भर्खरै :

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

काठमाडौँ, १४ भदौ । त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्डमा कटान भई आवागमन अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाएको छ ।
सडक अवरुद्ध हुँदा ग्यास ढुवानीमा असुविधा हुन सक्ने भएकोले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक आपूर्ति व्यवस्था गरिएको निगमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसअनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य जिल्लामा रहेका ग्यास उद्योगहरूले आफूलाई पायक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना खाली बुलेट खुलाइ सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाउने छन् । कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यासका सिलिन्डर राखी वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिका लागि ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याई आपूर्ति सहज बनाउने व्यवस्था गरिएको निगमले जनाएको छ । निगमले बाढी तथा सडक अवरोधका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्थालाई निरन्तरता दिने जनाएको छ ।
यसैबिच पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारीसाधनको चाप बढेको छ ।
सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ तथा १४ सीटभन्दा ठुला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आवतजावत गर्न आग्रह गरेको छ ।
कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले १४ सीटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी–देउराली हुँदै आवतजावत गर्न आग्रह गरिएको बताउनुभयो ।
प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन नलैजान, जथाभावी ‘ओभरटेक’ नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *