सरकारको उपस्थिति अनुभूति भएन
- भाद्र २, २०८३
विदेशबाट शिक्षित केही नयाँ इन्जिनियरहरूले बनाएका नक्सा र काम गराउँदा बेमेललाई केलाउँदा नेपाली डकर्मी कामदारहरू अचम्म मान्छन् । विदेशबाट शिक्षित उनीहरू सूर्यविनायक, चाँगुनारायण र अन्य मन्दिरहरूजस्तै नेपालका अन्य मन्दिर, नगर वा बस्तीहरूको खुड्किलाको काम गराउँदा माथिबाट सुरु गराउँदा रहेछन् । तर, नेपालीहरू तलबाट सुरु गराउँदा रहेछन् । अनि विदेशबाट शिक्षित इन्जिनियरहरू लाजले राजीनामा दिएर जान्छन् । ससाना पुल पुलेसा बनाउँदा पनि सरकारको ठेक्का प्राप्त ठेकेदारका इन्जिनियरहरू पनि एउटै बाढीले पुलको ‘नामो निसान’ बाँकी नरहँदा लाजले भागेका थिए । सम्भवतः सिंहदरबारका मन्त्री र ठूलाबडा यस्ता व्यावहारिक जानकारीबाट बेखबर हुन्छन् किनभने सिंहदरबार पुग्ने अधिकांश महाशयहरू सम्पन्न परिवारबाट आएका हुन्छन् ।
इन्द्रचोकमा पुराना घरहरू पनि मल्लकालका थिए । घरका लामका दुवैतिरका ढल खोलेको भए बिचको ठुलो सिमेन्टका पाइपहरूको ढलको आवश्यकता हुने थिएन । यही कुरा भक्तपुरको लाय्कुको उत्तरतिरको ब्यासी जाने बाटो र गल्लीमा नयाँ ढल बनाउनु आवश्यकै थिएन । तर, विदेशीले पैसा दियो भन्दैमा त्यस्ता अनावश्यक प्राचीन संरचनाहरू भत्काउन मिल्दैनथ्यो, यस्तै सानो बाटो र गल्लीको दुर्गति दुई तीन वर्षसम्म रह्यो । यसकारण, सिंहदरबार र ठुल्ठुला योजना कार्यालयहरूले विदेशीले दियो भन्दैमा स्थानीय जनतासँग छलफल नगरी काम सुरु गराउँदा भइरहेको बाटोको संरचना तीन चार वर्षसम्म अलपत्र रहेको भक्तपुरका जनताको आफ्नो अनुभव ताजै छ । यस्तो भद्रगोल र अलपत्रको कारण के होला ?
सिंहदरबारबाट पठाइएका हाकिमहरू देश र जनताप्रति भन्दा केन्द्रप्रतिको असन्तुलित बफादारी र जनताको व्यावहारिक समस्याको अज्ञानता हो । माथिल्ला वर्गका युवाहरू आफ्ना घरपरिवारमा बस्नुभन्दा विदेश र काठमाडौँका महँगा विद्यालय र विश्वविद्यालयका चार किल्लाभित्र हुर्केका हुनाले देश र जनता एवं स्थानीय जनताप्रति कहिले केही सरोकारको अनुभव नै गर्न नपाएको परिणाम वर्तमान कार्यशैली हाम्रो प्रशासनको शैली नै हो । यसले जनतालाई पराइ सम्झनु आवश्यक थिएन । तर, भाषा, लवाइ–खवाइ र सांस्कृतिक गतिविधि नै नयाँ भई पराइ सम्झेका हुन्छन् । यसकारण, प्रशासकहरूको व्यवहार स्थानीय जनताको निम्ति विदेशीको जस्तो, सरकारको आँखामा उपत्यका बाहिरका जनता सदा विद्रोहीजस्तो भइरहेको छ । जहिलेसम्म हरेक प्रशासकहरूले आफ्नो मातृभाषाबाहेक नेपाली, अन्य भाषा र संस्कृति बुझेका हुँदैनन् तबसम्म सरकारी पक्ष र साधारण जनताको माझमा भिन्नता मेटाउन धेरै समय लाग्छ । भक्तपुर र सिंहदरबारबिच पराइपन जनताले भोग्दै आएका छन् भने पूर्वका राई, लिम्बु, राजवंशी, तराईका मैथिली, भोजपुरी भाषाभाषाी तथा विभिन्न जिल्लामा छरिएका थारु, गुरुङ, मगर र अनेक अल्पसङ्ख्यक र लोपोन्मुख जातजातिहरूको मनमा शासक र केन्द्रीय प्रशासकहरूप्रति कसरी आत्मीयता र अपनत्व जगाउने होला ?!
हिजो अस्ति शासन व्यवस्था नेपालमा पनि शक्तिले चलाउँथ्यो । तर, शासन चलाउनु भनेको इजरायलले प्यालेस्टिनी र गाजाका जनतालाई दबाउनु शक्ति सिद्धान्तको अमानवीय उदाहरण हो । यो राजनीति होइन – बर्बरता हो । संयुक्त राष्ट्र सङ्घका संस्थापक देश संयुक्त राज्य अमेरिकी जनताको राष्ट्रपतिजस्तो पद सम्हालेका ट्रम्पको भाषा, बोली र व्यवहारले संसारका सबै राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबारहरूलाई आश्चर्य र आतङ्क अनुभव गराएको होला ! तर, शक्तिको अगाडि कूटनैतिक मर्यादा र सिद्धान्ततालाई सबै भुक्तभोगी देशहरूले मानव जातिको जङ्गली अवस्थापछिको बर्बर समाजलाई सम्झेका होलान् भने मनमनले कल्पेको होला ! तर लाचार ! यस्तो स्थिति लामो समय नरहला सभ्य समाजमा !
नगरपालिका र गाउँपालिकाले के के गर्नु हुन्छ र के के हुँदैन यसको सीमा के हो र कहिले स्वायत्तता पाउने हो भन्ने जानकारी हुने खालको केन्द्रले तालिम दिनु आवश्यक छ । मेयर, वडाध्यक्ष र वडा सदस्यहरू ‘तानाशाहहरू’ होइनन् जनताबाट निर्वाचित सदस्य हुन् । सारा जनता समाजवादी र साम्यवादी व्यवस्थाका जस्ता सचेत जनताजस्तै अहिले हामीले आफूलाई पाउने कुरै भएन । तर, सरकार आफैंले ‘आवास क्षेत्र, व्यापार क्षेत्र र प्राचीन सांस्कृतिक क्षेत्र’ बारे प्रस्ट पार्ने र नगरका हरेक कालोपत्रे स–साना सडकहरू राजमार्ग होइनन्, १०–१२ पाङ्ग्रे ठुलो भार बोकेका बाहनहरू निषेध गर्नु आवश्यक अनुभव गर्नु जनतालाई शिक्षित गर्नु हो । रातरातभरि सरकारसँग स्वीकृति लिएको वा नलिएको थाहै नदिई कल–कारखानाहरूको आवाज आउने मेसिन चालू भएको अनुभव स्थानीय जनताको छ । कथंकदाचित कुनै विस्फोट भई दुर्घटना भएपछि मात्र हामीले ‘जिल्ला प्रशासन कार्यालय’ कहाँ छ भनी खोज्ने हो र ? सबैले सोचौँ !
Leave a Reply