भर्खरै :

नागपोखरीमा नागपञ्चमी विशेष कार्यक्रम

नागपोखरीमा नागपञ्चमी विशेष कार्यक्रम

भक्तपुर, १ भदौ । भक्तपुर नगरपालिका–१० स्थित नागपोखरीमा नागपञ्चमीको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १० कार्यलयको आयोजना र नागपोखरी सुधार समितिको सहयोगमा सोमबार नागपञ्चमी विशेष कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रकृति र जनजीवनबिच गहिरो सम्बन्ध रहेको बताउँदै मानव समाजको विकासमा प्रकृतिको महत्वपूर्ण अन्तरसम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिँदै आएको र बाजाका बोलहरू लिपिबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिँदै उहाँले भक्तपुर पोखरीहरूको नगरी भएको र यहाँका पोखरी तथा मौलिक संस्कृतिको आफ्नै विशिष्ट पहिचान रहेको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले राम्रो संस्कारको विकास गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम तथा पूजासहितको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले समाजमा देखिँदै आएका सांस्कृतिक विकृति क्रमशः हटाउँदै मौलिक संस्कार र संस्कृति संरक्षणमा जोड दिनुपर्ने बताउँदै सम्पदा संरक्षणको आफ्नै महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले पोखरीको संरक्षणले वातावरण सुधार, विपद् व्यवस्थापन, भूमिगत जल व्यवस्थापन तथा तापक्रम व्यवस्थापनमा योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा भनपा ६ का वडाध्यक्ष हरिराम सुवालले नयाँ पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण गर्न यस्ता गतिविधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
नागपञ्चमीको अवसरमा दिनभर भजन तथा विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *