विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने
- भाद्र २४, २०८३
भक्तपुर, २ असार । सर्वहारा वर्गका गुरू कार्ल माक्र्स जन्मको द्विशतवार्षिकीको अवसरमा शनिबार इञ्जिनियर समाज नेपालले अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले ‘कम्युनिष्ट घोषणापत्र’ वर्तमान पुँजीवादी व्यवस्थालाई अन्त्य गर्ने र कामदार वर्गको समाजवादी व्यवस्था स्थापना गर्ने सङ्घर्षको हतियार भएको बताउनुभयो ।
नेपालमा विकसित पुँजीवादी व्यवस्थाबारे चर्चा गर्दै उहाँले पुँजीपतिहरूलाई असीमित पैसा कमाउने छुट दिएको र सरकारलाई तिर्नुपर्ने कर माफी दिएकोमा विरोध गर्नुभयो ।
पुँजीपति वर्गकै हितमा सम्पत्ति शुद्धिकरण, स्वयं कर निर्धारण, कर छुटलगायतका कानुन सरकारले पारित गर्दा नेमकिपा एक्लैले संसदमा सङ्घर्ष गरेको र विपक्षमा मत दिएको चर्चा गर्दै अध्यक्ष रोहितले पुँजीवादी व्यवस्थामा हरेक ऐन–कानुन धनीहरूकै पक्षमा हुने बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा सरकारका हरेक अङ्गमा भ्रष्टाचार हुने औंल्याउँदै उहाँले नेपालमा एक दिनमात्र भ्रष्टाचार रोक्न सके शिक्षालाई पूर्णरूपमा निःशुल्क गर्न पैसा पुग्ने बताउनुभयो ।
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले पुँजीवादी व्यवस्थामा आउने सङ्कटसँगै संसारमा कम्युनिष्ट घोषणापत्रको अध्ययन बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुँजीवादी व्यवस्थामा हरेक दश वर्षमा आर्थिक सङ्कट आउने गर्छ । समाजवादी बन्दोबस्तले मात्र समाजमा देखिएका समस्याहरू समाधान गर्न सक्छ ।’
माक्र्स र एंगेल्सले लेख्नुभएको कम्युनिष्ट घोषणापत्रले समाज विकासको नियमलाई स्पष्ट पारेको उल्लेख गर्दै सचिव सुवालले कम्युनिष्ट घोषणापत्रमार्फत् सर्वहारा वर्गलाई मुक्तिको शिक्षा दिएको बताउनुभयो ।
कामदार जनताको हितको लागि राजनीतिक क्रान्तिले मात्र नपुग्ने हुँदा सामाजिक क्रान्ति गर्नु अपरिहार्य छ । उत्पादनका मुख्य मुख्य साधन र स्रोत सामाजिकीकरण गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
समसामयिक विषयमा बोल्दै सांसद सुवालले भन्नुभयो, ‘सरकारले प्रगतिशील कर उठाउन सकेको छैन । प्रमाणपत्र धितो र विदेशमा सीप सिकेर स्वदेश फर्केका युवाहरूलाई ऋण दिने सरकारको कुरा भूकम्प पीडितलाई ऋण दिने जस्तै झूटा हो । सारमा यो सरकारले जनताको हितमा काम गरेको छैन ।
कार्यक्रममा समाजका सदस्यहरू नरेश खत्रीले कम्युनिष्ट घोषणापत्रको पृष्ठभूमि र घोषणापत्रको प्रथम खण्ड, ‘पुँजीपति र मजदुर’बारे, रवीन्द्र फोजूले द्वितीय खण्ड ‘मजदुर र कम्युनिष्टबारे, सुजन माकले समाजवादी र कम्युनिष्ट साहित्यबारे, र सुनिल दुवालले ‘विरोधी पार्टीहरूसँग कम्युनिष्टहरूको सम्बन्ध’ बारे बोल्नुभएको थियो ।
कार्यक्रममा अमिशङ्कर रञ्जित र गणेशराम ध्वजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply