‘द ग्रेजोन’ र कार्की आयोगको प्रतिवेदनका सङ्क्षिप्त विषय
- भाद्र २९, २०८३
भक्तपुर, २९ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलबिच भेटघाट भयो ।
भक्तपुर नपा कक्षमा भएको भेटघाटमा दुई पालिकाबिचको आपसी सहकार्यबारे छलफल भयो । उक्त भेटमा भक्तपुरमा रात्रिकालीन साझा यातायात बस सेवा सञ्चालन गर्ने विषयमा भक्तपुर नगरपालिका र काठमाडौँ महानगरपालिकाबिच छलफल भयो ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरमा विगतमा ट्रली बस सञ्चालन हुँदाको अनुभव स्मरण गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नियोजित रूपमा ट्रली बसलाई समाप्त पारिएको बताउँदै सार्वजनिक यातायातको विस्तारलाई नाफा–घाटाको दृष्टिले मात्र हेर्न नहुने धारणा राख्नुभयो ।
उहाँले साझा यातायातको रात्रिकालीन सेवा सञ्चालन घाटा वा नाफाभन्दा पनि जनसेवासँग जोडिएको विषय भएको बताउनुभयो । विद्युतीय बस सञ्चालनले प्रदूषण, ट्राफिक जाम र सडकको चाप घटाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
सरकारले विद्युतीय गाडीमा कर घटाएको भए नेपालको विद्युत् खपत बढ्ने र पेट्रोलियम पदार्थको लागि ठुलो मात्रामा पैसा बाहिर नजाने भन्दै उहाँले कर बढाएर सरकार उल्टो बाटोमा हिँडेको छ भन्नुभयो ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरलाई सुरक्षित बनाउन सार्वजनिक यातायातलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । साझा यातायात रात्रिकालीन बस सेवा सञ्चालनका लागि स्थानीय तहहरूबिच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
निजी यातायातको खर्च महँगो हुँदै गएको अवस्थामा रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन भएमा सर्वसाधारणलाई सहज हुने कार्यवाहक प्रमुख डंगोलले बताउनुभयो ।
सेवा निःशुल्क सञ्चालन गर्ने विषयमा भने स्थानीय तहबिच संयुक्त स्वामित्व आवश्यक रहेको उहाँको धारणा थियो ।
साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुशील प्याकुरेलले रात्रिकालीन साझा यातायात सेवा सञ्चालन गर्दा रात्रि व्यवसाय सञ्चालन गर्ने व्यवसायी, बिरामी तथा आन्तरिक पर्यटकलाई सहज हुने बताउनुभयो । उहाँका अनुसार रात्रिकालीन सेवा राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्ने योजना छ ।
रात्रीकालीन सेवामा विद्युतीय बस सञ्चालन गर्ने तयारी रहेको जानकारी दिँदै अध्यक्ष प्याकुरेलले दिवाकालीन सेवासमेत विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
साझा यातायातका कार्यकारी निर्देशक भुपेन्द्र अर्यालले साझा यातायातको सञ्चालन तथा सेवा विस्तारको विषयमा जानकारी गराउनुभयो ।
उहाँले नेपाल सरकारले साझा यातायातमा ३ अर्ब रूपैयाँ शेयर लगानी गरेको तथा काठमाडौँ महानगरपालिकाले १५ करोड रूपैयाँ बराबरको शेयर लगानी गरेको जानकारी दिँदै साझा यातायातको नियमित तथा रात्रिकालीन सञ्चालनले आर्थिक गतिविधि बढाउनुका साथै निजी तथा सरकारी क्षेत्रमा रात्रिकालीन ड्युटीमा खटिने कामदार तथा कर्मचारीहरूलाई समेत सहज हुने बताउनुभयो ।
साझा यातायातको सेवा आगामी दिनमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बूढानीलकण्ठ नगरपालिकालगायतका क्षेत्रमा विस्तार गर्ने योजना रहेको कार्यकारी अधिकृत अर्यालले जानकारी दिनुभयो ।
हाल १११ वटा बस साझा यातायातसँग रहेको पनि छलफलमा जानकारी गराइयो ।
उक्त छलफल कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडाध्यक्ष श्यामकृष्ण खत्री, हरिराम सुवाल, काठमाडौँ महानगरपालिकाका सचिवालय प्रमुख वसन्त आचार्य, प्रप्रअ मुक्तिराम अर्याल, मेट्रो न्युजका सम्पादक चन्द्रमणी भट्टराई, साझा यातायातका शङ्कर बस्याललगायतको उपस्थिति रहेको थियो ।
Leave a Reply