भर्खरै :

हेयर कटिङ, सिलाइ तथा पाक शिक्षा तालिम सम्पन्न

हेयर कटिङ, सिलाइ तथा पाक शिक्षा तालिम सम्पन्न

भक्तपुर, २१ भदौ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित हेयर कटिङ, आधारभूत सिलाइ तथा पाक शिक्षा तालिम आइतबार सम्पन्न भयो । तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले तालिममा सहभागी ४४ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सीप सिक्नु भनेको आत्मनिर्भर बन्ने आधार भएको बताउनुभयो ।
एकपटक सिकेको सीप जीवनभर उपयोगी हुने उल्लेख गर्दै उहाँले सीप अरूबाट नक्कल गर्ने मात्र नभई त्यसबाट आफ्नै मौलिकता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नो क्षमता निखार्न लगनशील भएर अघि बढे सफलता हासिल गर्न सकिने बताउँदै नगर प्रमुख प्रजापतिले प्रशिक्षार्थीहरूलाई निराश नहुन र मेहनत गर्न कहिल्यै नछाड्न आग्रह गर्नुभयो ।
आफूले प्राप्त गरेको ज्ञानप्रति कहिल्यै घमण्ड गर्नुहुँदैन भन्दै उहाँले राम्रो कामको प्रचार बिस्तारै हुन्छ तर नराम्रो कामको प्रचार भने छिट्टै हुने हुँदा हरेक काम गर्दा जिम्मेवार र सचेत हुन आवश्यक छ भन्नुभयो ।
पछिल्लो समय नेपालबाट विदेश जाने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले देशभित्र आवश्यक अवसर र उचित वातावरणको अभावका कारण क्षमतावान् तथा दक्ष जनशक्ति बिदेसिन बाध्य भइरहेको बताउनुभयो ।
नगर उपप्रमुख रजनी जोशीले परम्परागत सीप हस्तान्तरण हुँदै आएकोले भक्तपुरको पहिचान जोगाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।
उहाँले परम्परागत सीपलाई आधुनिकतासँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै तालिमबाट सिकेको सीपलाई व्यावहारिक रूपमा प्रयोग गरी आम्दानीको स्रोत बनाउन आग्रह गर्नुभयो । आफूले सिकेको सीपमार्फत भक्तपुरको मौलिक पहिचानलाई उजागर गर्नुपर्ने उहाँको भनाइ थियो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले साक्षर व्यक्ति शिक्षित हुनुपर्ने र आफ्नो सीपमा दक्ष हुनु नै वास्तविक रूपमा सिकाइ उपलब्धि भएको बताउनुभयो । उहाँले सीप र व्यवहारिक ज्ञानको महत्वमा जोड दिनुभयो ।
सामूहिक भावनाले संस्था र समाजलाई अघि बढाउन तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउँदै वडाध्यक्ष ज्याख्वले प्रशिक्षार्थीहरू नगरपालिकाका परिवार भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवं कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले नगरपालिकाद्वारा सञ्चालित विभिन्न तालिमले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुगेको बताउँदै सामाजिक सञ्जालको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
हेयर कटिङ तालिमकी प्रशिक्षक सोमलता वैद्यले तीनमहिने तालिममार्फत सक्षम जनशक्ति तयार गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरूलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आफ्नो कर्ममा लगनशील भएर लाग्न आग्रह गर्नुभयो ।
आधारभूत सिलाइ तालिमकी प्रशिक्षक धर्मलक्ष्मी लघुले भक्तपुर नगरपालिकाले वि.सं. २०४५ सालदेखि सिलाइ तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । नगरवासी युवा तथा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमबाट धेरैले लाभ लिएको बताउँदै उहाँले महिलाहरू यसबाट बढी लाभान्वित भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
पाक शिक्षा तालिमका प्रशिक्षक सुनिल सुवालले अवसर र समय मिल्दा सबैले सीपमूलक तालिम लिन सके जीवन सहज बनाउन सकिने बताउनुभयो । प्रशिक्षकका रूपमा काम गर्ने अवसर प्राप्त हुँदा विभिन्न क्षमतावान व्यक्तिसँग भेटघाट र अनुभव आदानप्रदान गर्न पाएको तथा यसले आफ्नो व्यक्तित्व विकासमा सहयोग पुगेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पाक शिक्षा तालिमका प्रशिक्षार्थी विजय प्रजापति र आधारभूत सिलाइ तालिमकी प्रशिक्षार्थी निरञ्जना सुवालले तालिमका क्रममा प्राप्त अनुभवबारे बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *