भर्खरै :

लोभ र डरमा देशविरोधी काममा संलग्न हुन नहुने शिक्षा दिनु आवश्यक

लोभ र डरमा देशविरोधी काममा संलग्न हुन नहुने शिक्षा दिनु आवश्यक

भक्तपुर, ३१ साउन । बासु माध्यमिक विद्यालयले विद्यालयको प्रगतिबारे जानकारी दिने उद्देश्यले आइतबार स्थानीय अभिभावक, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी र शिक्षकहरूबिच भेटघाट कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाका अग्रजहरूले भक्तपुरमा विद्यालय र कलेज स्थापना र सञ्चालनमा उल्लेखनीय योगदान गर्नुभएको र ख्वप कलेजहरू यही योगदानको उपलब्धि भएको बताउनुभयो ।
सचिव सुवालले विद्यालय र कलेजहरूले नयाँ पुस्तालाई देश र जनताको निःस्वार्थ सेवा गर्ने, मद्यपान, धूमपान, लागूपदार्थ, जुवातासबाट टाढा रहने, लोभ र डरमा देशविरोधी काममा संलग्न हुन नहुने शिक्षा दिनु आवश्यक भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गतेको उपद्रवबारे पूर्वानुमान गर्न नसकेका तत्कालीन सरकारको नेतृत्वमा रहेकाहरू असफल छन् । देशभर आगजनी हुनुमा तिनीहरू पनि जिम्मेवार छन् ।”
वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले कुनै पनि सङ्घ संस्था विकास गर्न त्यसका सञ्चालक परिवारहरू लगनशील भई लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यालयको प्रगति हुने नहुने कुरा शिक्षक–शिक्षिकाहरूको क्रियाशीलतामा भरपर्ने बताउनुभयो ।
“विद्यालयप्रति समर्पित भएर लागेको विद्यालय प्रगति हुनेमा कुनै शङ्का छैन । सम्पूर्ण शिक्षक शिक्षिकाहरूको आ–आफ्नै जिम्मेवारी हुन्छ । ती जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने हो भने विद्यालय प्रगति हुन धेरै समय लाग्दैन”, उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द बासुकलाले विद्यालयलाई विकास र प्रगतिको निम्ति शिक्षक शिक्षिकाहरूले थप मेहनत गर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रअ रविलाल प्रधानले विद्यालयको स्थितिबारे चर्चा गर्दै विद्यालय प्रगतिको लागि तल्लीन भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयको प्रगति विवरण प्रस्तुति प्लस टु इन्चार्ज पुनेन्द्रप्रसाद कुसीले गर्नुभएको सो कार्यक्रममा मावि इन्चार्ज रामकुमार निरौला, सहायक प्र.अ राजकुमार ह्यांैमिखा, निमावि इन्चार्ज रामहरि ताम्राकार र शिक्षक विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *