भर्खरै :

विविध कार्यक्रमका साथ बाल दिवस सम्पन्न

विविध कार्यक्रमका साथ बाल दिवस सम्पन्न

भक्तपुर, २९ भदौ ।
बाल दिवसमा अभिभावकलाई सम्मान
बासु माविमा ६२ औँ बाल दिवस सोमबार मनाइयो । कार्यक्रममा विद्यार्थीहरूलाई सफासुग्घर गरी पठाउने अभिभावकलाई सम्मान र हाजिरीजवाफ प्रतियोगितामा सफल विद्यार्थीलाई पुरस्कार वितरण गरियो ।
कार्यक्रममा विद्यालयका प्रअ रविलाल प्रधानले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने दिनको रूपमा बाल दिवस मनाउने गरेको बताउनुभयो ।
सहायक प्रअ राजकुमार ह्यौंमिखाले विद्यार्थीहरूको सीप विकासका लागि आवश्यक कार्यक्रमहरू गर्नुपर्ने चर्चा गर्नुभयो ।
विद्यालयका शिक्षक प्रतिनिधि विष्णुप्रसाद दुमरुले अभिभावकहरूकै व्यवहारले विद्यार्थीहरूले सिक्ने र विद्यार्थीहरूको चाहनाअनुसार र सामूहिक हित हुने खालको गतिविधि गर्न दिनुपर्ने बताउनुभयो ।
विद्यालयका निमावि इन्चार्ज रामहरि ताम्राकार, विद्यार्थी हित समितिका अध्यक्ष अविनास शाह र शिक्षिका कल्पना सुजखुले पनि बोल्नुभएको थियो ।
राष्ट्रिय बाल दिवसमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम
यसैगरी, ६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्या आर्जन सेकेन्डरी स्कूलले पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम ग्वाछाले विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै लगनशील, अनुशासित र मेहनती विद्यार्थी मात्र जीवनमा सफल हुने बताउनुभयो । सफल र जिम्मेवार विद्यार्थी नै राष्ट्रका गहना भएकाले अध्ययनसँगै अनुशासन, मेहनत र सकारात्मक व्यवहारलाई आत्मसात् गर्न उहाँले विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
विद्यार्थीहरूले विभिन्न कक्षागत नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यालयमा आयोजित फुटसल, चेस, टेबलटेनिस, बाघचाल तथा अङ्ग्रेजी र नेपाली सुन्दर लेखन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले बाल दिवसको शुभकामना व्यक्त गर्दै बालबालिकाको अधिकार, शिक्षा, अनुशासन र व्यक्तित्व विकासमा विद्यालय तथा अभिभावकको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।
बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनात्मक क्षमता विकास तथा उनीहरूलाई थप उत्साहित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीकै आतिथ्यमा बाल दिवस मनाइयो
यसैगरी, ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ ६२ औँ बाल दिवस कार्यक्रम बाइट स्टार ई. स्कूलमा मनाइयो ।
यस वर्षको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूलाई नै प्रमुख अतिथि तथा सभापति बनाएर कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा सभापतिका रूपमा कक्षा–१० की छात्रा स्नेहा अवालले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम सञ्चालन गर्न दिएकोमा विद्यालयका प्रधानाध्यापकलाई धन्यवाद दिनुभयो ।
संयोजकका रूपमा कक्षा–१० की छात्रा सजिना मोक्तानले कार्यक्रम भनेको आफ्नो प्रतिभा र कला देखाउने थलो रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गीत, कविता वाचन, नाटक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
सभापति अवालले विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका र गैर–शिक्षण कर्मचारीहरूबाट बाढीपीडितका लागि ७८,५५६ रकम सङ्कलन भएको पनि जानकारी दिनुभयो ।
विद्यालयका संस्थापक पुष्पलाल सुजखूले पुरस्कृत हुन सफल, विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा प्रस्तुत एकल नृत्यमा जुनियरबाट तृतीय हुन सफल स्मृति तामाङ, दोस्रो सुप्रिया लामा र प्रथम नुरवी शिल्पकार र सिनियरतर्फ तृतीय रोनिशा गोले, द्वितीय निङ्मा लामा र प्रथम सरिस्मा सिलवाल भएका थिए ।
त्यसैगरी, गायनमा तृतीय सौरभ श्रेष्ठ, द्वितीय प्रियस चौगुठी र प्रथम सोनाम लामा भएका थिए । बाद्यवादनमा रुमन नागाजु, कविता वाचनमा रुसान्त प्रजापति, नाटकमा तिसा अवाल सफल भएका थिए । व्यङ्ग्यात्मक चित्रकलामा जुनियरतर्फ तृतीय उत्सव सुवाल, द्वितीय गेलवाङ लामा र प्रथम लियन हाकुदुवाल र सिनियरतर्फ तृतीय जोया त्वायना, द्वितीय रूसील किलम्बु र प्रथम सेन हाकुदुवाल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *