भर्खरै :

धर्तीको अन्तिम पुकार

धर्तीको अन्तिम पुकार

तातो हुँदै छ धर्तीको छाती,
जल्दै छ हिमालको शिर,
घाम पनि आज आगो बोकी
झर्दै छ मान्छेको घर–घर ।

बाढीले बस्ती बगाउँछ,
कहीँ पहिरोले बाटो छेक्छ,
कहीँ खडेरीले खेत चर्काउँछ,
कहीँ आँधीले सपना भत्काउँछ ।

हिउँका सेता मुकुटहरू
बिस्तारै आँसु झार्दै छन्,
नदीका नीला आँखाहरू
आफ्नै किनार खोज्दै छन् ।

वन काटेर सहर बनायो
धुवाँले आकाश ढाक्यो
सुविधाको अन्धो दौडमा
प्रकृतिको मुटु नै च्यात्यो ।

आज हावा पनि थाकेको छ,
सासभित्र विष मिसिएको छ,
अक्सिजन दिने रूख घट्दा
जीवनको मूल्य बुझिएको छ ।

ए मानव ! अझै समय छ,
धरतीलाई घाउ नदेऊ,
एउटा रूख रोपेर मात्रै होइन
वनलाई जोगाउने प्रण गरौँ ।

धुवाँ घटाऔँ, ऊर्जा बचाऔँ,
पानी–माटोको मान गरौँ,
प्रकृतिसँग युद्ध होइन,
प्रकृतिसँगै जीवन धरौँ ।

नत्र भोलि सन्तानले सोध्नेछन्
कस्तो थियो त्यो हरियो संसार ?
हामीसँग फोटो त हुनेछ,
तर बाँकी रहनेछैन त्यो बहार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *