भर्खरै :

‘चे, फिडेलको संस्मरण’ पुस्तकमाथि विचार गोष्ठी सम्पन्न

‘चे, फिडेलको संस्मरण’ पुस्तकमाथि विचार गोष्ठी सम्पन्न

सुर्खेत, ३१ साउन । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समिति, सुर्खेतको आयोजनामा क्युवाली क्रान्तिका महान् नायक फिडेल क्यास्ट्रोको १०० औँ जन्मजयन्तीको अवसरमा ‘चे, फिडेलको संस्मरण’ पुस्तकमाथि शनिबार अध्ययन गोष्ठी भयो ।
नेमकिपा वीरेन्द्रनगर नगर समितिका संयोजक शेरबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समितिका सदस्य मुनबहादुर विकले गर्नुभएको थियो भने अर्का सदस्य अमरबहादुर भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तुलसी खड्काले क्युवाली क्रान्तिमा फिडेल क्यास्ट्रो र चे ग्वेभाराको योगदानबारे चर्चा गर्दै देशको वर्तमान राजनीतिक तथा सामाजिक अवस्था पहिलेभन्दा नाजुक बन्दै गएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले ग्यास, मल, तेललगायतका अत्यावश्यक वस्तु लिन सर्वसाधारणले सबैतिर लामो लाइन बस्नुपर्ने बाध्यता छ ।”
उहाँले युवा तथा विद्यार्थीहरू कुनै पनि लोभलालचमा नपरी निरन्तर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिँदै लोभीपापी कार्यकर्ता भए सङ्गठन स्थिर हुन नसक्ने र अन्ततः देउवाकै जस्तो हालत हुने चेतावनी दिनुभयो ।
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले नेपाली जनताले क्युवाली जनता र नेपाली नेताहरूले क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोबाट देशप्रेम सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेमकिपा कर्णाली प्रदेश समितिका सदस्य धनेन्द्र विकले क्युवाली क्रान्तिमा चे र फिडेलले खेल्नुभएको भूमिका र त्यसबाट नेपाली क्रान्तिकारीहरूले सिक्नुपर्ने महत्वपूर्ण पाठहरूबारे प्रकाश पार्नुभयो ।
अतिथि गणेश खड्काले चे ग्वेभाराको आदर्शबाट सिकेर सङ्गठन विस्तार हुन नसकेका जिल्लाहरूमा गई काम गर्न आफ्ना निजी स्वार्थलाई भन्दा सङ्गठनको हितलाई महत्व दिनुपर्छ भन्ने धारणा राख्नुभयो ।
कार्यक्रममा अतिथि एवम् कर्णाली कला साहित्य समाज, सुर्खेतका सदस्य प्रकाश ओझेलले ‘चे, फिडेलको संस्मरण’ पुस्तकको विषयवस्तुमा आधारित रहेर विस्तृत प्रस्तुति दिनुभयो । उहाँले क्रिस्टोफर कोलम्बसको युगदेखि स्पेन–अमेरिका युद्ध, जोसे मार्टीको स्वतन्त्रता सङ्ग्राम, बाटिस्टाको तानशाह शासनको अन्त्य, क्रान्तिपछिको क्युवा र क्युवाली क्रान्तिका उपलब्धिहरूबारे चर्चा गर्नुभयो । चे ग्वेभाराको शहादतपछि बोलिभियाली सरकारले फैलाएका विभिन्न अफवाहहरू र त्यसमाथि फिडेल क्यास्ट्रोले दिएको ऐतिहासिक टेलिभिजन सम्बोधनबारे उहाँले विस्तृत रूपमा जानकारी गराउनुभयो ।
विद्यार्थी महेन्द्र सिजापतीले अन्तर्राष्ट्रवादी क्रान्तिकारी चे ग्वेभारा र उहाँको क्रान्तिकारी योगदानको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा अङ्ग शाहीले समसामयिक राजनीतिक व्यङ्ग्यसहितका चोटिला गजलहरू प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *