प्रजग कोरियामा राष्ट्रिय रक्षा क्रान्ति सङ्ग्रहालयको उद्घाटन
- आश्विन २८, २०८३
भक्तपुर, २९ असोज । सेवा निवृत्त शिक्षक समाज, भक्तपुरको आयोजनामा अर्धवार्षिक प्रकाशन ‘शैक्षिक अनुभव’ को १९ औँ अङ्क विमोचन तथा विजया दशमी २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले समाज परिवर्तनका लागि सेवा निवृत्त शिक्षकहरूले नयाँ पुस्ता तयार गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न आफ्ना अनुभवका साथै संसारका अन्य देशहरूमा अपनाइएका शिक्षण विधिबारे आफ्ना लेखहरूमा उल्लेख गरेमा नयाँ पुस्ताले प्रेरणा पाउने बताउनुभयो ।
क्युवा र प्रजग कोरियाका विद्यालय तथा विश्वविद्यालयमा निःशुल्क शिक्षाको बन्दोबस्त रहेको जानकारी दिँदै उहाँले नेपालजस्तै सानो मुलुक प्रजग कोरियाले शिक्षाकै माध्यमबाट आणविक ऊर्जा उत्पादन गर्न सफल भएको बताउनुभयो ।
शिक्षकहरूले नागरिक भावना जागृत गराउन उदाहरणीय कार्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले भन्नुभयो, “एक सर्वेक्षणअनुसार सन् २०२५ पछि नेपाल गलत बाटोमा गएको भन्ने मत ६१ प्रतिशतले दिएका थिए भने भदौ २३–२४ को उपद्रवपछि ७० प्रतिशतले नेपाल गलत बाटोमा गएको मत दिनुले सरकारहरू जनताप्रति जिम्मेवार नभएको प्रमाणित हुन्छ ।”
देश जलाउनेहरूका सात पुस्तासम्म पिरलो पर्ने विश्लेषकहरूको मत रहेको उहाँले उल्लेख गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “२००७ सालमा सहिदहरूले ज्यानको बलिदान दिएर जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षबारे अध्ययन गरेकाहरू भदौ २३ र २४ गतेको विध्वंसमा राजीनामा दिएर भाग्दैमा दोषमुक्त हुन सक्दैनन् ।”
कार्यक्रमका सभापति एवम् समाजका अध्यक्ष अम्बिकामान मानन्धरले ‘शैक्षिक अनुभव’ सान्दर्भिक र पठनीय पुस्तक भएको बताउनुभयो ।
समाजका उपाध्यक्ष रामगोपाल कर्माचार्यले स्वागत मन्तव्य दिँदै भन्नुभयो, “सेवा निवृत्त शिक्षक समाजले निवृत्त शिक्षकहरूको अनुभव समेटिएको ‘शैक्षिक अनुभव’ पुस्तक समाजको स्थापनाकालदेखि निरन्तर प्रकाशन गर्दै आएको छ । निवृत्त शिक्षकका अनुभव, शैक्षिक लेख–रचना तथा समाजका गतिविधिहरू सोही पुस्तकमार्फत प्रकाशित गरिरहेका छौँ। साथै, निवृत्त शिक्षकहरूलाई राज्यले दिने पेन्सनलगायत अन्य सेवासुविधाका लागि सङ्गठित रूपमा आवाज उठाइरहेका छौँ र यसमा सफल पनि हुँदै आएका छौँ।”
‘शैक्षिक अनुभव’ का सम्पादक ज्ञानसागर प्रजापतिले विमोचित पुस्तकमा उल्लिखित विषयवस्तुबारे सङ्क्षिप्त जानकारी प्रस्तुत गर्नुभयो ।
समाजका संस्थापक अध्यक्ष नाति कवांले विगतमा सरकारले सेवा निवृत्त शिक्षकहरूको पेन्सन दुई–तीन महिनासम्म रोकेको थियो भने वर्तमान सरकारले भक्तपुरका शिक्षकहरूलाई कतै चाडपर्व खर्च त कतै असोज महिनाको तलबभत्ता समयमै निकासा नगरी शिक्षकमाथि अन्याय र भेदभाव गरेको बताउनुभयो ।
समाजका सदस्य सजीव था श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा समाजकै सदस्य धीर्जबहादुर कायष्ठले शुभकामना मन्तव्यसहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Leave a Reply