सिद्धि गणेश साकोसमा दुईहप्ते एड्भान्स फोटोग्राफी तालिमको समापन
- श्रावण ३१, २०८३
भक्तपुर, ३१ साउन । भक्तपुरको ऐतिहासिक ब्रह्मायणी मन्दिर पुनः निर्माणबारे आइतबार पुरातत्व, इतिहास र संस्कृतिका विज्ञहरू तथा स्थानीय अग्रज व्यक्तित्वहरूबिच छलफल कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा ब्रह्मायणी मन्दिर जीर्ण भएकोले तत्काल पुनःनिर्माण गर्न र त्यसपूर्व विज्ञहरूको टोलीमार्फत अध्ययन अनुसन्धान थाल्न भक्तपुर नगरपालिकालाई अनुरोध गर्ने तथा मन्दिरको मौलिक संरचनाबारे पुराना तथ्य, प्रमाण, फोटो, चित्र आदि कुनै भएमा प्रदान गर्न सार्वजनिक आह्वान गर्ने निर्णय भएको स्रोतले बताएको छ ।
कार्यक्रममा इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले छाने शैलीको मन्दिर नेपालको मौलिक शैली भएको चर्चा गर्दै सभ्यताको विकास क्रमसँगै भक्तपुरमा विभिन्न शैलीका मन्दिरहरू निर्माण हुन थालेको र प्रत्येक शैलीको आफ्नै इतिहास र संस्कृति भएको बताउनुभयो ।
उहाँले ब्रह्मायणी मन्दिरको हालको संरचनाको पनि अभिलेखीकरण गर्दै यसको मौलिक स्वरूप र संरचनाबारे गहन अध्ययन अनुसन्धानको आवश्यकता रहेको चर्चा गर्नुभयो । पुरातात्विक महत्वको अध्ययनपश्चात्को निचोड नै सर्वस्वीकार्य हुने उल्लेख गर्दै नगरवासीहरूको भावना र अध्ययनको निष्कर्षको आधारमा मौलिक शैलीमा ब्रह्मायणी मन्दिर पुनः निर्माण गर्न उहाँले अनुरोध गर्नुभयो ।
प्रा.डा. सिद्धिवीर कर्माचार्यले ब्रह्मायणी मन्दिरमा एक समयमा तन्त्र यज्ञ हुने इतिहास रहेको चर्चा गर्दै अभौतिक सम्पदाको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
सम्पदाविद् रामगोविन्द श्रेष्ठले हाम्रा पुर्खाले संरचनाको स्थिरताको लागि वर्गाकार वा आयाताकारमा मन्दिर निर्माण गरेको चर्चा गर्दै पुर्खाको वैज्ञानिक चेतको सम्मान गर्दै मौलिक शैलीमै मन्दिरको पुनः निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का सम्पदाविद् कृष्णगोपाल प्रजापतिले विभिन्न ठाउँका मन्दिरहरूका उदाहरणहरू प्रस्तुत गर्दै पुरातात्विक अध्ययनपश्चात् मन्दिरको संरचनाबारे टुङ्गो लगाउन सुझाव दिनुभयो ।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका रज्जु हाडाले पुरातात्विक सम्पदा पुनः निर्माणसम्बन्धी विद्यमान ऐन कानुनमा उल्लेखित व्यवस्थाबारे जानकारी दिँदै ठोस प्रमाणको आधारमा सम्पदा पुनः निर्माण गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका सम्पदा शाखाका सरिता धुख्वाले ब्रह्मायणी मन्दिरबारे हालसम्मको अध्ययनबारे प्रस्तुति दिनुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा पूर्व वडाध्यक्षहरू विष्णुबहादुर मानन्धर, विष्णुगोपाल कुसी, कृष्णभक्त लवजु र लक्ष्मीप्रसाद कुसीले ब्रह्मायणी मन्दिरका पुराना अवशेषहरू अहिले पनि विभिन्न मन्दिर र द्योछेँहरूमा प्रयोग भइरहेको अग्रजहरूको भनाइ रहेको बताउँदै छानेशैलीमा मन्दिर पुनः निर्माण गर्दा उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै सामाजिक अग्रजहरू विनोद प्रजापति, कृष्णभक्त प्रजापति, राम प्रजापति विष्णुप्रसाद प्रजापति, रामभक्त ङाकुसीलगायतले ब्रह्मायणी मन्दिर निर्माण र पुनः निर्माणबारे विभिन्न कालखण्डमा भएका योगदानहरूबारे अभिलेखीकरण गर्नुपर्ने, ब्रह्मायणी कुण्ड र घाटको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
Leave a Reply