भर्खरै :

सांस्कृतिक नगर भक्तपुरलाई सफा–स्वच्छ राख्दै संरक्षण गर्नुपर्ने

सांस्कृतिक नगर भक्तपुरलाई सफा–स्वच्छ राख्दै संरक्षण गर्नुपर्ने

भक्तपुर, ३१ असोज । सांस्कृतिक पर्वको लामो बिदाको अवसरमा प्रभात इङ्लिस सेकेन्डरी स्कूलका एसईई २०७६ समूहका विद्यार्थीहरूको आयोजनामा शनिबारदेखि ‘पेसाकप‘ फुटसल प्रतियोगिता सुरू भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले प्रतियोगिताको उद्घाटन गर्दै भन्नुभयो, “पुर्खाले निर्माण गरेको प्राचीन सांस्कृतिक नगर भक्तपुरलाई सफा–स्वच्छ राख्दै संरक्षण गर्नु नयाँ पुस्ताको जिम्मेवारी हो ।”
“नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ३० वर्षअघि नयाँ पुस्तालाई ‘एक घर, एक स्नातक’ बनाउने भक्तपुरको सपना अघि सार्नुभएको थियो । सोहीअनुसार ख्वप कलेजलगायत अन्य कलेजहरू स्थापना र सञ्चालन भएपछि ‘एक घर, एक स्नातक’ मात्र नभई अहिले ‘एक घर, एक स्नातकोत्तर’ तयार भइरहेको छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अध्यक्ष बिजुक्छेँले ‘सय वर्षपछिको भक्तपुर’ को परिकल्पनामा भक्तपुरका सडकमा विदेशीहरू नेवारी भाषामा कुराकानी गर्ने र भक्तपुरवासीले उन्नत आतिथ्य प्रदान गर्ने उल्लेख गर्नुभएको छ । तीस वर्षयता भक्तपुर एसएलसी र एसईईको नतिजामा पटक–पटक उत्कृष्ट स्थानमा पुगेको कुरा पनि सार्वजनिक भएकै हो । भक्तपुरका युवा तथा विद्यार्थी साहित्य, हाजिरीजवाफ र खेलकुदसमेतमा पटक–पटक अग्रस्थानमा रहँदै आएका छन् ।”
उहाँले भन्नुभयो, “किसान र श्रमजीवी जनताको श्रमदान तथा चन्दाबाट आर्थिक अनुशासन र पारदर्शिता अपनाउँदै भक्तपुरका सम्पदा संरक्षण र विकास निर्माणका काम भइरहेका छन् । हाम्रा अग्रजहरूको यस प्रकारको योगदानलाई नयाँ पुस्ताले अनुकरण गर्दै निरन्तरता दिनु जरूरी छ ।”
२०८२ भदौ २३ र २४ गतेका घटनाबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “देशको सम्पदा र सम्पत्ति जलाउनु तथा जिम्मेवारीमा रहेका व्यक्तिहरूले कुर्सी छोडेर राजीनामा दिई भाग्नु दुवै देशघाती र विश्वासघाती काम हुन् । नयाँ पुस्ता उपद्रव र विध्वंसमा लाग्नु हुँदैन† सिर्जना र निर्माणमा लाग्नु आवश्यक छ ।”
नेमकिपाले शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्ने विषयमा जोड दिँदै आएको उल्लेख गर्दै उहाँले यसतर्फ पनि नयाँ पुस्ता सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताका लागि हो ।
खेलकुदमा हार–जित क्षणिक हुन्छ भने मित्रता र अनुशासन सदाका लागि हुन्छन् । यसैलाई मनन गरेर प्रभातका पूर्वविद्यार्थी र शिक्षकहरू फुटसल प्रतियोगितामा सहभागी हुने अपेक्षा गर्दछु ।”
उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवा र प्रभात पूर्वविद्यार्थी सङ्घका संयोजक निरञ्जन दुवालले पनि मन्तव्य राख्नुभएको थियो ।
शनिबार शिक्षक र पूर्वविद्यार्थीबिच दुईवटा प्रदर्शनी खेल भएका थिए । आइतबार पूर्वविद्यार्थीहरूको खेल हुनेछ ।
त्यस्तै, विद्यालयको आयोजनामा शुभकामना तथा अध्ययन गोष्ठी कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले देशको नेतृत्व गर्ने मन्त्री तथा प्रधानमन्त्रीहरू दृढ अडानमा रहन नसक्दा देश भड्खालोमा परेको बताउनुभयो ।
सचिव सुवालले शिक्षक बीउजस्तै भएको उल्लेख गर्दै शिक्षकले आफूजस्तै असल नयाँ पुस्ता तयार पार्न निरन्तर प्रयास गर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रोशनमैयाँ सुवालले नियमित अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।
प्रधानाध्यापक स्वर्णिमा मूलले शुभकामना व्यक्त गर्दै विद्यार्थी तथा शिक्षकलाई रचनात्मक कार्यमा सहभागी हुन आग्रह गर्नुभयो ।
वैज्ञानिक सिकाइसम्बन्धी प्रशिक्षक सुरेश परियारले दुर्गा र महिषासुरसम्बन्धी कथाको सामाजिक तथा ऐतिहासिक व्याख्या प्रस्तुत गर्नुभयो ।
नमुना संसद् कार्यक्रम सम्पन्न
विद्यालयले असोज २८ र २९ गते कक्षा ९ र १० का विद्यार्थीलाई सामाजिक अध्ययन विषयको व्यावहारिक ज्ञान दिने उद्देश्यले ‘नमुना संसद्’ कार्यक्रम सञ्चालन ग¥यो ।
कार्यक्रममा सातवटा संसदीय समिति, मन्त्रिपरिषद् र प्रतिनिधिसभाका बैठक सञ्चालन गरिएका थिए । ११० जना विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा १०५ जनाले सांसदको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले संसद्को शून्य समय, विशेष समय र आकस्मिक समयबारे जानकारी दिँदै देशका जल्दाबल्दा विषयमा गहन छलफल गर्न सुझाव दिनुभयो ।
यस्ता कार्यक्रमले विद्यार्थीलाई राज्य सञ्चालन प्रक्रिया र राजनीतिबारे सचेत बनाउन मद्दत गर्ने उहाँले बताउनुभयो ।
प्रधानाध्यापक स्वर्णिमा मूलले नमुना संसद्बाट विद्यार्थीहरूले संसदीय अभ्यासको अनुभूति गरेको बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रखर वक्ता, स्पष्ट वक्ता, अनुशासित सांसद, उत्कृष्ट सचिव र उत्कृष्ट संसदीय कर्मचारी विधामा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *