नागपोखरीमा नागपञ्चमी विशेष कार्यक्रम
- भाद्र १, २०८३
भक्तपुर, १ भदौ । शुभप्रभात एकल महिला समूहको आयोजनामा भक्तपुरमा छरिएर रहेका एकल महिलाहरूको भेला गरी कानुनी साक्षरतासम्बन्धी प्रशिक्षण सम्पन्न भयो । नेपालमा एकल महिलाप्रति हेर्ने दृष्टिकोण र कानुनी उपचारको बन्दोबस्तको विषयमा ख्वप कलेज अफ ल को तर्फबाट प्रशिक्षण दिइएको थियो ।
उक्त कार्यक्रमको सुरूआतमा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले हाम्रो समाजमा अहिले पनि एकल महिलाहरूलाई अबला र बेसहाराको रूपमा हेर्ने गरिएको उल्लेख गर्दै आर्थिक रूपमा आत्मनिर्भर नभई समानताको अनुभूति गर्न कठिन हुने बताउनुभयो ।
उहाँले पुँजीवादी र पितृसत्तात्मक समाजमा महिला हक अधिकारको नारा व्यवहारमा लागू हुन नसक्ने प्रस्ट पार्दै आर्थिक समानतासहितको न्यायिक समाज निर्माणका लागि महिलाहरू सङ्गठित भई सङ्घर्ष गर्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिक र एकल महिलाहरूको कारूणिक अवस्था रहेका केही उदाहरणहरू प्रस्तुत गर्दै तिनीहरूको समस्या समाधानका लागि वडा कार्यालयको तर्फबाट भएगरेका कार्यहरूको जानकारी गराउनुभयो ।
ख्वप कलेज अफ ल का प्राचार्य अधिवक्ता अनिता जधारीले नेपालको कानुनले विधुवालाई मात्र एकल महिला नभनी ३५ वर्ष नाघेका अविवाहित महिला र माना चामल छुट्टिएर भिन्न बसेका महिलाहरू पनि एकल महिलाको परिभाषाभित्र समेटेको उल्लेख गर्दै सरकारको तर्फबाट नै एकल महिला कोष सञ्चालन कार्यविधि र एकल महिलाहरूलाई बिरामी हुँदा सरकारी अस्पतालमा दिइने सुविधाबारे जानकारी गराउनुभयो ।
उहाँले सम्मानित जीवन जिउने अधिकार सबैलाई भएको चर्चा गर्दै लिङ्ग, जात, क्षेत्र, धर्मको आधारमा गरिने विभेद र शोषणको विरोधमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष दयालक्ष्मी प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ख्वप कलेज अफ लका विद्यार्थीहरू राज प्रजापति, सनम फैजू र दीपिका लवजूले आधारभूत कानुनी शिक्षा र महिला हक अधिकारबारे प्रस्तुतीकरणसहित प्रशिक्षण दिनुभएको थियो ।
Leave a Reply