुस्तकभित्रका रहस्यहरू

कवि विकल प्रजापतिका ‘तग्वःगां’ र ‘रातो चस्मा’ दुई पुस्तकहरू आफ्नो हातमा पर्दा केही समयदेखि विविध कारणले लेखनलाई समयसापेक्ष निरन्तरता दिन नसकेको बेलामा लेखनकार्य निरन्तरतामा आफ्नो कलम निरन्तर अघि बढाउन प्रेरणा मिलेको छ । समय परिस्थिति र पेसाले टाढै रहे पनि पुस्तक पढेर समीक्षा लेख्ने प्रयास गरेको छु ।
हरेक दिन साँझको समयमा दरबार स्क्वायरमा बजाइने तग्वःगां पहिले पहिले राजा महाराजाहरूले जनतालाई विशेष सन्देश दिनुपर्दा बजाइने गरिन्थ्यो । यस्तै विशेष अनि पृथक सन्देश बोकेका छन् कवि विकल प्रजापतिका कृतिहरू ‘तग्वःगां’ र ‘रातो चस्मा’ ।
कविका दुई छोरीको शुभविवाहको अवसरमा पुस्तक प्रकाशनमा ल्याइएको सम्भवतः पहिलो घटना होला । त्यसमाथि परम्परागत छ वटा गुठीका २६ नाइकेहरू (ज्येष्ठ नागरिकहरू) बाट लोकार्पण गरिनु आफैमा पृथक र उदाहरणीय छ । त्यो आफैमा एक प्रगतिशील पाइला मान्नुपर्छ । अनि सोही मेसोमा गुठीका वयोवृद्ध २६ जना नाइकेहरूलाई दोसल्ला ओढाएर सम्मान गरी नेवारी परम्परागत गुठी भोजन गराइएको विषयलाई समयले उच्च मूल्याङ्कन गर्ने नै छ । यस मानेमा एक प्रगतिशील पिताको तर्फबाट नवविवाहित छोरीहरूका लागि ‘अमूल्य क्वसः’ (दाइजो) र गुठीका लागि ‘मनसुवा’ बनेको छ ‘तग्वःगां’ र ‘रातो चस्मा’ ।
परम्परागत भजन संस्कृतिलाई जगेर्ना गर्न सम्पदाप्रेमी, संस्कृतिप्रेमीहरूको ऊर्जा एवम् उत्साह हो– ‘तग्वःगां’ । देश, काल र परिवेशमा सिर्जिएका आम नागरिकको हक, हित, अधिकार र कर्तव्यको थैली हो– ‘रातो चस्मा’ ।
‘तग्वःगां’ गीतिसङ्ग्रहमा २८ वटा नेपालभाषाका गीत र १८ वटा नेपाली भाषाका गीत सङ्ग्रहित छन् । नेपालभाषाका धेरैजसो गीतहरूले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक महत्वलाई जिवन्तता दिने वा उजागर गर्ने प्रयास गरेको सरााहनीय छ । केही गीतहरूले स्थानीय संस्कृति, स्थानीय चाडपर्व र स्थानीय खेलहरूको गाथा गाएका छन् । जसमा ‘लाय्कूया तग्वःगां’, ‘तिका झ्यालं स्वयां’, ‘भैलखः जात्रा स्वःवाङा’, ‘ल्हुया बजि नःदयेक’, ‘ङाताप्वल्हँ गजुलय्’ शीर्षकका गीतहरूले स्थानीय सम्पदा, संस्कृति र चाडपर्वको साङगीतिक चर्चा गाएका छन् भने ‘देग लिउने सुलाकासा’ ले स्थानीय खेलबारे, ‘स्वन्तिया मुतुमारी’ गीतले स्थानीय जनताको घरघरमा पाक्ने विभिन्न प्रकारका रोटीहरूबारे गाएका छन् । ‘नकतिनि मोहनि हाङा’, ‘स्वनिगःया म्हसिका’, ‘ह्यङ्गु सिन्हय्’ जस्ता गीतले स्थानीय चाडपर्व र भोजभतेरबारे प्रशस्ति गाएको सुनिन्छ । नेपाल भाषाका केही र नेपाली भाषाका धेरैजसो गीतहरूमा कविको देशभक्ति भावना छचल्किएका छन् ।
न्ह्यःखा हालानं न्ह्यःसू मतां
छेँखा वालानं मिखां मखां
हि बः वयानं स्या मचपुं
नुगलय् सुयानं लुमदां ।

अर्थात्
भाले बास्दा पनि बिउँझेको होइन
घरै रित्याइँदा पनि आँखाले देखेन
रगतै बग्दा पनि नदुखेका
मुटुमै घोच्दा पनि नचेतेका ।

हिमालको छाया, बुद्धको काया
यो छातीभित्र नेपालको माया ।

मैले लेखेँ देशको कथा, गीत राष्ट्रियताको
लेख्दै छु यसैमा पटकथा, हिमाल, पहाड, तराईको ।

कवि व्यक्तित्वमा गीतमै देशभक्ति, गीतमै राष्ट्रियता अटाउन सकिने रहेछ । विदेशी थिचोमिचोका विरुद्ध सशक्त हतियार बन्दो रहेछ कवि विकल प्रजापतिका गीतहरूमा । सत्तामा पुगेका दल र नेताहरूले भारतीय मिचाहा प्रवृत्तिबारे राष्ट्र सङ्घजस्तो अन्तर्राष्ट्रिय मञ्चमा बोल्न नसकेको अवस्थामा कवि विकलले ‘ब्याक अफ इन्डिया’ गीत लेखेर रेकर्डिङ गराएको प्रशंसनीय छ ।

किल्ला फाल्ने छिमेकी, सीमा सार्ने इन्डिया
नेपालको भूकम्पमा नाकाबन्दी इन्डिया । ब्याक अफ इन्डिया !

किसानका गीतहरू, मजदुरका गीतहरू, श्रमजीवीका गीतहरू वास्तवमा श्रमप्रति सम्मान गर्ने व्यक्तिले मात्र लेख्न गाउन सक्छ । जीवन जगतका सामान्त्न्दा सामान्य संवेदनशील विषयमा पनि सरल शब्दहरूको प्रयोगले गीतलाई सरस बनाउने प्रयास गरेको देखिन्छ ।

आफूलाई आफै राम्रो, अरुको स्वाँस ह्वास्स आउँछ
सबको नजर एकै भए, जीवन दुनियाँ स्वर्ग बन्छ ।

सङ्ग्रहित आधाआधी गीतहरूमा सङ्गीत भरिएको रहेछ । गीतसँगै लय पनि राखेको भए सुनमा सुगन्ध हुने थियो । समग्रमा भन्नुपर्दा ऐतिहासिक भक्तपुरको पहिचान बोकेको कृति हो ‘तग्वःगां’ । उदाहरणका लागि लुँहिति, बहः, सुलाकासा, कसिमला, न्ह्यःखा, सिउचा, सिसावुसा, लाखामारि, कलमारि, म्हुचामारि, सिनाज्या, स्याक्वत्याक्व, कलाचा, चाखःचा, तिका झ्यः, म्हेखा झ्यः, भैलखःझ्यः, किसिझ्यः, मनसुवा आदि ।
नकतिनि मोहनि हाङा, स्वन्ति नं थ्यङ्क वल
तःमि चिमि ज्यापु ज्यामि, नखाःचखां लय् वल ।
(भर्खर त विजया दशमी मनायौँ, दीपावली पनि आइसक्यो
धनी गरिब कामदार सबमा चाडपर्वले खुसी ल्यायो ।)

मतिनाया सुकुना मता, भिंतुनाया सःथ्वयेक
न्हुदँया थःगु पह, ख्येँ धौ न्यां स्वगं ।
(मायाको सुकुन्डा बाली, शुभकामनाको नारा उराली
नयाँ वर्षको आफ्नै पहिचान, सगुनमा अण्डा दही रक्सी ।)

गीतका कुनै कुनै हरफहरू नेपाल भाषाको उखानटुक्काको रूपमा प्रयोग भएको र प्रयोग गर्न सकिने खालका छन् । जस्तैः–
“द्यलां द्यः पितिङ हल”
“न्ह्यखाः हालानं न्हयःसू मतां”
“छेखाँ वालानं मिखां मखां”
“द्यञ्चाय् च्वङः यांचां ङाकः।”
“वः वसां न्ह्यः मरु, फय्े वःसां न्ह्यः मरु”
“ल्हुकुल्हुकु महाद्यवं लुकुलुक नल ।”
“म्हुतुई धौ फिक च्वङां ।”
“क्वेँ मरुगु म्येचः न्ह्याथाय् वांसां ठिक्क”
गीतहरूमा भक्तपुर नगरका विशेष स्थानहरूको पहिचान गरी समेटिएको छ । जस्तैः– लायकु, लुध्वाखा, तःपुखु, नःपुखु, लानिपुखु, पलेस्वँपुखु, ङातापोल्हँ, तमाःरि, कुम्हःत्वः, दतात्रय, भैलद्य आदि ।
कविले गीतमार्फत आफ्नो भाषा, लिपि, सम्पदा जोगाउनुपर्ने चिन्ता मात्र नभई उपत्यकाका बहुमत आदिवासीप्रति सांस्कृतिक तथा राजनीतिक अतिक्रमणमा परेकोमा यसरी आक्रोश व्यक्त गरेका छन् ।
लागा झीगु, तजिलजि झीगु
लाय्कु गथे मेपुंके लात ?
भाषा व लिपि सम्पदा झीगु
अथेनं गथे लिपा लात ?
(इलाका हाम्रो संस्कृति हाम्रो
दरवार कसरी अरुसँग पुग्यो ?
भाषा लिपि सम्पदा हाम्रो
यद्यपि कसरी पछि परियो ?)

कविले गीतमा जनताको अधिकार, लोकतन्त्र र सामाजिक समानताको भावना व्यक्त गरेका छन् । व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिनुपर्ने तथा आफ्नो अधिकारका लागि जनता सचेत हुनुपर्ने सन्देश ठाउँठाउँमा छन् । साथै कविले सेवा, सहयोग र मानवताको लागि गरेका आह्वानले समाजप्रतिको संवेदनशीलता उजागर गरेको छ ।

भिंगु मति तये माल
सेवाया भावना दयेमाल
इलय् मनं खाने फःसाः
धर्ति स्वर्ग जुयेफ पासा ।
(राम्रो विचार राख्नु प¥यो
सेवाको भावना हुनु प¥यो
समयमा विचार गर्न सके
धर्ति स्वर्ग बन्न सक्छ, साथी ।)

गीतमा पुर्खाको वीरता, इतिहास तथा सांस्कृतिक सम्पदाप्रति गौरव व्यक्त गरिएको छ । आफ्नो इतिहासलाई बिर्सन नहुने र पुर्खाको योगदानलाई सम्मान गर्नुपर्ने सन्देश छन्–
कला, संस्कृति नां जगु, देय्या लाँ बियच्वन
वीरपुर्खाया हिंच्वगु इतिहास गना तङच्वन ।
(कला संस्कृतिमा धनी देशले बाटो बिराइरहेछ
वीरपुर्खाको रक्तरञ्जित इतिहास कता बिलाएछ ?)

समाजमा सत्य र न्याय स्थापना गर्न साहसी मानिसहरूको आवश्यकता पर्दछ । न्यायका लागि सङ्घर्ष तथा आवश्यकता पर्दा त्याग र बलिदान गर्नुपर्ने विचार व्यक्त गर्दै स्वाभिमान अभिमान जोगाउने सन्देशसहित बलिदानी गीत गाएका छन् गीतहरूले ।

देय्या सेवा याये फतलय्, त्वतेमते छं गबलें
मनुया गुण याये फतलय्, त्वतेमते छं गुबलें ।
(देशको सेवा गर्न तिमी कहिल्यै नचुक्नू
मानवको गुण गर्न तिमी कहिल्यै नचुक्नू ।)

समाजवादी गणतन्त्रमा जनताको प्रजातन्त्र समृद्धिको मार्ग हो । राजनीतिक बेथिति र राजनीतिक विकृतिका कारक नेताहरूले गरेका भ्रष्टाचारका काण्डहरू बिर्सनु हुँदैन । कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि नेपाली जनता आफै लाग्नुपर्छ भनी सन्देश दिएका छन् गीतहरूले ।
अग्रज पिँढीका कथाहरूले जसरी भावी पिँढीलाई इतिहास सिकाउँछ त्यसरी नै ‘तग्वःगां’ गीतिसङ्ग्रहले भक्तपुरको कला, संस्कृति, संस्कार अनि देशको राजनीतिक बेथिति हटाउन देशभक्तिको गाथा सुनाउँदछ ।
सिङ्गो भक्तपुर, सिङ्गो राष्ट्र अनि सिँगो जीवन एउटा पुस्तकमा अटाउन सकिने त हैन । तर, पनि कला सम्पदा संस्कृतिलाई जीवन्तता दिन र राजनीतिक बेथितिलाई खबरदारी गर्दै देशभक्ति भावना जगाउनको निमित्त हाम्रा कलमहरू रोकिनु हुन्न । त्यसैले बेइमानी, व्यभिचारी तथा बुँख्याचाहरूलाई खबरदारी गर्न मुट्ठी त कस्नु नै छ । कला, संस्कृति र वीरताका गाथाहरूसहितका गीतहरू ऐतिहासिक फल्चाहरूमा भजनसँगै गुञ्जिरहोस् । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *