भर्खरै :

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतलाई भक्तपुरमा स्वागत

त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतलाई भक्तपुरमा स्वागत

भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतलाई स्वागत गर्नुभयो । सोही क्रममा उहाँहरूबिच स्थानीय तहको विकास, सेवा प्रवाह तथा नगरपालिकाबिचको अनुभव आदानप्रदान भयो ।
भेटको क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गर्दै आएका विभिन्न कार्यक्रमबारे जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले नगरभित्रको फोहोरलाई कुहिने र नकुहिने अलग अलग सङ्कलन गरी कुहिने फोहोर प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आएको र उत्पादित मल कृषकहरूलाई सस्तो मूल्यमा वितरण गर्दै आएको बताउनुभयो ।
त्रियुगा नगर प्रमुख बस्नेतले नगरपालिकाको आन्तरिक स्रोत अपेक्षाअनुसार बढाउन नसकिएको बताउनुभयो ।
नगर प्रमुख बस्नेतका अनुसार त्रियुगा नगरपालिका क्षेत्रफलको हिसाबले भक्तपुर नगरपालिकाभन्दा करिब साढे चार गुणा ठुलो भए पनि नगरपालिकाको आन्तरिक आय करिब १५ करोड रूपैयाँको हाराहारीमा रहेको छ ।
ठुलो भूगोल भए पनि पर्याप्त आन्तरिक स्रोत परिचालन गर्न नसक्दा नगरपालिकाको आम्दानी अपेक्षाअनुसार बढ्न नसकेको उहाँले बताउनुभयो ।
नगरपालिकाको आन्तरिक आम्दानी बढाउने प्रमुख क्षेत्रमध्ये बहाल कर पनि रहेको बताउँदै प्राकृतिक स्रोतसाधनअन्तर्गत काठ, गिटी तथा बालुवालगायतका स्रोतबाट समेत आम्दानी भइरहेको र यसको प्रभावकारी व्यवस्थापन र परिचालन भने चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले प्रमुख बस्नेतलाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो । भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, उकेश कवां, राजकृष्ण गोरा र श्यामकृष्ण खत्री तथा उदयपुर पत्रकार महासङ्घका अध्यक्ष भक्तिविलास पोखरेलको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *