भर्खरै :

संविधान बहुसङ्ख्यक जनताको हक हितमा हुनुपर्ने

संविधान बहुसङ्ख्यक जनताको हक हितमा हुनुपर्ने

भक्तपुर, ५ असोज । वागीश्वरी माध्यमिक विद्यालय कानुन समूह कक्षा ११/१२ को आयोजनामा संविधान दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जो जुन वर्गको प्रतिनिधित्व गरी आउँछन् तिनैको सेवा र हितमा लाग्ने भएकाले संविधानसभाको सदस्य भई काम गर्दा बहुसङ्ख्यक जनताको हक र हितमा संविधानमा उल्लेख गराउन सङ्घर्ष गर्नुपरेको स्मरण गर्नुभयो ।
आफ्नो ज्ञान देश र समाजको लागि सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले देशकै प्रतिष्ठित व्यक्ति बन्न कानुनका विद्यार्थीहरूले ऐन, कानुन र नजिरहरू निरन्तर अध्ययन गर्नुपर्ने औंल्याउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “जनताको हितमा काम गर्ने सरकारले संविधानमा व्यक्तित्व विकासमा समान अवसर, रोजगारीको सुनिश्चितता, जनसङ्ख्याको अनुपातमा किसान र मजदुरको समानुपातिक प्रतिनिधित्व, उत्पादनका साधनहरू सबै राज्यकै हुनुपर्ने आदि अटाउनुपर्ने थियो ।”
जनताको आवश्यकता र चाहनाअनुसार परिवर्तन गर्न नसक्ने संविधान खारेज हुने धारणा राख्दै उहाँले दिगो संविधान र आदर्श समाज निर्माणको लागि राम्रो राजनीतिक पार्टी हुनु जरुरी छ भन्नुभयो ।
बारम्बार माफी माग्नुपर्ने गरी गल्ती गर्न नहुने र ठुलो पदमा बस्नेले काम गर्दा विज्ञहरूसँग राय सुझाव लिएर मात्र बोल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गहन र नियमित अध्ययनले मान्छेलाई पूर्ण बनाउने धारणा राख्दै उहाँले बहुसङ्ख्यक जनताको पक्षमा आपूmलाई क्रियाशील बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले सरकारले विदेशी एजेन्ट र सीमित मान्छेको पक्षमा संविधानलाई संशोधन गर्न खोजेको औँल्याउनुभयो ।
उहाँले व्यापक जनताको हितमा काम गर्न चिन्तन जरुरी छ भन्नुभयो ।
संविधानमा मौलिक हकभित्र किसान र मजदुरको हकलाई सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वागीश्वरी मावि र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले पञ्चायती व्यवस्थाको संविधान र अहिलेको संविधानबिच भएको परिवर्तनबारे चर्चा गर्दै संविधानमा व्यापक जनताको पक्षमा अझै पूर्णता नपाएको औँल्याउनुभयो ।
सरकारले ल्याएको शिक्षा नियमावलीको १० औँ संशोधनले पनि संविधानबाट प्रत्याभूत अधिकार दिन नसकेको स्पष्ट पार्दै उहाँले उच्च शिक्षासमेत निःशुल्क र कक्षा १२ सम्म निःशुल्क र अनिवार्य हुनुपर्ने औँल्याउँदै सरकारले स्वतन्त्रताको नाउँमा छाडापन ल्याउने नीति ल्याएको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा भएको बताउँदै आजका युवा २१ औँ
शताब्दीका सचेत नागरिक हुनुपर्ने बताउनुभयो । उहाँले वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका शिक्षक, कर्मचारी र विद्यार्थीहरूबाट रसुवाको बाढी प्रभावितका लागि करिब १२ लाख सहयोग गरेको जानकारी दिनुभयो ।
कानुन विषयका शिक्षक राजन लाखा, कक्षा १२ का कानुन समूहका विद्यार्थीहरू सजिना वि.क., उमेश रोकाय, निशा पाण्डे, कक्षा ११ का बन्दना शाहीलगायतले नेपालको संविधान २०७२ को कार्यान्वयनको पक्षबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *