भर्खरै :

नयाँ पुस्तामा सामाजिक उत्तरदायित्वबोध गराउन प्रेरित गर्नुपर्नेमा जोड

नयाँ पुस्तामा सामाजिक उत्तरदायित्वबोध गराउन प्रेरित गर्नुपर्नेमा जोड

भक्तपुर, ३१ साउन । भक्तपुरको मौलिक जात्रा सापारु (गाईजात्रा) को इतिहास, संस्कृति र पर्यटन प्रवद्र्धनको विषयमा युवा सर्जकहरूबिच आइतबार कार्यशाला गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर परम्परागत कला र संस्कृतिमा धनी भएको चर्चा गर्दै मौलिक कला र संस्कृतिबारे यथार्थ विवरण सामाजिक सञ्जाल र लेख रचनामार्फत सही ढङ्गबाट प्रचारप्रसार गर्न युवाहरूलाई अनुरोध गर्नुभयो ।
उहाँले युवा पुस्तामा नकारात्मक दृष्टिकोणको विकास हुँदा सामाजिक, राजनैतिक विकृतिहरू फैलिरहेकोमा सचेत हुन आग्रह गर्दै इतिहास संस्कृतिको गहिरो अध्ययन गरी नयाँ पुस्तामा सामाजिक उत्तरदायित्वबोध गराउन प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले गुन्हीपुन्ही सापारुबारे ऐतिहासिक किंवदन्ती र दस्ताबेजहरूको जानकारी दिनुभयो । नेवाः सभ्यताको उत्कृष्ट नमुना सापारु भएको उल्लेख गर्दै सापारुमा समयानुकूल परिवर्तन आइरहेको बताउनुभयो । उहाँले सापारुको विकृतिबाट जोगिन नयाँ पुस्ताबिच रचनात्मक सन्देश प्रवाह गर्न अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले गुन्हीपुन्ही सापारुको अवधिमा नगरभरि हुने सांस्कृतिक गतिविधिहरूबारे जानकारी दिनुभयो । उहाँले यस अवधिमा भक्तपुरमा परम्परादेखि चल्दै आएको साँदेश गीत, सिलु गीत, सितलामाजु गीतबारे थप अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष रामसुन्दर भेलेले सापारुमा मृतक परिवारको रुवाइबाट ताहामचा र घिन्ताङघिसी नाच सुरु हुने भएकोले रमाइलोसँगै मानवीय संवेदनशीलताबारे सचेत बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले सांस्कृतिक पर्व जात्राको विषयमा सूचना प्रवाह गर्दा आधिकारिकता खोज्नुपर्ने बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले सांस्कृतिक पर्व, जात्रालाई धर्मको रूपमा भन्दा सभ्यताको प्रतीकको रूपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले सापारुको समयमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सही सूचना प्रवाह गर्न र संस्कार र संस्कृतिको वैज्ञानिक अर्थसहितको मौलिक कथा बताउन आग्रह गर्नुभयो ।
कार्यशालामा भक्तपुरको कला, संस्कृति, जीवनशैली र यहाँको भौतिक अभौतिक सम्पदा र स्थानीय उत्पादनको विषयमा डिजिटल प्रवद्र्धन गर्ने कन्टेन्ट क्रियटरहरू सहभागी भएका थिए ।
सहभागीहरूबाट प्राप्त जिज्ञासा र प्रश्नहरूको स्रोतव्यक्तिहरू प्रा.डा. श्रेष्ठ, भक्तपुर पर्यटन विकास समितिका शर्मा र भेलेले विभिन्न विषय प्रसङ्गसहित प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *