भर्खरै :

खाना पकाउने ग्यास र कालोबजारी नियन्त्रण गर्न माग गर्दै सुर्खेत प्रशासनमा ज्ञापनपत्र

खाना पकाउने ग्यास र कालोबजारी नियन्त्रण गर्न माग गर्दै सुर्खेत प्रशासनमा ज्ञापनपत्र

सुर्खेत, २७ साउन । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति, कालोबजारी नियन्त्रण तथा अस्वाभाविक महँगी रोक्न माग गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ (नेक्राविसङ्घ) र नेपाल क्रान्तिकारी युवा सङ्घ (नेक्रायुसङ्घ) सुर्खेतले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका युवा तथा विद्यार्थीहरूको संयुक्त टोलीले ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा पछिल्लो एक महिनादेखि ग्यासको चरम अभावका कारण सर्वसाधारण घण्टौसम्म लाइनमा बस्नुपरेको, बिचौलिया र कालोबजारीका कारण बढी मूल्य तिर्नुपर्ने बाध्यता सिर्जना भएको र यसले विद्यार्थी तथा श्रमजीवी मजदुरहरूलाई चरम सास्ती भएको उल्लेख गरिएको छ ।
ग्यासको सहज आपूर्ति, दोषीमाथि कडा कारबाही, प्रभावकारी बजार अनुगमन, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण र भारतीय कम्पनी जीएमआरलाई दिइएको कर्णाली जलविद्युत् आयोजना खारेज गरी स्वदेशी विद्युत् उत्पादकमार्फत विद्युत् उत्पादन बढाउँदै ग्यास आयात घटाइनुपर्ने जस्ता मागहरू ज्ञापनपत्रमा उठाइएका छन् ।
उक्त ज्ञापनपत्र नेपाल क्रान्तिकारी युवा सङ्घ, सुर्खेतकी कार्यवाहक अध्यक्ष छत्रिकाकुमारी वि.क.ले पढेर सुनाउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी अनुपस्थित रहेकोले सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले युवा तथा विद्यार्थीहरूले उठाएका विषयहरू अत्यन्तै महत्वपूर्ण रहेको र मागप्रति प्रशासनको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले प्राप्त ज्ञापनपत्रलाई तत्कालै माथिल्लो निकायमा पठाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
ज्ञापनपत्र बुझाउने क्रममा नेक्राविसङ्घ र नेक्रायुसङ्घका जिल्लास्तरीय नेता तथा युवा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *