चाँगुमा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम
- भाद्र ७, २०८३
भक्तपुर, ७ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नपा वडा नं. ७, बागेश्वरीको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाले देश र जनताको हितमा निःस्वार्थ रूपमा सेवा गरेको कारण पञ्चहरूलाई डाहा र इष्र्या भई भक्तपुर काण्ड गराई नेमकिपाका नेता तथा कार्यकर्तालाई फसाइएको हो भन्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्था जालीफटाहा र षड्यन्त्रकारीहरूको सञ्चालक समिति भएकोले भक्तपुर काण्डजस्तो अर्काे काण्ड गराई नेमकिपाका कार्यकर्ताहरूलाई फेरि फसाउने सम्भावनालाई ध्यानमा राखी कार्यकर्ताहरू सचेत, सङ्गठित र सङ्घर्षशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘जो आगोसँग खेल्छ, ऊ आगोमै मर्छ, जो पानीसँग खेल्छ, ऊ पानीमै मर्छ’ भनेझैँ नेमकिपालाई समाप्त पार्न बुनेको षड्यन्त्रमा षड्यन्त्रकारी पञ्चायती व्यवस्था आफै २०४६ सालको जनआन्दोलनबाट समाप्त हुनपुग्यो, उहाँले भन्नुभयो ।
उहाँले रास्वपा सरकारले देश र जनताको हितमा रोजगार तथा सीपमूलक कार्यक्रमहरू ल्याउन नसकेको कारण बर्सेनि लाखौँ युवाहरू रोजगारको निम्ति बिदेसिन बाध्य भएको बताउनुभयो ।
देशमा समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापनाको लागि नेमकिपाको स्थापना भएकोले उक्त व्यवस्थाको लागि कामदारवर्गका जनतालाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिक रूपमा परिपक्व बनाउने कार्यमा लाग्नुका साथै सचेत, सजग, सङ्गठित र सङ्घर्षशील भावना जगाउने कार्यमा लागिपरेको कुरा उहाँले उल्लेख गर्नुभयो ।
नेमकिपा जिल्ला समिति भक्तपुरका सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले वाग्मती प्रदेशमा भएका विकृति, विसङ्गति, बेथिति, अनियमितता, भ्रष्टाचार र पक्षपातको विषयमा चर्चा गर्नुभयो । उहाँले राजनीतिक र सैद्धान्तिक रूपमा परिपक्व बन्न देश–विदेशका सर्वहारावर्गका महान् गुरुहरूको जीवनी, लेख, रचना तथा पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राकिसङ्घ चानपा – ७ बागेश्वरीका अध्यक्ष कुमारप्रसाद सुवालको सभापतित्वमा भएको कार्यक्रममा गणेश सुवाल र अर्जुन काफ्लेले पनि भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्नुभयो ।
Leave a Reply